काठमाडौं– मधेश प्रदेश सरकारबाट नेपाली कम्युनिस्ट पार्टी बाहिरिने भएको छ । गत असोज ३० गते नेकपा एमाले बाहिरिएपछि अल्पमतमा रहेको मधेश प्रदेश सरकारबाट नेकपा पनि बाहिरिने भएको हो ।
नेकपा संसदीय दलको शुक्रबार भएको भर्चुअल बैठकले पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको एक प्रदेश सांसदले जानकारी दिए । उनका अनुसार नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपश्चात भएको भर्चुअल बैठकले सरकारबाट बाहरिने निर्णयमा गरेको हो ।
मधेशमा नेकपाका चार मन्त्री छन् । जसमा अर्थमन्त्री संसदीय दलका नेता युवराज भट्टराई, उद्योग पर्यटनमन्त्री कनिष पटेल, गृह सञ्चार तथा कानुनमन्त्री फकिरा महतो र ऊर्जा सिंचाइ तथा खानेपानी मन्त्री जवाहर कुशवाहा रहेका छन् ।
उनीहरुलाई आजै राजीनामा बुझाउन संसदीय दलले निर्देशन दिइसकेको ती प्रदेश सांसदले जानकारी दिए ।
कांग्रेु नेतृत्वको मधेश सरकारलाई विश्वासको मत लिन अब ८ दिनमात्र बाँकी रहेको छ ।
मधेशमा नेकपा एमालेले जसपा र नेकपासहितको नयाँ समीकरण बनाएको दाबी गरेको छ । सोहीअनुसार नयाँ सत्ता गठबन्धन बन्ने भएकाले नेकपा कांग्रेस सरकारकाबाट बाहिरिएको बताइएको छ ।
यससँगै मधेशको प्रदेश सरकार जोगाउन कांग्रेस सभापति गगन थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भक्तपुरको गुण्डुसम्म पुगेर गरेको भेट खेर गएको टिप्पणी गरिएको छ ।






















