images
images
  • सुशासनको मुखौटा कि १० करोडको खेल ? रास्वपा सांसद सुनारमाथि असुली धन्धाको गम्भीर आरोप

    काठमाडौं । आईजीपीले प्रहरीका मोजा खरिर देखि पोशाकमा भ्रष्टाचार गरेको भन्दै संसदको राज्य ब्यबस्था तथा सुशासन समितिको बैठकमा कुर्लिएका थिए- रास्वपा संसद खगेन्द्र सुनार ।

    झट्ट हेर्दा उनी चर्को र क्रान्तिकारी जस्ता देखिएपनि भित्र भित्रै भने उनको कर्तुत विस्तारै सार्वजनिक हुन थालेको छ। उनका चर्का र क्रान्तिकारी कुरा केवल आफ्नो कमजोरी ढाँकछोप गर्न हो भन्ने कुरा धेरै घटनाले प्रस्ट्याउन खोजेको छ ।

    तर यसबेला सांसद खगेन्द्र सुनारमाथि दलित आन्दोलनका नाममा स्वदेश तथा विदेशबाट १० करोड रुपैयाँभन्दा बढी रकम उठाएर हिनामिना गरेको गम्भीर आरोप लागेको छ । सुनार सामाजिक विभेद र सुशासनको नारा बोकेर उदाएका अभियन्ता हुन् । यही नाराबाट चर्चित बनेका उनी अचानक रास्वपा प्रवेश गरेर हाल सांसद छन् ।

    साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीमा सुनारलाई जोड्दै यस्तो आरोप लगाइएको हो । उजुरीमा उठाइएको रकमको व्यवस्थापन गिरीबहादुर सुनारले गर्ने गरेको दाबीसमेत गरिएको छ ।

    उजुरीमा खगेन्द्र सुनार, उनका परिवारका सदस्य तथा आफन्तका विभिन्न बैंक खातामा रकम जम्मा गरिएको र पछि गिरीबहादुरमार्फत व्यवस्थापन गरिएको आरोप लगाइएको छ ।

    कामना सेवा विकास बैंक, सिटिजन्स बैंक, महालक्ष्मी विकास बैंक, एनआईएमबी, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकलगायतका खाताको विवरणसमेत उजुरीमा उल्लेख छ ।

    उजुरीकर्ताले २०७८ चैतमा ८ लाख रुपैयाँ र सोही वर्ष पुसमा ७ लाख रुपैयाँ खगेन्द्र सुनारको बैंक खातामा जम्मा भएको दाबी गर्दै प्रमाणसमेत पेश गरेका छन् । उनीविरुद्ध दलित आन्दोलनका नाममा १० करोड रुपैयाँभन्दा बढी रकम उठाएर हिनामिना गरेको आरोप पनि छ ।

    सांसद बनाइदिने प्रलोभनमा ५० लाख

    उजुरीमा खगेन्द्र सुनारमाथि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनाइदिने भन्दै एक व्यक्तिसँग ५० लाख रुपैयाँ लिएको आरोपसमेत छ ।

    चक्रमान विश्वकर्माबाट उक्त रकम लिएको दाबी उजुरीमा गरिएको हो । रकम बैंकमार्फत वा नगद कसरी लेनदेन भएको हो भन्ने विषयमा उजुरीमा सबै स्पष्ट उल्लेख छैन ।

    प्रहरी बढुवामा पनि ३३ लाखको लेनदेन

    उजुरीमा प्रहरीको उच्च तहको बढुवासँग जोडिएको अर्को गम्भीर आरोप पनि छ । तत्कालीन डीआईजी डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गराउने भन्दै सुरुमा ५० लाख रुपैयाँ मागिएको र पछि ३३ लाख रुपैयाँ लिइएको दाबी उजुरीमा गरिएको छ । उक्त रकमको लेनदेनमा खगेन्द्र सुनार र गिरीबहादुर सुनारको संलग्नता रहेको उजुरीमा उल्लेख छ । डम्बरबहादुर विक एआईजीमा बढुवा भइसकेका छन् ।

    अदालतको प्रमाणमा पनि चलखेल

    खगेन्द्र सुनारविरुद्ध काभ्रे जिल्ला अदालतमा चलेको विद्युतीय कारोबारसम्बन्धी मुद्दालाई समेत उजुरीमा जोडिएको छ ।

    अदालतमा पेस गरिएको लामो अडियो प्रमाण हटाएर छोटो अडियो राखिएको र त्यसमा गिरीबहादुर सुनारको भूमिका रहेको आरोप उजुरीकर्ताले लगाएका छन् ।

    खगेन्द्र सुनारविरुद्ध विद्युतीय कारोबारसम्बन्धी मुद्दा चलेको र काभ्रे जिल्ला अदालतले उनलाई ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    खगेन्द्र सुनार दलित अधिकारको अभियानबाट राजनीतिक वृत्तमा चर्चामा आएका व्यक्ति हुन् । रुकुम पश्चिमको घटनापछि दलित अधिकारको मुद्दा उठाएर उनी चर्चामा आए ।

    सार्वजनिक लेखा समितिका सदस्यसमेत रहेका सुनारले संसदमा भ्रष्टाचार, अनियमितता र राज्यका निकायको जवाफदेहिताका विषय उठाउँदै आएका छन् ।

    खगेन्द्र सुनारसँग जोडिएका यी आरोप सार्वजनिक हुनुको मुख्य कारण साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध परेको उजुरी हो ।

    उजुरीमा गिरीबहादुरलाई खगेन्द्र सुनारको निकट व्यक्ति तथा आर्थिक कारोबार व्यवस्थापन गर्ने व्यक्तिका रूपमा उल्लेख गरिएको छ ।

    अब संसदीय सुनुवाइ समितिले उजुरीका विषयमा सम्बन्धित व्यक्तिसँग स्पष्टीकरण लिने र उपलब्ध प्रमाणका आधारमा आफ्नो प्रक्रिया अघि बढाउनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images