काठमाडौं- इरानले अर्जेन्टिनाको नौसेना र वायुसेनालाई ‘आतंकवादी संगठन’ घोषणा गरेको छ ।
यसअघि अर्जेन्टिनाले यसै वर्ष जुनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) लाई आतंकवादी संगठन घोषणा गरेको थियो । त्यसैको जवाफस्वरूप इरानले अर्जेन्टिनाका सैन्य निकायलाई आतंकवादी संगठन घोषणा गर्ने निर्णय गरेको हो ।
इरानको विदेश मन्त्रालयले नोभेम्बर १० मा यसबारे घोषणा गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सन् २०१९ मा पारित ‘पारस्परिक कारबाही’ सम्बन्धी कानुनअनुसार उक्त कदम चालिएको उल्लेख छ ।
विज्ञप्तिमा पारस्परिकताको सिद्धान्तका आधारमा निर्णय गरिएको जनाउँदै इरानी विदेश मन्त्रालयले भनेको छ, “यस निर्णयबाट उत्पन्न हुने सबै परिणामको जिम्मेवारी अर्जेन्टिना सरकारकै हुनेछ ।”
अर्जेन्टिनाले सन् १९९४ मा राजधानी ब्युनस आयर्सस्थित एएमआईए यहुदी सामुदायिक केन्द्रमा भएको बम विस्फोटका लागि लामो समयदेखि इरान र लेबनानको हिजबुल्लाहलाई जिम्मेवार ठहराउँदै आएको छ । उक्त आक्रमणमा ८५ जनाको मृत्यु भएको थियो भने सयौं घाइते भएका थिए ।
तर इरानले भने उक्त आक्रमणमा आफ्नो कुनै पनि संलग्नता नरहेको दाबी गर्दै आएको छ ।





















