images
images
  • शेख हसिनाको सुपुर्दगी: बंगलादेशको कानुनी प्रक्रिया पूरा, भारतको सर्तले अन्योल

    काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउने विषयमा भारतले सर्तसहितको प्रस्ताव अघि सारेका बेला बंगलादेशले कानुनी प्रक्रिया पूरा गरेको छ ।

    मुलुकमा भएको विद्रोहपछि देश छोडेर भारतमा शरण लिन पुगेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन आवश्यक सबै कानुनी प्रक्रिया पूरा भएको बंगलादेशले जनाएको हो ।

    अब उनको सुपुर्दगीबारे भारतको निर्णय पर्खिरहेको बंगलादेशका कानुनमन्त्री मोहम्मद असदुज्जमानले बताएको ढाका ट्रिब्युनले जनाएको छ । मन्त्रीले बंगलादेशले आफ्नो तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया पूरा गरिसकेको र अब भारतको निर्णयमा निर्भर रहने बताएका हुन् ।

    तर त्यसका लागि भारतले तारिक रहमान नेतृत्वको बंगलादेश सरकारसमक्ष दुईवटा सर्त अघि सारेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ ।

    यस्ता छन् भारतको सर्त

    बीबीसी बंगला सेवाको रिपोर्टअनुसार भारतले हसिनालाई नयाँ दिल्लीबाट ढाका लैजान बंगलादेशले सैनिक विमान पठाउनुपर्ने प्रस्ताव गरेको छ ।

    भारतको दोस्रो सर्त भने हसिनालाई आफूविरुद्ध सुनाइएको मृत्युदण्डको फैसलाविरुद्ध अपिल गर्ने अवसर दिनुपर्ने र जुलाई २०२४ मा भएको हिंसात्मक घटनासँग सम्बन्धित हत्याका आरोपमा निष्पक्ष सुनुवाइ सुनिश्चित गर्नुपर्ने रहेको छ ।

    मृत्युदण्डको सजाय, छैन अर्को कानुनी विकल्प

    सन् २०२४ जुलाईको विद्रोहका क्रममा प्रदर्शनकारीमाथि भएको दमनसँग सम्बन्धित मुद्दामा बंगलादेशको अदालतले हसिनालाई मृत्युदण्डको सजाय सुनाइसकेको छ । १६ वर्ष सत्तामा रहेकी हसिना विद्यार्थी आन्दोलन चर्किएपछि २०२४ अगस्टमा देश छाडेर भारत पुगेकी थिइन् ।

    अब उनले स्वदेश फर्किएर कानुनी सजाय भोग्नुपर्नेछ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणका मुख्य अभियोजक मुहम्मद अमिनुल इस्लामले पनि हसिना स्वदेश फर्किए सजाय भोग्नुबाहेक अर्को कानुनी विकल्प नरहेको बताएका छन् । हसिनाले आगामी डिसेम्बरमा स्वदेश फर्कने इच्छा व्यक्त गरेपछि बंगलादेशमा तनाव बढेको छ ।

    ढाकाले हसिनालाई सुपुर्दगी गर्न भारतसँग पटक-पटक आग्रह गर्दै आएको छ भने भारतले बंगलादेश फर्कनेरनफर्कने निर्णय हसिना स्वयम्ले गर्नेमा जोड दिँदै आएको छ ।

    -एजेन्सीहरु

    प्रतिक्रिया दिनुहोस्
    images
    images