काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौंले ‘विशेष स्वीप अप्रेसन’ सञ्चालन गरेर पछिल्लो २४ घण्टामा विभिन्न मुद्दामा संलग्न १०१ जनालाई पक्राउ गरेको छ।
गएको २४ घण्टामा अदालतबाट दण्ड तथा सजाय तोकिएका कसुरदार र चालु मुद्दाका फरार ती प्रतिवादीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।
उनका अनुसार अपराध रोकथाम तथा नियन्त्रण गरी काठमाडौं उपत्यकामा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले परिसरले राजधानीका विभिन्न क्षेत्रमा उक्त अभियान सञ्चालन गरिएको हो।
अभियानका क्रममा सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालय, सार्वजनिकस्थल तथा यातायातका साधनमा सेवाग्राही र सर्वसाधारणमाथि हातपात, हुलहुज्जत तथा दुर्व्यवहार गर्ने, चोरी तथा लुटपाटमा संलग्न हुने, बिचौलियाका रूपमा काम गर्ने र गुण्डागर्दी जस्ता आपराधिक गतिविधिमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरीले जनाएको छ।
अपराध नियन्त्रण तथा सार्वजनिक स्थानमा हुने अवाञ्छित गतिविधि न्यूनीकरणका लागि प्रहरीले विभिन्न समयमा यस्ता अभियान सञ्चालन गर्दै आएको छ।


विश्व खबर 



















