भैरहवा– देउसी–भैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा रुपन्देही प्रहरीले थप तीन युवतीलाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बिहीबार (कात्तिक २६ गते) वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले सिद्धार्थनगर नगरपालिका–७, कञ्चनबजारबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
नेपाली मौलिक कला, संस्कृति र सामाजिक नैतिकताविपरीत नृत्य गरेको भन्दै उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
प्रहरीले नियन्त्रणमा लिइएकाहरूमा स्याङ्जाको कपुरकोट गाउँपालिका–८ की २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ की २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ की २४ वर्षीया विपना मगर रहेको जनाएको छ ।
रुपन्देहीका विभिन्न स्थानमा आयोजित देउसी–भैलो कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी अश्लील नृत्य प्रदर्शन गरेको आरोप उनीहरूमाथि छ ।
उनीहरूलाई सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार यस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी अनुसन्धान जारी छ ।





















