काठमाडौं– नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सञ्चारकर्मीको भूमिका र जिम्मेवारी निकै महत्वपूर्ण रहेको बताएका छन् ।
आफू प्रतिकूल हुनेगरी समाचार लेखेको भन्दै नेपाल प्रेस, नयाँ पत्रिकालगायत सञ्चारगृहका समाचार कक्षमै प्रवेश गरेर प्रहरीले पत्रकारमाथि धरपकड गरेको घटनाको भोलिपल्ट उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै आईजीपी कार्कीले विपद्को असर कम गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै सही समयमा सही सूचना सम्प्रेषण गर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘विपद्को असर कम गर्न अभूतपूर्व सहकार्य गरौं !’ उनले विपद्को जोखिम न्यूनीकरण तथा जनधनको सुरक्षा गर्ने अभियानमा नेपाल प्रहरी सधैँ आफ्नो मूल दायित्व पूरा गर्न क्रियाशील रहने बताएका छन् । यस क्रममा सञ्चारकर्मीको निरन्तर साथ, सहयोग र सहकार्यको अपेक्षा पनि उनले गरेका छन् ।
कार्कीले संवेदनशील समयमा नागरिकलाई सही समयमा सही सूचना सम्प्रेषण गर्दै क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गरेका छन् । प्रहरीलाई सञ्चारकर्मीको निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको सदैव अपेक्षा रहने उनको भनाइ छ । उनले भनेका छन्, ‘साथै, सञ्चारकर्मीसँग कुनै पनि प्रकारको बाधा नपुर्याइ भनेको कुरामा हरसम्भव सहयोग गर्ने नेपाल प्रहरी हर्दम प्रतिबद्ध छ ।’
तर, आईजीपी कार्कीको यो प्रतिबद्धता र त्यसको अघिल्लो दिन सञ्चारगृहमा देखिएको प्रहरी व्यवहारबीचको अन्तरले गम्भीर प्रश्न खडा गरेको छ । सञ्चारगृहभित्रै प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड भएको घटनाको भोलिपल्ट आएको उनको यो अभिव्यक्तिले प्रहरीको व्यवहार र प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताबीचको विरोधाभासबारे उठेको प्रश्न यथावत राखेको छ ।
सञ्चारकर्मीबाट निष्पक्ष र साहसिक रिपोर्टिङको अपेक्षा गर्ने प्रहरीले आफूलाई प्रतिकूल हुने समाचार प्रकाशित हुँदा पनि प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति दिन सक्छ कि सक्दैन भन्ने प्रश्नबाट प्रहरी प्रशान र नेतृत्व घेरिएको छ ।
प्रहरी संगठनको नेतृत्वबाट सञ्चारकर्मीलाई सहयोग गर्ने प्रतिबद्धता आउनु सकारात्मक भए पनि त्यसको वास्तविक परीक्षा अभिव्यक्तिमा होइन, व्यवहारमा हुनेछ । सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकारमाथि धरपकड भएको घटनाबारे निष्पक्ष छानबिन, जिम्मेवारमाथि जवाफदेहिता र आगामी दिनमा यस्ता घटना नदोहोरिने सुनिश्चितता नै प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धताको वास्तविक मापदण्ड बन्नेछ ।
समाचार कक्षमा प्रहरीको उपस्थिति र आईजीपीको सहकार्यको सन्देशबीच देखिएको यो विरोधाभासले एउटा प्रश्न अनुत्तरित छाडेको छ– प्रहरीलाई मन नपर्ने समाचार लेख्ने पत्रकारले पनि निर्भीक भएर कलम चलाउन पाउने अवस्था कहिले सुनिश्चित हुन्छ ?






















