काठमाडौं- युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले पहिलोपटक युक्रेनलाई नेटोको सदस्यता दिलाउने बदलामा आफ्नो भूभाग रुसलाई सुम्पिन सुझाव दिएको बताएका छन् । उनले यसै साता भएको वार्ताका क्रममा रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रस्ताव अस्वीकार गरेको पनि जानकारी दिए ।
जेलेन्स्कीका अनुसार रुसले यस जाडोयाममा युक्रेनविरुद्धको सैन्य अभियानमा आफ्नो सम्पूर्ण शक्ति लगाइरहेको छ । उनले युरोपको सुरक्षा संरचना पुनः परिभाषित गर्ने क्रेमलिनको मागलाई ‘खतरनाक’ संज्ञा दिँदै यसले भविष्यमा थप युद्ध निम्त्याउन सक्ने चेतावनी दिए ।
डेनमार्क र आयरल्यान्डको भ्रमणपछि शुक्रबार सञ्चारमाध्यमसँग कुरा गर्दै जेलेन्स्कीले युरोपेली नेताहरूसँगको भेटवार्ताबारे जानकारी दिएका थिए । त्यसअघि अबुधाबीमा अमेरिका मध्यस्थकर्ता रहेको युक्रेन र रुसबीच दुई दिनसम्म वार्ता भएको थियो ।
दोस्रो विश्वयुद्धपछि युरोपमा भएको सबैभन्दा ठूलो युद्ध अन्त्य गर्ने उद्देश्यले आयोजित उक्त वार्ता कुनै ठोस सहमतिविना टुङ्गिएको थियो । यद्यपि आगामी वार्तामा युरोपेली अधिकारीहरूलाई पनि सहभागी गराउन सबै पक्ष सहमत भएका थिए ।
शनिबारसम्म सार्वजनिक नगर्ने सर्तमा राखिएको आफ्नो भनाइमा जेलेन्स्कीले भने, ‘अमेरिकीहरूले एउटा प्रश्न उठाए- यदि युक्रेन नेटोमा सामेल भयो भने के हुन्छ ? के त्यसको बदलामा युक्रेन डोनबासबाट पछि हट्छ ? यस्तो प्रस्ताव पहिलोपटक आएको हो ।’
उनका अनुसार युक्रेनले नेटो र युरोपेली सङ्घ (ईयू) बाट ठोस सुरक्षा प्रत्याभूति प्राप्त गर्ने विषयमा पनि छलफल गरिरहेको छ ।
‘यदि पश्चिमी राष्ट्रहरूले यसको प्रत्याभूति गरे भने म युक्रेनी जनतासँग उनीहरूको धारणा सोध्नेछु- के हामी यसलाई स्वीकार गर्ने कि नगर्ने ? यस्तो निर्णय एक्लै लिने अधिकार मलाई छैन’, उनले भने ।
अबुधाबीमा भएको वार्तामा अमेरिकी प्रतिनिधि जारेड कुशनर र स्टिभ विटकफ सहभागी थिए । उनीहरूले पछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
जेलेन्स्कीका अनुसार उक्त वार्तामा रुसले ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रस्ताव अस्वीकार गरेको थियो ।
‘ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने युद्धविरामको प्रस्तावमा रुसीहरू इच्छुक छैनन्’, उनले भने ।
त्यसैगरी कोस्त्यान्तिनिभ्का सहरमा ‘मानवीय मिसन’ पठाउने पुटिनको प्रस्ताव पनि रणनीतिक चाल मात्र भएको जेलेन्स्कीको आरोप छ । उनका अनुसार यसको उद्देश्य युक्रेनी सेनालाई उक्त द्वन्द्वग्रस्त सहरबाट पछि हट्न बाध्य पार्नु र डोनेट्स्क क्षेत्रका अन्य बस्तीमा रुसको पहुँच सहज बनाउनु हो ।
रुसले यस वर्ष उक्त सहर आफ्नो नियन्त्रणमा आएको दाबी गरेको थियो । तर युक्रेनले त्यहाँ अझै पनि युद्ध जारी रहेको बताउँदै आएको छ ।
‘पुटिन केवल हामीले कोस्त्यान्तिनिभ्का छाडेको चाहन्छन्, ताकि उनीहरू त्यहाँ प्रवेश गरेर पूरै सहर कब्जा गर्न सकून्’, जेलेन्स्कीले भने ।
सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेयता रुसी सेना पश्चिमतर्फ अघि बढिरहेको छ । तर रुसले डोनेट्स्क क्षेत्रलाई पूर्ण रूपमा आफ्नो नियन्त्रणमा लिन सकेको छैन ।
जेलेन्स्कीले युरोपेली सङ्घ र नेटोलाई युरोपको ‘एकमात्र वास्तविक सुरक्षा प्रत्याभूति’ भन्दै युरोपको सुरक्षा व्यवस्था पुनः परिभाषित गर्ने मस्कोको प्रयासको आलोचना गरेका छन् ।
उनले यस्तो प्रयासलाई खतरनाक बताउँदै यस्ता कदमले नयाँ युद्ध निम्त्याउन वा विद्यमान द्वन्द्वलाई थप चर्काउन सक्ने चेतावनी दिए ।
-एजेन्सी






















