काठमाडौं – मधेस प्रदेश आँप, लिची र केरासहितका फलफूल उत्पादनका लागि उर्वर मानिए पनि महोत्तरीमा व्यावसायिक फलफूल खेतीले अपेक्षित गति लिन सकेको छैन । पछिल्ला वर्षमा आँप र लिचीका बगैँचाको क्षेत्रफल केही बढे पनि उत्पादन भने उत्साहजनक रूपमा बढ्न नसकेको किसान र कृषि विज्ञको भनाइ छ ।
बर्दिबास–५ चेरुका किसान होतराज घिमिरेका अनुसार बगैँचाको क्षेत्रफल बढे पनि रोग, सुक्खा र वर्ष बिराउने समस्याका कारण उत्पादन घट्दै गएको छ । उनले आफ्ना करिब २०० आँपका रुखमा पछिल्ला तीन वर्षदेखि उत्पादन निरन्तर घटिरहेको बताए ।
“बगैँचा त बढेका छन्, तर उत्पादन बढेन,” घिमिरेले भने, “खासगरी विभिन्न रोगव्याधि, सुक्खा र वर्ष बिराउने क्रमले आँप र लिचीको उत्पादन बढ्न नसकेको हो ।”
कृषि ज्ञान केन्द्र, जलेश्वरको तथ्याङ्कअनुसार महोत्तरीमा आँपखेतीको क्षेत्रफल भने विस्तार भइरहेको छ । आव २०८०/८१ मा चार हजार ५०० हेक्टरमा रहेको आँप बगैँचाबाट ४७ हजार २५० मेट्रिक टन उत्पादन भएको थियो । आव २०८१/८२ मा सोही क्षेत्रफलमा उत्पादन घटेर १३ हजार ४६० मेट्रिक टनमा सीमित भयो ।
आव २०८२/८३ मा आँपखेतीको क्षेत्रफल बढेर चार हजार ५६० हेक्टर पुगे पनि उत्पादन २९ हजार ७०० मेट्रिक टन मात्र भएको केन्द्रको तथ्याङ्क छ । चालु आवको अन्त्यसम्म आँपखेती करिब पाँच हजार हेक्टर पुग्ने अनुमान गरिएको छ ।
कृषि ज्ञान केन्द्रका सूचना अधिकारी तथा बागवानी विज्ञ अविरलकुमार महतोका अनुसार आँप उत्पादनमा वर्षैपिच्छे ठूलो अन्तर आउनुको प्रमुख कारण ‘अफ इयर’, सुक्खा–खडेरी र आँपको फूलमा लाग्ने मधुवा रोग हुन् । आँपमा प्रत्येक दुई–तीन वर्षमा ‘अफ इयर’ आउने भएकाले त्यस्तो वर्ष उत्पादनमा कमी हुने उनले बताए ।
मधेसको माटो र हावापानी आँपखेतीका लागि अनुकूल भए पनि बजारको अनिश्चितताका कारण किसान व्यावसायिक रूपमा आकर्षित हुन नसकेको विज्ञहरूको भनाइ छ । मधेसमा आँप रोप्न असारदेखि असोजसम्म तथा फागुन महिना उपयुक्त मानिन्छ ।
लिचीको क्षेत्रफल बढ्दै, उत्पादन पनि केही वृद्धि
महोत्तरीमा लिची खेतीको क्षेत्रफल पनि क्रमशः बढ्दै गएको छ । आव २०८०/८१ मा १०५ हेक्टरमा रहेको लिचीबाट एक हजार ५० मेट्रिक टन उत्पादन भएको थियो ।
आव २०८१/८२ मा लिचीखेती १२० हेक्टरमा विस्तार हुँदा उत्पादन एक हजार २२५ मेट्रिक टन पुगेको थियो । आव २०८२/८३ मा खेतीको क्षेत्रफल १४० हेक्टर पुगेको र उत्पादन एक हजार ४५० मेट्रिक टन भएको केन्द्रले जनाएको छ ।
चालु आवमा लिचीखेती करिब २०० हेक्टर पुग्ने अनुमान गरिएको छ। क्षेत्रफलसँगै उत्पादनमा समेत केही वृद्धि देखिए पनि रुखको सङ्ख्याको अनुपातमा उत्पादन अझै कम रहेको बागवानी विज्ञ महतोले बताए ।
बजार राम्रो भए पनि केराखेती विस्तार हुन सकेन
केराको बजार वर्षभरि नै राम्रो भए पनि महोत्तरीमा व्यावसायिक केराखेती भने अपेक्षित रूपमा विस्तार हुन सकेको छैन । बरु तीन वर्षअघिको तुलनामा खेतीको क्षेत्रफल घटेको तथ्याङ्कले देखाएको छ ।
आव २०८०/८१ मा ३०० हेक्टरमा केराखेती गरिएकोमा आव २०८१र८२ मा घटेर २८० हेक्टरमा सीमित भयो। आव २०८२/८३ मा केही बढेर २९० हेक्टर पुगेको थियो । चालु आवमा भने केराखेती करिब ४०० हेक्टर पुग्ने अनुमान गरिएको बागवानी विज्ञ महतोले बताए ।
केराको उत्पादन पनि पछिल्ला तीन आर्थिक वर्षमा खासै बढ्न सकेको छैन । आव २०८०/८१ मा चार हजार ७२९ मेट्रिक टन, आव २०८१/८२ मा चार हजार ४८० मेट्रिक टन र आव २०८२/८३ मा चार हजार ४९५ मेट्रिक टन केरा उत्पादन भएको तथ्याङ्क छ ।
मधेसका अधिकांश चाडपर्वमा आवश्यक मानिने केरा जिल्लाका बजारमा दैनिक बिक्री हुने गरे पनि बजारमा स्थानीय उत्पादनको हिस्सा कम रहेको व्यापारी बताउँछन्। बजारमा अन्य जिल्लाका साथै भारतबाट समेत केरा आउने गरेको छ ।
अनुकूल माटो, तर लगानी र बजारको चुनौती
महोत्तरीमा करिब ७१ हजार हेक्टर खेतीयोग्य जमिन रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यसबाहेक अन्य बाली राम्रो नहुर्कने पाखा तथा ढड्यान क्षेत्रमा समेत सामान्य मेहनत र व्यवस्थापनबाट आँप, लिची र केरा खेती गर्न सकिने विज्ञहरू बताउँछन् ।
घरायसी प्रयोजनका लागि भने जिल्लाका ग्रामीण क्षेत्रमा आँप, लिची र केरा लगाउने किसानको सङ्ख्या उल्लेख्य छ । थोरै जग्गा भएका किसानले समेत घरको करेसाबारीमा एक–दुईवटा आँप तथा लिचीका बोट र केही केराका झाङ लगाउने गरेका छन् ।
कृषि क्षेत्रमा लामो समय सरकारी सेवामा काम गरी अवकाश लिनुभएका बागवानी विज्ञ तथा भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलका अनुसार महोत्तरीको माटो र हावापानी फलफूल खेतीका लागि उपयुक्त भए पनि यसबाट नियमित आम्दानी र जीविकोपार्जनको भरोसा जगाउन नसक्दा व्यावसायिक खेती अपेक्षित रूपमा विस्तार हुन सकेको छैन ।
उनका अनुसार फलफूल खेती विस्तारका लागि उत्पादनसँगै बजारको सुनिश्चितता, रोग–कीरा व्यवस्थापन, सिँचाइ र किसानलाई प्राविधिक सहयोग आवश्यक छ । उत्पादन र बजारबीचको सम्बन्ध बलियो बनाउन सके महोत्तरीमा आँप, लिची र केराको व्यावसायिक खेती विस्तारको सम्भावना अझै उच्च रहेको उनको भनाइ छ ।


विश्व खबर 



















