काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्ममा नबिल बैंकले खुद नाफामा उल्लेख्य सुधार गरे तापनि बैंकको पुँजी कोष अनुपातमा गिरावट र सञ्चित मुनाफामा संकुचन आएको छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ७५ करोड ६९ लाखको तुलनामा ४५.४ प्रतिशतले बढेर २ अर्ब ५५ करोड ५१ लाख पुगेको छ । तर, व्यवसाय विस्तारका लागि महत्त्वपूर्ण मानिने पुँजी कोष र लगानीकर्ताका लागि लाभांश क्षमता दर्शाउने सञ्चित नाफामा भने चाप परेको देखिन्छ ।
बैंकको वित्तीय मजबूती र जोखिम बहन क्षमता दर्शाउने पुँजी कोष अनुपात अघिल्लो वर्षको सोही अवधिको तुलनामा घटेको छ । वित्तीय विवरण अनुसार चालु आवको असोज मसान्तसम्म बैंकको कुल पुँजी कोष अनुपात ११.६७ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा १२.६७ प्रतिशत रहेको थियो ।
त्यसैगरी बैंकको प्राथमिक पुँजी अनुपात पनि अघिल्लो वर्षको ९.५५ प्रतिशतबाट घटेर ९.१० प्रतिशतमा झरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम नियामक सीमाभित्रै रहे तापनि पुँजी कोषमा आएको यस संकुचनले आगामी दिनमा आक्रामक रूपमा कर्जा विस्तार गर्न बैंकलाई थप पूँजी व्यवस्थापनको आवश्यकता पर्ने संकेत गर्दछ ।
सञ्चालन खर्चतर्फ बैंकले स्थिर व्यवस्थापन कायम राखेको छ । बैंकको मुख्य सञ्चालन खर्च मानिने कर्मचारी खर्च चालु आवको पहिलो त्रैमासमा १ अर्ब ४७ करोड ८५ लाख रहेको छ, जुन गत वर्षको सोही अवधिको १ अर्ब ४७ करोड ७५ लाखको तुलनामा नियन्त्रित देखिन्छ ।
यस्तै, अन्य सञ्चालन खर्च ३८ करोड ७५ लाख र ह्रासकट्टी खर्च १६ करोड ६८ लाख रहेको छ । कुल सञ्चालन आम्दानी बढेर ६ अर्ब १३ करोड ६५ लाख पुगेको र निष्क्रिय कर्जाको नोक्सानी व्यवस्था खर्च ६४.७२ करोडबाट उल्लेख्य घटेर १६ करोड ४० लाखमा सीमित भएकाले बैंकको सञ्चालन मुनाफा ४२.३ प्रतिशतले बढेर ३ अर्ब ६७ करोड १९ लाख पुगेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म नबिल बैंकको सञ्चित मुनाफा २ अर्ब २६ करोड ४५ लाखमा झरेको छ । गत असार मसान्तसम्म ५ अर्ब १६ करोड ८८ लाख रहेको सञ्चित नाफाबाट शेयरधनीहरूलाई १ अर्ब ३५ करोड बराबरको बोनस शेयर र २ अर्ब ९२ करोड नगद लाभांश वितरण गरिएकाले तथा नियामक कोषमा १ अर्ब ३७ करोड समायोजन गरिएकाले सञ्चित मुनाफा घट्न पुगेको हो । यद्यपि, प्रथम त्रैमासमै खुद नाफामा भएको मजबुत वृद्धिका कारण बैंकको वार्षिककृत प्रतिशेयर वितरणयोग्य नाफा २२.०८ कायम भएको छ ।






















