images
images
  • गगन थापालाई पक्राउ गर्ने योजनाबाट यसकारण पछाडि हटे प्रधानमन्त्री बालेन

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेपाली कांग्रेस सभापति गगन थापालाई पक्राउ गर्ने योजनाबाट तत्काललाई भने पछाडि हटेका छन् । गगनलाई पक्राउ गर्ने योजना बाहिरिएपछि त्यसको सबै पक्षबाट व्यापक विरोध भएको थियो ।

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समेत कांग्रेस सभापति थापालाई सरकारले पक्राउ गर्न नसक्ने प्रतिक्रिया दिएका छन् ।

    ‘जहाँसम्म गगनजीको कुरा गर्नुभयो, गगनजीलाई कसैले पक्राउ गर्न सक्दैन’, नेकपा संयोजक प्रचण्डले कांग्रेस सभापति थापालाई सरकारले पक्राउ गर्न खोजेको हो भन्ने पत्रकारहरूको जिज्ञासामा जवाफ दिँदै भनेका थिए ।

    थापालाई प्रधानमन्त्री बालेन र उनका सल्लाहकारहरू पक्राउ गर्न चाहन्थे । गगनको निगरानी गर्न सादा पोसाकका प्रहरी परिचालन गरिएको थियो । सबैबाट विरोध भएपछि गगनलाई पक्राउ गर्ने योजनाबाट सरकार पछाडि हटेको बुझिएको छ ।

    उनलाई पक्राउ गर्ने हल्ला चल्नुको प्रमुख कारण यही कात्तिक १३ गते विभिन्न सञ्चारगृहका समाचार कक्षमा प्रवेश गरी पत्रकारहरूलाई पक्राउ र धरपकड गरिएपछि उनले दिएको अभिव्यक्ति रहेको बताइएको छ । समाचार कक्षमै प्रवेश गरेर पत्रकारहरूलाई पक्राउ गरिएपछि गगनले सरकारको चर्को आलोचना गरेका थिए । कात्तिक १५ गते पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरेरे पत्रकार पक्राउलगायत अन्य विषयमा पनि उनले सरकारको कडा विरोध गरेका थिए ।

    त्यसैलगत्तै गगनलाई पक्राउ गर्न लागिएको चर्चा चलेको थियो । थापालाई पक्राउ गर्न नै नेपाल प्रहरीको नेतृत्व फेरिएको चर्चा चलेको छ ।

    बिचौलिया इनम सापकोटाले गगनको नाम पोलेकाले पनि उनलाई पक्राउ गर्न सरकारले तयारी गरेको बताइएको थियो । इनमले कांग्रेसको आधिकारिकताका निम्ति १८ करोड रुपैयाँको डिल भएको बयान दिएको अडियो सार्वजनिक भएको थियो । तर गगनले पार्टीको वैधानिकतामा एक सुको पनि लेनदेन नभएको अभिव्यक्ति दिएका छन् ।

    समाचारहरूका अनुसार गगन पक्राउबारे प्रधानमन्त्रीले सुरक्षा निकायसँग राय लिएका थिए । त्यस क्रममा गगनलाई पक्राउ गर्दा विपक्षी दलहरू अझ संगठित हुने र सरकारविरुद्ध उनीहरुको मोर्चाबन्दीसँगै आन्दोलन हुनसक्ने सूचना प्राप्त भएको जानकारी दिइएको थियो । जसले प्रधानमन्त्री गगनलाई पक्राउ गर्ने योजनाबाट पछाडि हट्न बाध्य बनाएको् बताइएको छ ।

    बालेनले गत बिहीबार प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका महानिरीक्षक डा. मनोजकुमार केसी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेलसँग ब्रिफिङ लिएका थिए ।

    सोही दिन भारतीय विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्री बालेनसँग शिष्टाचार भेट गरेका थिए। मिश्रीको कार्यतालिकामा विपक्षी दलका नेतासँग भेट्ने तय भएको थिएन । तर सरकारले पक्राउ सूचीमा राखेको भनिएका प्रमुख विपक्षी दल कांग्रेसका सभापति गगनसँग मिश्रीले आकस्मिक रूपमा भेट गरेका थिए । यो सूचना प्रधानमन्त्री बालेनसमक्ष पुगेपछि गगनको अन्तर्राष्ट्रिय सम्बन्धका बारेमा पनि विश्लेषण गरिएको समाचार स्रोतले जनायो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images