काठमाडौं- संसारमा खेलकुदमा सक्रिय धेरै जनाको हकमा नागरिकता परिवर्तन, फरक दुई देशको पासपोर्टको प्रयोग तथा देश परिवर्तन सामान्य हो ।
सबैभन्दा धेरै क्रिकेटमा यसरी देश परिवर्तन गर्नेको जमात नै देखिएको छ । भारतीय मूलका धेरै जना क्रिकेट खेलाडी अहिले अन्य देशबाट खेलिरहेका छन् । यस सूचीमा अमेरिकाका सौरभ नेत्रभलकर अग्रपङ्क्तिमा आउँछन् । यसैगरी केभिन पिटरसन देश परिवर्तन गर्ने अर्का प्रमुख खेलाडी हुन् ।
कुनै समय दक्षिण अफ्रिकाबाट खेल जीवनको सुरुवात गरेका उनले आफ्नो जीवनमा मुख्य अंश इङ्ल्यान्डको राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गरे । यसैगरी एउटा देशबाट प्रतिनिधित्व गरेर विस्तारै अर्को देशमा पुग्ने स्टार खेलाडीमा क्रिकेटर जियोफ अलट पनि हुन् । कुनै समय दक्षिण अफ्रिकामा रहेका यी नै अलटपछि न्युजिल्यान्डको प्रतिनिधित्व गर्न पुगेका थिए ।
खेलकुदमा यस्ता अनेकौं उदाहरण छन् । यसो त टेनिस स्टार मोनिका सेलेस, चेसमा वेस्ली सोलगायत धेरै खेलाडी यस सूचीमा छन् ।
पछिल्लो समय पौडीमा यस किसिमको प्रतिनिधित्व गर्दै देश परिवर्तन हुने क्रम बढेको छ । अमेरिका र क्यानडा दुवै देशको प्रतिनिधित्व गरेका इलाया खारुन अहिले अमेरिकाको प्रतिनिधित्व गर्ने भएका छन् । युवा कालमा अमेरिकाको प्रतिनिधित्व गरेका उनले पाको उमेर भएपछि क्यानडाको प्रतिनिधित्व गर्न थालेका हुन् ।
उनले सन् २०२५ मा सिङ्गापुरमा भएको विश्व च्याम्पियनसिपमा क्यानडाको प्रतिनिधित्व गरे । उनले डिसेम्बर महिनाको सुरुमा चीनमा आयोजना हुने विश्व सर्ट कोर्स पौडी प्रतियोगितामा अमेरिकाको प्रतिनिधित्व गर्ने भएका छन् ।
यसैगरी फरक देशबाट प्रतिनिधित्व गर्ने खेलाडीको सूचीमा दुई पटककी ओलम्पिक च्याम्पियन टाटजना स्मिथ रहेकी छन् ।
यसअघि दक्षिण अफ्रिकाको प्रतिनिधित्व गर्दै आएकी उनले नेदरल्यान्ड्समा सर्ने घोषणा गरेकी छन् । उनले सन् २०२८ को लस एन्जलस ओलम्पिकमा नेदरल्यान्ड्सको तर्फबाट सहभागिता जनाउने गरी तयारी सुरु गरिसकेको बताएकी छन् । २९ वर्षीया स्मिथसँग दक्षिण अफ्रिका र नेदरल्यान्ड्स दुवै देशको पासपोर्ट छ । यसकारण उनको चाहनालाई वर्ल्ड अक्वाटिक्सले स्वीकार गरिसकेको छ ।
उनले यो निर्णय गरे पनि अहिलेसम्म दक्षिण अफ्रिकाले दिएको माया, सद्भाव र अवसरलाई कहिल्यै पनि भुल्न नसक्ने बताएकी छन् ।
उनले लामो समयदेखि दक्षिण अफ्रिकाको पौडी महासङ्घ विविध विषयमा असहमति राखेकी थिइन् । सन् २०१८ को कमनवेल्थ खेलकुदमा १०० र २०० मिटर ब्रेस्टस्ट्रोकमा उनले स्वर्ण पदक जितेकी थिइन् । यसपछि सन् २०१९ को विश्व च्याम्पियनसिप र सन् २०२१ को अेलम्पिकमा पनि सोही स्पर्धामा स्वर्ण पदक जितेकी हुन् ।
उनले टोकियो ओलम्पिकमा १०० मिटरमा रजत पदक जितेकी थिइन् । सन् २०२४ को पेरिस ओलम्पिकमा भने उनले १०० मिटरमा स्वर्ण र २०० मिटरमा रजत पदक जितेकी हुन् ।
पेरिस ओलम्पिकपछि सन्न्यासको घोषणा गरेकी उनले यसै महिनाको सेप्टेम्बर महिनामा सन्न्यास फिर्ताको निर्णय गरेकी हुन् ।
-एजेन्सी




















