काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई चाडपर्वको समयमा आम नागरिकको सेवा र सुरक्षालाई ध्यानमा राखी परिचालन हुन निर्देशन दिएका छन् ।
सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयबाट मंगलबार सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई महानिरीक्षक पौडेलले लाइभ भिडिओ स्ट्रिमिङमार्फत सो निर्देशन दिएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले चाडपर्वका बेला लोकमार्गहरूमा हुनसक्ने सवारी दुर्घटना, बजार तथा औद्योगिक क्षेत्रमा चोरी–लुटपाट, सीमापार अवैध चोरी–निकासी, पैठारी, राजस्व चुहावट र लागूऔषधको ओसारपसार जस्ता अवाञ्छित गतिविधिहरू नियन्त्रण गर्न ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना, २०८३’ लाई उच्च सतर्कताका साथ कार्यान्वयन गर्न निर्देशन दिए ।
सोही अवसरमा उनले नागरिकहरू हर्षोल्लासकासाथ चाडपर्व मनाइरहँदा सुरक्षाकर्मीहरूले भोक, प्यास, घाम, पानी र व्यक्तिगत सुख–सुविधाको परवाह नगरी अनवरत रूपमा कर्तव्यपथमा खटिनु नै राष्ट्रसेवकको वास्तविक पहिचान र धर्म भएको स्मरण गराए । हालै रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा मुलुकका विभिन्न भागमा भएका विपद्का घटनाहरूमा आफ्नो ज्यानको बाजी थापेर खोज, उद्धार र राहतमा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरूको उनले उच्च प्रशंसा गरेका छन् ।
यस्तै, उनले सीमा सुरक्षा, विपद् व्यवस्थापन, नागरिकको जीउधनको संरक्षण तथा आन्तरिक सुरक्षाकासाथै संयुक्त राष्ट्रसंघीय मिसनहरुमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै स्वदेशी तथा विदेशी भूमीमा चाडपर्वका समयमा आफ्नो कर्तव्यमा खटिने सम्पूर्ण राष्ट्रसेवकहरुको समर्पण, अनुशासन र सेवाभावप्रति कृतज्ञता व्यक्त गरे ।
संगठनभित्र भ्रष्टाचार, अनियमितता, स्वार्थको द्वन्द्व र अधिकारको दुरुपयोगमा संलग्नता कसैलाई पनि स्वीकार्य नहुने र सुशासन, पारदर्शिता तथा निष्पक्षतालाई कडाइका साथ पालना गर्नुपर्नेमा महानिरीक्षक पौडेलको जोड छ । सरकारको नीति तथा कार्यक्रम अनुसार संगठनलाई दक्ष, आधुनिक, प्रविधिमैत्री र परिणाममुखी विशिष्टीकृत सुरक्षा निकायका रूपमा विकास गर्न सबै तहका कमाण्डरहरूलाई निर्देशन दिए ।






















