images
images
  • नबिल बैंकको खुद नाफा ४५ प्रतिशतले बढ्यो, पहिलो त्रैमासमा कमायो २ अर्ब ५५ करोड

    काठमाडौं – नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २ अर्ब ५५ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४५.४० प्रतिशतले बढेको हो । गत वर्षको पहिलो त्रैमासमा बैंकले १ अर्ब ७५ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

    बैंकको नाफा बढ्नुमा सम्भावित कर्जा नोक्सानी व्यवस्थाबापत छुट्याउनुपर्ने रकममा आएको कमी प्रमुख कारण देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६४ करोड ७२ लाख रुपैयाँ रहेको इम्पेरमेन्ट चार्ज चालु आर्थिक वर्षको समीक्षा अवधिमा घटेर १६ करोड ४० लाख रुपैयाँमा झरेको छ । यससँगै बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा कमिसनबाट हुने आम्दानीमा पनि वृद्धि भएको छ ।

    बैंकको खुद ब्याज आम्दानी गत वर्षको पहिलो त्रैमासमा ३ अर्ब ९० करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, खुद शुल्क तथा कमिसन आम्दानी ७९ करोड ८७ लाख रुपैयाँबाट बढेर ९१ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

    वित्तीय विवरणअनुसार बैंकको प्रतिशेयर आम्दानी ३३ रुपैयाँ ८९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ३९ पैसा कायम भएको छ । समीक्षा अवधिसम्म बैंकले ६ खर्ब १९ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ४ खर्ब ७६ अर्ब १ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    लगानीकर्ताका दृष्टिले बैंकको वितरणयोग्य मुनाफा २ अर्ब २६ करोड रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा अनुपात ४.०६ प्रतिशत र खुद खराब कर्जा अनुपात ०।६३ प्रतिशत रहेको छ । त्यस्तै, बैंकको पूँजीकोष अनुपात ११.६७ प्रतिशत कायम भएको वित्तीय विवरणमा उल्लेख छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images