images
images
  • चितवन राइनोजविरुद्ध काठमाडौं गोर्खाजको जित, काठमाडौं अब शिर्ष स्थानमा

    काठमाडौं । काठमाडौं गोर्खाजले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार चौथो जित निकालेको छ । चौथो जित दर्ता गर्नेक्रममा उसले आज चितवन राइनोजलाई १० रनले हराएको हो ।

    चितवनको यो तेस्रो पराजय हो । आजको खेलमा काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । खेलमा रवि बोपाराले अर्धशतकीय पारी खेले ।

    उनले ३५ बलमा दुई चौका र तीन छक्कासहित ५५ रनको पारी खेलेका हुन् । यस्तै, डान मोस्लीले २९, कामिल मिसाराले २८, अर्जुन साउदले २३ र कुशल मल्लले १३ रन बनाए । काठमाण्डुका लागि बलिङतर्फ सहान अराचिगेले दुई, कप्तान करण केसी, सन्तोष यादव, कामिल मिसारा, जहानदाद खान र गणेश गौतमले एक–एक विकेट लिए ।

    त्यसअघि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८० रन बनायो ।

    उसका लागि रशिद खानले अर्धशतकीय पारी खेले । उनले ३० बलमा चार छक्का र दुईचौकासहित ५२ रनको पारी खेलेका हुन् । जारी एनपिएलमा रशिदको यो दोस्रो अर्धशतक हो ।

    यस्तै, चितवनविरुद्ध सहान अराच्चिगेले ३३, विलियम बोसिस्टोले २७ र कप्तान करण केसीले २० रन जोडे । चितवनका लागि बलिङतर्फ रिजन ढकालले तीन, कप्तान सिकन्दर रजा र कमल सिंह ऐरीले दुई–दुई र डान मोस्लीले एक विकेट लिए ।

    जितपछि काठमाडौं अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । उसले पाँच खेलबाट आठ अङ्क जोडेको छ ।

    चितवनसँग पाँच खेलबाट पाँच अङ्क मात्र छ । आजै भएको पहिलो खेलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले ६३ रनको जित निकालेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images