images
images
  • कांग्रेस सभापतिमा गगनलाई श्यामकृष्णको चुनौती

    काठमाडौं– नेपाली कांग्रेसको सभापतिमा गगन थापाले आफ्नो उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। थापाले मंगलबार साँझ सभापति पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

    पार्टी सभापतिमा थापालाई उनकै शिक्षक श्यामकृष्ण खड्गीले चुनौती दिएका छन्। सिद्धार्थ वनस्थली स्कुलमा गगन विद्यार्थी हुँदा उनकै शिक्षक रहेका खड्गीले पनि सभापति पदमा उम्मेदवारी दिएका छन्। उनी काठमाडौं कांग्रेसका क्षेत्रीय नेता हुन्।

    कांग्रेस सभापतिमा गगनको बलियो सम्भावना छ। तर उनलाई सर्वसम्मत हुनबाट खड्गीले चुनौती दिएका छन्।

    त्यस्तै वर्तमान महामन्त्री विश्वप्रकाश शर्माले वरिष्ठ उपसभापति पदका लागि मनोनयन दर्ता गराएका छन्। उनले पुष्पराज पौड्यालबाट वारिसका रूपमा उम्मेदवारी दर्ता गराएका छन्।

    कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पद नयाँ सृजना गरिएको हो। यो पदलाई सभापतिपछिको वरीयतामा राखिएको छ।

    अहिलेसम्म शर्माको एकल उम्मेदवारी परेको छ। उनलाई कसैले पनि चुनौती दिएको छैन।

    कांग्रेसको १५औँ महाधिवेशनमा मनोनयन दर्ताको क्रम जारी छ। निर्वाचन समितिले साँझ ७ बजेसम्म मनोनयनको समय तोकेको छ। कांग्रेसको २९१ केन्द्रीय कार्यसमितिका लागि एक हजार जति उम्मेदवार मैदानमा खडा हुने देखिएको छ।

    निर्वाचन समितिका अनुसार हालसम्म महामन्त्री पदमा ११ जनाको उम्मेदवारी परेको छ। कांग्रेसको संशोधित विधानअनुसार एक महिलासहित तीन महामन्त्री निर्वाचित हुनेछन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images