images
images
  • भारतबाट बाहिरियो जापानी कम्पनी सेभेन-इलेभेन

    काठमाडौं – भारतमा सञ्चालनमा रहेका सेभेन-इलेभेनका सबै कन्भिनियन्स स्टोर सेप्टेम्बर महिनामा बन्द भएका छन्। कम्पनीको जापानी मातृ संस्था ‘सेभेन एन्ड आई होल्डिङ्स’ले मङ्गलबार यसको पुष्टि गरेको हो।

    स्थानीय सञ्चारमाध्यमका अनुसार भारतीय खुद्रा बजारमा बढ्दो प्रतिस्पर्धाका कारण कम्पनीलाई व्यवसाय सञ्चालन गर्न कठिनाइ भएको थियो। सेभेन-इलेभेन विश्वभर फैलिएको कन्भिनियन्स स्टोरको शृङ्खला हो। यस्ता स्टोरहरू प्रायः २४ घण्टा सञ्चालन हुन्छन् र छिटो खरिद गर्न सकिने खाजा, पेयपदार्थ तथा दैनिक उपभोगका अत्यावश्यक सामग्रीका लागि परिचित छन्।

    विश्वकै सबैभन्दा ठूलो कन्भिनियन्स स्टोर शृङ्खलाको स्वामित्व रहेको ‘सेभेन एन्ड आई होल्डिङ्स’ले एक विज्ञप्तिमा भनेको छ, ‘हामी पुष्टि गर्छौं कि मुम्बई र पुणेमा सेभेन-इलेभेन स्टोर सञ्चालन गर्ने हाम्रो मास्टर फ्रान्चाइजी रिलायन्सले ३० सेप्टेम्बरमा आफ्ना सबै ३१ स्टोर बन्द गरेको छ।’

    रिलायन्स रिटेलसँग इजाजतपत्र सम्झौता गरेपछि सेभेन-इलेभेनले अक्टोबर २०२१ मा मुम्बईमा आफ्नो पहिलो भारतीय स्टोर खोलेको थियो। ‘सेभेन एन्ड आई होल्डिङ्स’का प्रवक्ताका अनुसार पछि यसको विस्तार भएर करिब ६० स्थानसम्म पुगेको थियो।

    कम्पनीले स्टोर बन्द गर्नुको कारणबारे विस्तृत जानकारी दिन अस्वीकार गरेको छ। यद्यपि जापानका राष्ट्रिय दैनिक ‘निक्केई’ र ‘योमिउरी’ले स्थानीय भारतीय खुद्रा विक्रेतासँगको कडा प्रतिस्पर्धाका कारण कम्पनीलाई चुनौती परेको जनाएका छन्।

    ‘सेभेन एन्ड आई होल्डिङ्स’ले भने भारतबाट दीर्घकालीन रूपमा बाहिरिने निर्णय नगरेको जनाएको छ।

    ‘भारतमा ग्राहकलाई सेवा दिने हाम्रो चाहना कायमै छ। दीर्घकालीन रूपमा बजारमा आफ्नो उपस्थिति विस्तार गर्न हामी विभिन्न विकल्प खोज्नेछौं’, कम्पनीले भनेको छ।

    यसैबीच सेभेन-इलेभेनको प्रतिस्पर्धी जापानी कम्पनी ‘लसन’ले सन् २०२७ मा भारतमा आफ्नो पहिलो स्टोर खोल्ने योजना बनाएको छ। कम्पनीले सन् २०३० सम्ममा भारतमा करिब १०० स्टोर सञ्चालन गर्ने लक्ष्य राखेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images