images
images
  • ४९ प्रतिशतले घट्यो मुक्तिनाथको वितरणयोग्य नाफा

    काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको प्रकाशित वित्तीय विवरण अनुसार मुक्तिनाथ विकास बैंक लिमिटेडको वितरणयोग्य नाफामा भारी गिरावट आएको छ ।

    समीक्षा अवधिमा बैंकको नियमनकारी समायोजन पछिको वितरणयोग्य नाफा ४९.७४ प्रतिशतले घटेर ६१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो नाफा १ अर्ब २२ करोड ४९ लाख रुपैयाँ रहेको थियो ।

    वितरणयोग्य नाफामा आएको उच्च गिरावटसँगै बैंकका अन्य वित्तीय सूचकहरूमा पनि केही चुनौतीहरू देखा परेका छन् । समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.०३ प्रतिशतबाट बढेर ४.७३ प्रतिशत पुगेको छ, जसले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर व्यवस्थापनमा दबाब थपिएको संकेत गर्दछ ।

    यसैगरी, बैंकको सञ्चित नाफा पनि ८.९० प्रतिशतले घटेर ६१ करोड ५६ लाख रुपैयाँमा झरेको छ । बैंकको सञ्चालन लागततर्फ कर्मचारी खर्च ६.९३ प्रतिशतले बढेर ३७ करोड ५० लाख रुपैयाँ पुगेको छ भने पूँजी कोष पर्याप्तता अनुपात १२.९२ प्रतिशतबाट घटेर १२.८६ प्रतिशतमा आएको छ ।

    वितरणयोग्य नाफा र कर्जाको गुणस्तरमा चुनौती देखिए तापनि समीक्षा अवधिमा बैंकले खुद नाफा र सञ्चालन नाफामा भने उच्च वृद्धि हासिल गरेको छ । बैंकको खुद नाफा ४३.४४ प्रतिशतले बढेर ३२ करोड २४ लाख २४ हजार रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिमा २२ करोड ४७ लाख ७४ हजार रुपैयाँ मात्र रहेको थियो ।

    त्यस्तै, सञ्चालन नाफा १३५.५४ प्रतिशतको फराकिलो वृद्धि सहित ७५ करोड ६३ लाख ३५ हजार रुपैयाँ पुगेको छ।

    नाफामा भएको यो वृद्धिको मुख्य श्रेय सम्भावित कर्जा नोक्सानी व्यवस्थामा आएको गिरावटलाई जान्छ । बैंकको इम्पेयरमेन्ट चार्ज ७४.९७ प्रतिशतले घटेर ५४ करोड ११ लाख रुपैयाँबाट १३ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ ।

    यसका साथै बैंकको फण्डको लागत पनि ४.४६ प्रतिशतबाट घटेर ३.५५ प्रतिशतमा झरेको छ । बैंकको व्यापार विस्तारतर्फ निक्षेप सङ्कलन २.२० प्रतिशतले बढेर १२६ अर्ब २५ करोड रुपैयाँ र कर्जा प्रवाह ४.९४ प्रतिशतले बढेर १०५ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ, जसका कारण खुद ब्याज आम्दानी २.७१ प्रतिशतले बढेर १ अर्ब २१ करोड रुपैयाँ नाघेको छ ।

    समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.१२ रुपैयाँ, प्रतिशेयर खुद सम्पत्ति १६५.६७ रुपैयाँ र रिजर्भ कोष ८.६१ प्रतिशतले बढेर ४ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images