images
images
  • तिहारमा राष्ट्र बैंकले बेच्ने भयो सुनको असर्फी र चाँदीका मेडालियन

    काठमाडौं – नेपाल राष्ट्र बैंकले यस वर्षको तिहारलाई लक्षित गर्दै सर्वसाधारणका लागि सुनको असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले बुधबार सूचना जारी गर्दै बबरमहलस्थित टक्सार महाशाखाबाट कात्तिक १९ र २० गते असर्फी तथा मेडालियन बिक्री गरिने जनाएको हो । दुवै दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खरिद गर्न सकिनेछ ।

    राष्ट्र बैंकका अनुसार प्रतिव्यक्ति २.५ ग्रामको एक थान सुनको असर्फी बिक्री गरिनेछ । त्यस्तै, १० ग्रामका लक्ष्मी र गणेश अंकित चाँदीका मेडालियन पनि उपलब्ध हुनेछन् । एक व्यक्तिले बढीमा दुई थानसम्म चाँदीका मेडालियन खरिद गर्न पाउनेछन् ।

    असर्फी तथा मेडालियन खरिद गर्न इच्छुक नेपाली नागरिकले नागरिकता वा राष्ट्रिय परिचयपत्रको प्रतिलिपि अथवा ती कागजातको नम्बर उल्लेख भएको अन्य प्रमाणसहित स्वयं उपस्थित हुनुपर्नेछ । खरिदको भुक्तानी नगद वा क्यूआरमार्फत गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

    सुनको असर्फी र चाँदीका मेडालियनको मूल्य दैनिक रूपमा बिहान करिब ११ बजेपछि निर्धारण गरिनेछ। मूल्य निर्धारण भएपछि मात्रै बिक्री प्रक्रिया सुरु हुने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।

    तिहारमा धनतेरस तथा लक्ष्मीपूजाका अवसरमा सुन र चाँदीका सिक्का तथा प्रतीकात्मक सामग्री खरिद गर्ने परम्परालाई लक्षित गर्दै राष्ट्र बैंकले हरेक वर्ष यस्ता सामग्री बिक्री गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images