images
images
  • इजरायलमा नेतान्याहु युगको अन्त्य, उदाए गादी आइसेनकोट

    काठमाडौं– इजरायलको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको सत्ता यात्रामा ठूलो धक्का लागेको छ । पछिल्लो संसदीय निर्वाचनपछि नयाँ सरकार गठनका लागि भएको राजनीतिक परामर्शमा विपक्षी नेता गादी आइसेनकोटले बहुमत सांसदको समर्थन प्राप्त गरेसँगै इजरायलमा नेतान्याहुको राजनीतिक युग अन्त्यतिर लम्किएको हो ।

    इजरायली संसद् नेसेटका १२० सांसदमध्ये ६७ जनाले आगामी प्रधानमन्त्रीका रूपमा याशर पार्टीका अध्यक्ष गादी आइसेनकोटलाई समर्थन गरेका छन् । वर्तमान प्रधानमन्त्री नेतान्याहुको पक्षमा भने ४६ सांसदले मात्रै समर्थन जनाएका छन् । सात सांसदले कुनै पनि उम्मेदवारको पक्षमा सिफारिस गरेका छैनन् ।

    यो परिणामले नेतान्याहुको राजनीतिक भविष्य कमजोर बनेको छ र सत्ता परिवर्तनका लागि विपक्षी शक्तिहरू एक ठाउँमा उभिएका छन् । इजरायलको राजनीतिमा निर्णायक मानिएको अरब नेतृत्वका दलहरूले नेतान्याहुलाई सत्ताबाट बाहिर राख्ने रणनीति लिएर आइसेनकोटलाई समर्थन गरिसकेका छन्।

    १७ वर्षभन्दा बढीको सत्ता प्रभाव संकटमा

    बेन्जामिन नेतान्याहु इजरायलको राजनीतिमा लामो समयदेखि प्रभावशाली व्यक्तित्व रहँदै आएका छन् । उनी सन् १९९६ देखि १९९९ सम्म पहिलोपटक प्रधानमन्त्री बनेका थिए । त्यसपछि सन् २००९ देखि २०२१ सम्म लगातार प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले । सन् २०२२ को अन्त्यमा पुनः सत्तामा फर्किएका उनी हालसम्म इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री रहने नेताका रूपमा स्थापित छन् ।

    उनको नेतृत्वमा इजरायलले सुरक्षा, अर्थतन्त्र र अन्तर्राष्ट्रिय सम्बन्धका क्षेत्रमा विभिन्न राजनीतिक उतारचढाव सामना गरेको छ । तर पछिल्लो समय गाजा युद्ध, सुरक्षा व्यवस्थापन, आन्तरिक राजनीतिक ध्रुवीकरण, न्यायिक सुधारसम्बन्धी विवाद र सरकारका अतिवादी साझेदारहरूको भूमिकाले उनको नेतृत्वमाथि प्रश्न उठ्दै आएको छ ।

    पछिल्लो निर्वाचनमा पनि नेतान्याहुको लिकुड पार्टी सबैभन्दा ठूलो एकल दल बनेको थियो । उसले २७ सिट प्राप्त गरेको छ । तर नेतान्याहुको नेतृत्वको गठबन्धनले सरकार गठनका लागि आवश्यक ६१ सिट जुटाउन सकेन ।

    आइसेनकोटलाई कसरी जुट्यो ६७ सांसदको समर्थन ?

    इजरायली संसद्मा सरकार गठनका लागि कम्तीमा ६१ सांसदको समर्थन आवश्यक हुन्छ । आइसेनकोटले प्राप्त गरेको ६७ सांसदको समर्थन तीन राजनीतिक समूहबाट आएको हो।

    उनको नेतृत्वमा रहेको यहुदी विपक्षी गठबन्धनसँग ४८ सिट छ । अरब नेतृत्वको राआम पार्टीसँग आठ सिट र जोइन्ट लिस्टसँग ११ सिट छन् । यी तीन पक्षको समर्थन जोड्दा ६७ सिट पुगेको हो ।

    विशेषगरी जोइन्ट लिस्टको समर्थनलाई अर्थपूर्ण मानिएको छ । नेतान्याहुको सरकारलाई पुनः सत्तामा आउनबाट रोक्नुपर्ने जनताको मागलाई ध्यानमा राखेर आइसेनकोटलाई समर्थन गरिएको उक्त दलले जनाएको छ ।

    जोइन्ट लिस्टले विपक्षी गठबन्धनसँग नीतिगत मतभेद रहेको स्वीकार गरेको छ । तर नेतान्याहु र उनका अतिवादी साझेदारहरूको शासन निरन्तर हुन नदिन आइसेनकोटलाई समर्थन गर्नु आवश्यक भएको उसको भनाइ छ ।

    जोइन्ट लिस्टले आइसेनकोटलाई समर्थन गरे पनि सरकारमा औपचारिक रूपमा सहभागी हुने निर्णय भने गरेको छैन । उसले बाहिरै बसेर सरकारलाई समर्थन गर्ने संकेत गरेको छ।

    अरब दलको समर्थनले बदलिएको इजरायली राजनीतिक समीकरण

    इजरायलको राजनीतिमा अरब नेतृत्वका दलहरूको भूमिका पछिल्लो घटनाक्रममा निर्णायक बनेको छ । राआम र जोइन्ट लिस्टले आइसेनकोटलाई समर्थन गरेपछि नेतान्याहुको सत्ता निरन्तरताको सम्भावना कमजोर बनेको हो ।

    राआम पार्टीका अध्यक्ष मन्सुर अब्बासले आइजेनकोटलाई समर्थन गर्नुको उद्देश्य देशमा नयाँ सरकार गठनका लागि बाटो खोल्नु भएको बताएका छन् ।

    हमासको निःशस्त्रीकरणलगायतका विषयमा आइसेनकोटले आफ्नो सम्भावित गठबन्धनका लागि केही सर्त अघि सारेका छन् । राआमले पनि हमासको पूर्ण निःशस्त्रीकरणको समर्थन गर्ने बताएको छ ।

    यद्यपि अरब दलहरूको समर्थनलाई इजरायलमा नयाँ राजनीतिक सहकार्यको संकेतका रूपमा हेरिएको छ । उनीहरू र यहुदी नेतृत्वको विपक्षी गठबन्धनबीच सबै विषयमा समान धारणा बनेको छैन । यसले नयाँ सरकार गठनको बाटो खेले पनि सरकार सञ्चालनमा कति सहज हुन्छ भन्ने प्रश्न बाँकी नै छ।

    नेतान्याहुको गठबन्धनमै देखियो दरार

    नेतान्याहुको सत्ता संकटलाई थप गहिरो बनाउने अर्को कारण उनका परम्परागत सहयोगी दलहरूको कमजोर समर्थन हो ।

    उनको गठबन्धनमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको युनाइटेड तोराह जुडाइज्मले यसपटक कुनै पनि प्रधानमन्त्रीका उम्मेदवारलाई समर्थन नगर्ने निर्णय गरेको छ । सात सिट रहेको उक्त दलको निर्णयले नेतान्याहुलाई थप राजनीतिक दबाबमा पारेको हो ।

    निर्वाचनपछि नेतान्याहुको पक्षमा ५३ सिटको राजनीतिक गठबन्धन रहेको देखिए पनि राष्ट्रपतिसमक्ष भएको परामर्शमा उनलाई समर्थन गर्ने सांसदको संख्या ४६ मा सीमित भयो । जसले गर्दा नेतान्याहुले आफ्नो पुरानो गठबन्धनलाई समेत विश्वासमा राख्न नसकेको पुष्टि भयो ।

    आइजेनकोटले ६७ सांसदको समर्थन प्राप्त गरे पनि इजरायलमा सरकार परिवर्तन औपचारिक रूपमा सुरु भइसकेको छैन । राष्ट्रपति आइज्याक हर्जोगले कसलाई सरकार गठनको जिम्मेवारी दिने भन्ने निर्णय आइतबार गर्ने बताएका छन् ।

    उनले आइसेनकोटले धेरै सांसदको समर्थन पाए पनि विभिन्न राजनीतिक समूहबीच रहेका आपसी असहमति र निषेधका कारण स्थिर सरकार गठन गर्न सक्ने अवस्था स्पष्ट नभएको बताएका छन् ।

    राष्ट्रपतिबाट सरकार गठनको जिम्मेवारी पाएपछि सम्बन्धित उम्मेदवारले निर्धारित समयभित्र संसदमा विश्वासको मत जुटाएर सरकार गठन गर्नुपर्नेछ।

    के वास्तवमै अन्त्य हुँदैछ नेतान्याहुको युग ?

    इजरायलमा पछिल्लो राजनीतिक घटनाक्रम सामान्य सत्ता समीकरणको परिवर्तन मात्रै होइन । यसले नेतान्याहुको लामो राजनीतिक प्रभावमाथि गम्भीर चुनौती खडा गरेको छ ।

    एकातिर नेतान्याहुको आफ्नै गठबन्धनमा समर्थन कमजोर भएको छ भने अर्कोतिर उनलाई सत्ताबाट हटाउने उद्देश्यसहित वैचारिक रूपमा फरक दलहरू एक ठाउँमा आएका छन् । अरब नेतृत्वका दलहरूको समर्थनले विपक्षी गठबन्धनलाई संसदीय बहुमतको सम्भावित आधारसमेत दिएको छ ।

    यदि आइसेनकोटले राष्ट्रपतिबाट सरकार गठनको जिम्मेवारी पाएर आवश्यक संसदीय समर्थन जुटाउन सके भने इजरायलमा नेतान्याहुको लामो सत्ता यात्रामा पूर्णविराम लाग्ने निश्चित छ ।

    त्यसले इजरायलको आन्तरिक राजनीतिमा मात्रै नभई गाजा युद्ध, प्यालेस्टाइनसँगको सम्बन्ध, मध्यपूर्वको सुरक्षा रणनीति र अन्तर्राष्ट्रिय कूटनीतिमा समेत नयाँ बहस र सम्भावना खुल्दै जानेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images