images
images
  • चितवनबाट रवि लामिछानेकाे नेता–कार्यकर्तालाई चेतावनी : ‘१८२ सिट आयो भन्दैमा दम्भ नदेखाउनू’

    काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्तालाई जनमतको सम्मान गर्न, शक्तिको दुरुपयोग नगर्न र संगठनभित्र अनुशासन कायम राख्न कडा सन्देश दिएका छन् ।

    चितवनबाट सार्वजनिक गरेका उनका दुईवटा सन्देशमा पार्टीले प्राप्त गरेको ठूलो जनमतलाई व्यक्तिगत शक्ति प्रदर्शनको माध्यम बनाउन नहुनेदेखि पार्टीभित्रको एकता र स्थानीय नेतृत्वको सम्मान गर्नुपर्ने विषय समेटिएका छन् ।

    लामिछानेले जनताले पार्टीलाई १८२ सिट दिएको भन्दैमा आफूहरूलाई जे गरे पनि छुट हुने मानसिकता नराख्न चेतावनी दिएका छन् । जनताको मतबाट प्राप्त शक्ति अहंकार र दम्भ देखाउन नभई जिम्मेवारी पूरा गर्न प्रयोग गर्नुपर्ने उनको भनाइ छ ।

    उनले पार्टीका नेता तथा कार्यकर्तालाई जनताको विश्वासमाथि खेलवाड नगर्न आग्रह गर्दै आफूहरू माथिदेखि तलसम्म जनताप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

    त्यस्तै, पार्टी ठूलो भएको, हातमा प्रहरी र प्रमुख जिल्ला अधिकारी (सीडीओ) रहेको तथा आफूहरूसँग सबै शक्ति रहेको भन्दै दम्भ देखाउने प्रवृत्तिप्रति पनि उनले असन्तुष्टि जनाएका छन् । राज्यशक्तिमा पहुँच हुँदैमा कसैलाई हेप्ने वा आफूलाई अरूभन्दा माथि ठान्ने व्यवहार स्वीकार्य नहुने उनको सन्देश छ ।

    स्थानीय नेतृत्वको विषयमा पनि लामिछानेले विशेष जोड दिएका छन्। वडा तहमा चुनाव लड्न र नेतृत्व गर्न सक्ने क्षमता भएका व्यक्तिलाई पाखा लगाएर आफूखुसी नेतृत्व चयन गर्ने प्रवृत्ति गलत भएको उनको भनाइ छ । स्थानीयस्तरमा खटिएका र जनतामाझ स्थापित व्यक्तिलाई उचित अवसर दिनुपर्ने उनले बताएका छन् ।

    पार्टीभित्रको एकता र सहकार्यलाई कमजोर बनाउने ईर्ष्या तथा खिसिट्युरी गर्ने प्रवृत्तिप्रति पनि उनले सचेत गराएका छन् । सँगै संघर्ष गरेको साथी अगाडि बढ्दा खुसी हुनुपर्ने र पछि पर्दा अपमान गर्ने होइन, साथ दिनुपर्ने उनको धारणा छ ।

    लामिछानेले शक्ति प्राप्त भएको समयमा झन् बढी जिम्मेवार भएर अभिव्यक्ति दिन र गतिविधि सञ्चालन गर्नुपर्ने बताएका छन् । इतिहासले शक्तिशाली अवस्थामा रहेका व्यक्तिबाट बढी जिम्मेवारी र संयमको अपेक्षा गर्ने उनको भनाइ छ ।

    यसैगरी, समाजले नेता तथा कार्यकर्ताका गतिविधि नजिकबाट नियालिरहेको उल्लेख गर्दै लोकतन्त्रका लागि अरूले गरेको संघर्ष र बगाएको रगतको अवमूल्यन नगर्न उनले आग्रह गरेका छन् ।

    उनका सन्देशमा जनताको अभिमतको सम्मान, शक्तिको संयमित प्रयोग, संगठनात्मक एकता, स्थानीय नेतृत्वको क्षमता र राजनीतिक जवाफदेहितालाई प्राथमिकता दिइएको छ ।

    रास्वपाले ठूलो जनमतसहित राजनीतिक शक्ति प्राप्त गरेको अवस्थामा सभापति लामिछानेबाट आएको यो सन्देशलाई पार्टीका नेता–कार्यकर्तालाई अनुशासनमा राख्ने र शक्तिको उन्मादबाट जोगाउने चेतावनीका रूपमा हेरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images