काठमाडौं । चालु आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार एभरेष्ट बैंक लिमिटेडको मुख्य वित्तीय सूचकहरूमा दबाब देखिएको छ । बैंकको निक्षेप तथा कर्जा विस्तारमा केही वृद्धि देखिए तापनि शेयरधनीहरूलाई बाँड्न मिल्ने वितरणयोग्य मुनाफा, खुद ब्याज आम्दानी, प्रतिशेयर आम्दानी र नेटवर्थजस्ता महत्त्वपूर्ण वित्तीय सूचकहरूमा गिरावट आएको छ ।
बैंकको लाभांश वितरण क्षमता दर्शाउने वितरणयोग्य मुनाफामा उच्च गिरावट भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४९ करोड रुपैयाँ रहेको वितरणयोग्य मुनाफा समीक्षा अवधिमा २९.५७ प्रतिशतले घटेर ३ अर्ब ८७ करोड रुपैयाँमा सीमित भएको छ । वितरणयोग्य कोषमा आएको यस भारी गिरावटले शेयरधनीहरूलाई प्रतिफल वितरण गर्ने बैंकको क्षमता खुम्चिएको छ ।
यसैगरी, बैंकको कोर बैंकिङ आम्दानीको मुख्य स्रोत मानिने खुद ब्याज आम्दानी र ब्याज दर अन्तरमा पनि सङ्कुचन देखिएको छ । गत वर्षको पहिलो त्रैमासमा २ अर्ब ४० करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेर २ अर्ब ३७ करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, बैंकको ब्याज दर अन्तर ११.९० प्रतिशतले घट्दै ३.३६ प्रतिशतबाट २.९६ प्रतिशतमा सीमित भएको छ । स्प्रेड दर र खुद ब्याज आम्दानीमा आएको यो गिरावटले बैंकको मुख्य आम्दानी प्रवाहमा असर पारेको छ ।
वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी र नेटवर्थमा समेत गिरावट आएको छ । समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी ४.५६ प्रतिशतले घटेर ३४ रुपैयाँ ७८ पैसामा सीमित भएको छ, जुन अघिल्लो वर्ष सोही अवधिमा ३६ रुपैयाँ ४४ पैसा रहेको थियो । त्यसैगरी, बैंकको प्रतिशेयर खुद सम्पत्ति ४.९६ प्रतिशतले घटेर २५५ रुपैयाँ ६९ पैसाबाट २४३ रुपैयाँ ०१ पैसामा झरेको छ । बैंकको इक्विटीमा प्राप्त हुने प्रतिफल पनि १४.५१ प्रतिशतबाट घटेर १४.२८ प्रतिशतमा झरेको छ ।
स्प्रेड दरमा आएको संकुचन, खुद ब्याज आम्दानीमा गिरावट र वितरणयोग्य मुनाफामा देखिएको यो भारी कमीले एभरेष्ट बैंकको नाफा क्षमता र प्रतिफल दरमा चुनौती थपेको देखिन्छ ।






















