images
images
  • ग्लोबल आईएमईको पूँजी पर्याप्तता, प्रतिशेयर वितरणयोग्य नाफा र गैर–सञ्चालन आम्दानीमा संकुचन

    काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को प्रथम त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बैंकका प्रमुख वित्तीय सूचकहरूमा संकुचन देखिएको छ । बैंक स्तरको तथ्याङ्क अनुसार पूँजी पर्याप्तता, प्रतिशेयर वितरणयोग्य नाफा, खुद सम्पत्ति मूल्य र गैर–सञ्चालन आम्दानी घट्दा सञ्चालन खर्चमा भने वृद्धि भएको छ ।

    अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा बैंकको जोखिम भारित सम्पत्तिको अनुपातमा पूँजी कोष घटेको छ । गत वर्षको सोही अवधिमा १२.९८ प्रतिशत रहेको कुल पूँजी कोष अनुपात चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १.६६ प्रतिशत विन्दुले घटेर ११.३२ प्रतिशतमा झरेको छ ।

    यस्तै, अघिल्लो वर्ष १०.४१ प्रतिशत रहेको प्राथमिक पूँजी अनुपात पनि घटेर ९.३५ प्रतिशतमा सीमित भएको छ । पूँजी पर्याप्तता सूचकमा आएको यस गिरावटले बैंकको भावी व्यवसाय तथा कर्जा विस्तार गर्ने आन्तरिक क्षमतामा चाप परेको संकेत गर्छ ।

    शेयरधनीहरूको प्रतिफलसँग प्रत्यक्ष जोडिने प्रतिशेयर वितरणयोग्य नाफा र प्रतिशेयर खुद सम्पत्ति मूल्य दुवैमा ह्रास आएको छ ।

    अघिल्लो आर्थिक वर्षको प्रथम त्रैमासमा वार्षिकीकृत प्रतिशेयर वितरणयोग्य नाफा २२ रुपैयाँ ९५ पैसा रहेकोमा चालु वर्षको सोही अवधिमा २२.६६ प्रतिशतले घटेर १७ रुपैयाँ ७५ पैसामा सीमित भएको छ । जसका कारण कुल वितरणयोग्य नाफा पनि ४ अर्ब ८४ करोड ९५ लाख रुपैयाँबाट घटेर २ अर्ब ७ करोड २ लाख रुपैयाँमा खुम्चिएको छ ।

    यस्तै, अघिल्लो वर्षको सोही अवधिमा १८२ रुपैयाँ ६३ पैसा रहेको प्रतिशेयर खुद सम्पत्ति मूल्य घटेर चालु आवमा १७५ रुपैयाँ ७७ पैसामा ओर्लिएको छ ।

    बैंकको मुख्य आम्दानीको स्रोत मानिने कुल ब्याज आम्दानीमा सामान्य संकुचन आएको छ । गत आर्थिक वर्षको प्रथम त्रैमासमा १० अर्ब ३२ करोड १० लाख रुपैयाँ रहेको कुल ब्याज आम्दानी चालु आवको सोही अवधिमा १.८० प्रतिशतले घटेर १० अर्ब १३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ ।

    यस्तै, निक्षेप र कर्जाको ब्याजदर अन्तर अर्थात् औसत ब्याजदर स्प्रेड पनि अघिल्लो वर्षको ३.४८ प्रतिशतबाट ०.३१ प्रतिशत विन्दुले घटेर चालु वर्षमा ३.१७ प्रतिशतमा झरेको छ ।

    आम्दानीका मुख्य सूचकमा चाप परे पनि बैंकको प्रशासनिक तथा सञ्चालन खर्चमा भने वृद्धि भएको छ । अघिल्लो वर्षको प्रथम त्रैमासमा १ अर्ब ३१ करोड ८२ लाख रुपैयाँ रहेको कर्मचारी खर्च ६.९१ प्रतिशतले बढेर चालु आवमा १ अर्ब ४० करोड ९२ लाख रुपैयाँ पुगेको छ ।

    यस्तै, अन्य सञ्चालन खर्च पनि १०.८१ प्रतिशतले बढेर ६० करोड २९ लाख रुपैयाँबाट ६६ करोड ८० लाख रुपैयाँ पुगेको छ । यसका साथै बैंकको शुल्क तथा कमिसन खर्च पनि २९.५३ प्रतिशतले बढेर २० करोड ३९ लाख रुपैयाँबाट २६ करोड ४१ लाख रुपैयाँ पुगेको छ ।

    बैंकको गैर–ब्याज आम्दानीका स्रोतहरूमा समेत गिरावट भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १९ करोड १२ लाख रुपैयाँ रहेको अन्य सञ्चालन आम्दानी ८.९४ प्रतिशतले घटेर १७ करोड ४१ लाख रुपैयाँमा सीमित भएको छ ।

    अर्कोतर्फ, अघिल्लो आवको प्रथम त्रैमासमा ११ करोड ८७ लाख रुपैयाँ रहेको गैर–सञ्चालन आम्दानी चालु आवको सोही अवधिमा ९९ प्रतिशतभन्दा बढीको भारी गिरावट आई मात्र ८ लाख ७८ हजार रुपैयाँमा झरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images