images
images
  • एनपीएलमा आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दै

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । लिग चरणबाट शीर्ष चार टोली प्लेअफमा प्रवेश गर्ने प्रावधान रहेकाले यो खेल दुवै टोलीका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ ।

    जारी सिजनमा सुदूरपश्चिम रोयल्स ५ खेलबाट ३ जित र २ हार व्यहोर्दै ६ अंकका साथ अंकतालिकाको तेस्रो स्थानमा रहेको छ भने जनकपुर बोल्ट्स ५ खेलबाट २ जित र ३ हारसहित ४ अंकका साथ पाँचौँ स्थानमा सीमित छ ।

    आजको खेलमा सुदूरपश्चिम विजयी भए ८ अंक जोड्दै प्लेअफ यात्रालाई थप सहज बनाउनेछ भने पराजित जनकपुरका लागि प्लेअफको सम्भावना जीवितै राख्न जित अनिवार्य बनेको छ ।

    टोलीको हालैको प्रदर्शनलाई हेर्दा सुदूरपश्चिम उच्च मनोबलका साथ मैदानमा उत्रिँदैछ । सुदूरपश्चिमले आफ्ना पछिल्ला दुई खेलमा चितवन राइनोजलाई ५ विकेट र कर्णाली याक्सलाई ३९ रनले पराजित गर्दै जितको लय समातेको थियो ।

    सुदूरपश्चिमका लागि इशान पाण्डे ५ खेलमा ९२ रन बनाएर टोलीका शीर्ष रनकर्ताका रूपमा रहेका छन् भने अनिल खरेलले ७ विकेट लिइसकेका छन् । टोलीमा बिनोद भण्डारी, ब्रान्डन म्याकमुलेन र दीपेन्द्रसिंह ऐरी जस्ता प्रमुख खेलाडीको उपस्थिति छ ।

    अर्कोतर्फ जनकपुर भने पछिल्ला दुई खेलमा विराटनगर किङ्ससँग २ रन र लुम्बिनी लायन्ससँग १६ रनको झिनो अन्तरले पराजित भई हारको शृङ्खला रोक्ने दबाबमा रहेको छ । जनकपुरका लागि सैफ हसन ५ खेलबाट १४० रन बनाउँदै मुख्य ब्याटरका रूपमा देखिएका छन् भने राहुल यादवले ८ विकेट लिएका छन् । टोलीमा हरमित सिंह, जेम्स निशम र अनिल साहको समेत महत्त्वपूर्ण योगदान रहँदै आएको छ ।

    एनपीएलको इतिहासमा भने सुदूरपश्चिम रोयल्स जनकपुर बोल्ट्समाथि हावी देखिन्छ । यी दुई टोलीबीच हालसम्म भएका ४ भेटमध्ये सुदूरपश्चिमले ३ खेल जितेको छ भने जनकपुरले १ खेलमा मात्र जित हात पारेको छ ।

    सन् २०२४ को पहिलो संस्करणको पहिलो भेटमा सुदूरपश्चिम ७२ रनले र पहिलो क्वालिफायरमा ८ विकेटले विजयी भएको थियो । यद्यपि, पहिलो सिजनको फाइनल खेलमा भने जनकपुरले सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ५ विकेटको जित हासिल गरी उपाधि चुमेको थियो ।

    दुई टोलीबीच भएको पछिल्लो भेट २९ नोभेम्बर २०२५ मा सुदूरपश्चिमले जनकपुरलाई ६ विकेटले पराजित गरेको थियो । इतिहास र पछिल्लो लयका आधारमा आजको खेलमा सुदूरपश्चिम आफ्नो दबदबा कायम राख्न चाहन्छ भने जनकपुर पुरानो हारको बदला लिँदै पुनरागमन गर्ने होडमा छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images