काठमाडौं – ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ३१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २४.५० प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ८५ करोड ८६ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
बैंकको नाफा बढ्नुमा सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याइने रकममा आएको कमी र शुल्क तथा कमिसन आम्दानीमा भएको वृद्धि प्रमुख कारण देखिएका छन् । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब १ करोड ९ लाख ८८ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज चालु आवको समीक्षा अवधिमा ५१।६९ प्रतिशतले घटेर ४८ करोड ८३ लाख ३ हजार रुपैयाँमा सीमित भएको छ । यसबाट बैंकको सञ्चालन मुनाफा ३५।९० प्रतिशतले बढेर ३ अर्ब २२ करोड २५ लाख २९ हजार रुपैयाँ पुगेको छ ।
बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा बढेको छ। गत वर्षको पहिलो त्रैमासमा ४ अर्ब १३ करोड ३० लाख ६३ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी चालु आवको सोही अवधिमा १.४५ प्रतिशतले वृद्धि भई ४ अर्ब १९ करोड ३२ लाख ५४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ३४.५० प्रतिशतले बढेर १ अर्ब २२ करोड १२ लाख ९० हजार रुपैयाँ पुगेको छ । गत वर्ष यस्तो आम्दानी ९० करोड ७६ लाख ३४ हजार रुपैयाँ थियो ।
बैंकको खुद ट्रेडिङ आम्दानी पनि ४४.७० प्रतिशतले बढेर ४१ करोड २१ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अन्य सञ्चालन आम्दानी १७ करोड ४१ लाख ५५ हजार रुपैयाँ रहेको छ । बैंकले निक्षेप र कर्जा परिचालन दुवैमा विस्तार गरेको वित्तीय विवरणले देखाएको छ । गत असार मसान्तको तुलनामा चालु आवको पहिलो तीन महिनामा ग्राहक निक्षेप ३.११ प्रतिशतले बढेर ६ खर्ब ९० अर्ब १८ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा कर्जा प्रवाह ७.४८ प्रतिशतले वृद्धि भई ४ खर्ब ७१ अर्ब ९६ करोड ४९ लाख रुपैयाँ कायम भएको छ ।
कर्जाको गुणस्तरमा पनि सामान्य सुधार देखिएको छ। बैंकको कुल निष्क्रिय कर्जा अनुपात गत आर्थिक वर्षको पहिलो त्रैमासमा ४.९८ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा घटेर ४.७९ प्रतिशतमा झरेको छ । खुद निष्क्रिय कर्जा अनुपात पनि ०.९५ प्रतिशतबाट घटेर ०.६० प्रतिशत कायम भएको छ। निष्क्रिय कर्जामा आएको सुधारसँगै कर्जा नोक्सानी व्यवस्थापनको कभरेज १०९।६३ प्रतिशतबाट बढेर १२०।१७ प्रतिशत पुगेको छ ।
ब्याजदर घट्दो क्रममा रहँदा बैंकको कोषको लागत, आधार दर र ब्याजदर अन्तरमा पनि कमी आएको छ । बैंकको कोषको औसत लागत ३.९२ प्रतिशतबाट घटेर ३.२६ प्रतिशत र आधार दर ५.४० प्रतिशतबाट घटेर ४.६१ प्रतिशतमा झरेको छ । त्यस्तै, औसत ब्याजदर अन्तर ३.४८ प्रतिशतबाट घटेर ३.१७ प्रतिशत कायम भएको छ । बैंकको कर्जा–निक्षेप अनुपात ७०.११ प्रतिशत र तरलता अनुपात ३८.४१ प्रतिशत रहेको छ ।
नाफामा भएको वृद्धिसँगै बैंकको पुँजीमा प्रतिफल (आरओई) ११.०१ प्रतिशतबाट बढेर १३.२९ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल (आरओए) १.०५ प्रतिशतबाट बढेर १.१२ प्रतिशत कायम भएको छ । बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी १९ रुपैयाँ ५१ पैसाबाट बढेर २३ रुपैयाँ ३५ पैसा पुगेको छ । मूल्य आम्दानी अनुपात १०.०८ गुणा रहेको छ ।
३९ अर्ब ६४ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ९६ करोड ६९ लाख रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७५ रुपैयाँ ७७ पैसा र पुँजी पर्याप्तता अनुपात ११.३२ प्रतिशत कायम भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ७ करोड २० लाख रुपैयाँ रहेको वित्तीय विवरणमा उल्लेख छ ।






















