images
images
  • बकैयाका सामुदायिक वनलाई पर्यटकीय गन्तव्य बनाइने

    काठमाडौं – मकवानपुरको बकैया गाउँपालिकाले आफ्नो क्षेत्रका सामुदायिक वनलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेको छ । गाउँपालिकाले सामुदायिक वनभित्र रहेका पर्यटकीय सम्भावनाको पहिचान गरी आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने तथा वनसँगको साझेदारीमा पर्यटन र वनभोजस्थल विकास गर्ने नीति लिएको हो ।

    गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीका अनुसार बकैयामा हाल ६० वटा सामुदायिक, निजी तथा कबुलियती वन रहेका छन् । ती वनको संरक्षणसँगै पर्यापर्यटन विकास गर्ने र स्थानीय समुदायको आयआर्जन बढाउने कार्यक्रम साझेदारीमा सञ्चालन गर्ने गाउँपालिकाको लक्ष्य छ ।

    उनका अनुसार सामुदायिक वनसँग सहकार्य गरी वन क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण, वनभोजस्थल विकास तथा अन्य आयआर्जनका गतिविधि सञ्चालन गरिनेछ ।

    गाउँपालिकाले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसारलाई समेत प्राथमिकता दिएको छ । पर्यटकीय क्षेत्रसम्म पुग्ने पदमार्ग तथा साइक्लिङ मार्गको पहिचान गरी पूर्वाधार निर्माण गर्ने र खोलाका किनारमा रहेका पदमार्गलाई नदी करिडोरका रूपमा विकास गर्ने योजना गाउँपालिकाले अघि सारेको छ ।

    बकैयाभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा जैविक पर्यटकीय क्षेत्रको प्रवर्द्धनका लागि वृत्तचित्र तथा पुस्तिका प्रकाशन गर्ने नीति गाउँपालिकाले लिएको छ । अम्बास गढी, लटलम्बेश्वर, गौतम बुद्ध पर्यटकीय पार्क, भीमसेन मन्दिर, धनेश्वर पार्क, भुवनेश्वरी, रुद्रस्थली र नाग झरनालगायतका क्षेत्रलाई पर्यटन प्रवर्द्धनको प्राथमिकतामा राखिएको छ ।

    धार्मिक पर्यटन प्रवर्द्धनका लागि पालिकास्तरीय ध्यान केन्द्र निर्माणमा सहजीकरण गर्ने योजना पनि गाउँपालिकाले बनाएको छ । त्यस्तै, सार्वजनिक–निजी साझेदारीमा परम्परागत कृषिलाई आधुनिक प्रविधिसँग जोडेर नमुना कृषि पर्यटन विकास कार्यक्रम सञ्चालन गर्न आवश्यक पहल गरिने जनाइएको छ ।

    स्थानीय संस्कृति र जीवनशैलीलाई पर्यटनसँग जोड्न तामाङ, घले, सिकारी सुनुवार, दनुवार, माझीलगायत आदिवासी जनजाति तथा खसआर्य समुदायमा आधारित घरबास (होमस्टे) कार्यक्रम सञ्चालनका लागि समेत आवश्यक पहल गरिने उपाध्यक्ष खत्रीले बताए ।

    गाउँपालिकाले प्राकृतिक, धार्मिक, सांस्कृतिक र जैविक विविधतालाई पर्यटनसँग जोडेर स्थानीय रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने लक्ष्य लिएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images