रुपन्देही– रुपन्देहीमा १८ वर्षअघि गोली हानी हत्या गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
२०६५ साल मंसिर ६ गते राति रुपन्देहीको साविक धकधई गाविस–८, हाल रोहिणी गाउँपालिका–३ झुङ्गापरासीस्थित हुलाकी सडकखण्डमा चिनक राजभर भन्ने मुनिराम राजभरको गोली हानी हत्या भएको थियो ।
प्रहरीका अनुसार राजभरलाई पछाडिबाट गलबन्दीले हात बाँधी कन्चटमा गोली प्रहार गरी हत्या गरिएको थियो । घटनाको अनुसन्धानका क्रममा उक्त वारदातमा संलग्न रहेको आरोपमा रोहिणी गाउँपालिका–४ का दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा ६८ वर्षीय प्रह्लाद कुर्मी र ६० वर्षीय महेन्द्र प्रसाद कुर्मी छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बुधबार छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई २०८३ असोज २२ गते रुपन्देही जिल्ला अदालतमा पेश गरिएकोमा कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद थप भएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


विश्व खबर 



















