images
images
  • ब्राजिलको निर्वाचनः २५ अक्टोबरले दिने राष्ट्रपति वामपन्थी कि दक्षिणपन्थी ?

    काठमाडौं- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि अब निर्णायक दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणको निर्णायक भने दुबै उम्मेदवारले यसअघि पाउन नसकेको मतमा भर पर्नुपर्ने छ। सोझै भन्दा अबको राष्ट्रपति वामपन्थी कि दक्षिणपन्थी भन्नेमा प्रवेश गरेको छ। दुवै उम्मेदवारको लोकप्रियताले पनि यसमा केही हदसम्म काम गर्ने बताइएको छ।

    दोस्रो चरणको मतदान अक्टोबर २५ मा हुनेछ । त्यसमा बोल्सोनारो र लुलामध्ये जसले बढी मत प्राप्त गर्छ, उनै ब्राजिलको आगामी राष्ट्रपति बन्नेछ । पहिलो चरणमा करिब दुई प्रतिशत अंकको अन्तरले पछाडि परेका लुलाका लागि अबको चुनौती भनेको पराजित भएका उम्मेदवारका मतदातालाई आफ्नो पक्षमा तान्नु हो । बोल्सोनारोका लागि पनि यही गणित निर्णायक बन्नेछ ।

    चुनावअघि लुला केही सर्वेक्षणमा अगाडि देखिएका थिए र पहिलो चरणमै जित हासिल गर्न सक्ने अपेक्षा गरिएको थियो । तर बोल्सोनारोले ४७ प्रतिशत मत ल्याएर अपेक्षाभन्दा बलियो प्रदर्शन गरे । बोल्सोनारो पूर्वराष्ट्रपति जइर बोल्सोनारोका छोरा हुन् । जइर बोल्सोनारो २०२२ को निर्वाचनमा लुलासँग पराजित भएपछि भएको सत्ता उल्ट्याउने असफल प्रयासको मुख्य योजनाकार बनेको आरोपमा २७ वर्षको जेल सजाय भोगिरहेका छन् ।

    निर्वाचनमा उम्मेदवार बन्न प्रतिबन्ध लागेपछि उनले आफ्ना जेठा छोरा फ्लाभियोलाई उत्तराधिकारीका रूपमा अघि सारेका थिए । फ्लाभियोले चुनाव जितेमा आफ्ना बुबा तथा ८ जनवरी २०२३ मा सरकारी भवनमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न उनका समर्थकलाई आममाफी दिने प्रतिबद्धता जनाएका छन् । यसले चुनावलाई केवल आर्थिक र सामाजिक मुद्दामा सीमित नराखी लोकतन्त्र, न्यायपालिका र पूर्वराष्ट्रपतिको राजनीतिक भविष्यसँग समेत जोडेको छ ।

    अबको ५० प्रतिशतको गणित

    पहिलो चरणको परिणामलाई हेर्दा बोल्सोनारोको स्थिति बलियो देखिए पनि ४७ प्रतिशतबाट ५० प्रतिशतभन्दा माथि पुग्न बाँकी मत जुटाउनु उनका लागि स्वतः सहज छैन । पहिलो चरणमा पराजित भएका अन्य उम्मेदवारमध्ये केही दक्षिणपन्थी धारसँग नजिक छन् । त्यसैले उनीहरूको मतको ठुलो हिस्सा बोल्सोनारोतर्फ जाने सम्भावना देखिन्छ । बोल्सोनारोको लिबरल पार्टी (पिएल) ले गभर्नर, सिनेटर र संघीय सांसदमा पनि राम्रो प्रदर्शन गरेकाले दोस्रो चरणको अभियानमा संगठनात्मक शक्ति उनको पक्षमा रहने देखिएको छ ।

    तर लुलाका लागि पनि करिब ४५.२ प्रतिशत मत ठुलो आधार हो । उनी पहिलो चरणमै जित्ने अपेक्षामा थिए, तर अबको तीन सातामा उनले आफूलाई अझ फराकिलो गठबन्धनको उम्मेदवारका रूपमा प्रस्तुत गर्नुपर्नेछ । पहिलो चरणमा बोल्सोनारोलाई मत नदिएका तर दक्षिणपन्थी ध्रुवीकरणप्रति असहमत मतदातालाई आफ्नो पक्षमा ल्याउनु लुलाको मुख्य रणनीति हुन सक्छ ।

    लुलाको बलियो आधार ब्राजिलको गरिब उत्तरपूर्वी क्षेत्र, न्यून आय भएका मतदाता, महिला तथा क्याथोलिक समुदाय हुन् । उनले आफ्नो राजनीतिक विरासत सामाजिक कल्याण कार्यक्रमसँग जोड्दै आएका छन् । विशेषगरी ‘बोल्सा फामिलिया’ जस्ता कार्यक्रमले गरिब परिवारलाई आर्थिक सहयोग, बालबालिकाको शिक्षा र स्वास्थ्य सेवामा पहुँच बढाउन भूमिका खेलेको दाबी उनको पक्षले गर्दै आएको छ ।

    अर्कोतर्फ बोल्सोनारोको समर्थन दक्षिणी क्षेत्र, तुलनात्मक रूपमा धनी मतदाता र इभान्जेलिकल क्रिस्चियन समुदायमा बलियो छ । उनले अपराध नियन्त्रण, लागुऔषध तस्करीविरुद्ध कठोर नीति र सरकारी खर्च नियन्त्रणलाई चुनावी मुद्दा बनाएका छन् ।

    अपराध र सुरक्षाले कसलाई फाइदा ?

    ब्राजिलमा अपराध र असुरक्षा दोस्रो चरणको महत्त्वपूर्ण मुद्दा बन्नेछ । हत्या दरमा कमी आए पनि सडक अपराध, मोबाइल चोरी, लागुऔषध कारोबार र संगठित अपराध अझै ठुलो समस्या छन् । बोल्सोनारोले ब्राजिलका ठूला आपराधिक गिरोहलाई आतंकवादी संगठन घोषणा गर्ने र एल साल्भाडोरको शैलीमा उच्च सुरक्षा भएका जेल निर्माण गर्ने वाचा गरेका छन् ।

    लुलाले भने संगठित अपराधको आर्थिक सञ्जाल तोड्ने, हत्या अनुसन्धान सुधार गर्ने र जेल प्रणालीमा लगानी गर्ने नीति अघि सारेका छन् ।

    भ्रष्टाचारको मुद्दा पनि निर्णायक

    यस निर्वाचनमा भ्रष्टाचारले पनि महत््वपूर्ण भूमिका खेलेको छ । जेलमा रहेका बैंकर ड्यानियल भोर्कारोमाथिको ठुलो वित्तीय ठगी प्रकरणले राजनीतिक वृत्तका विभिन्न पक्षलाई तानेको छ । फ्लाभियोले आफ्ना बुबाको जीवनीमा आधारित फिल्म निर्माणका लागि भोर्कारोसँग आर्थिक सहयोग मागेको स्वीकार गरेका छन् । अर्कोतर्फ सर्वोच्च अदालतका न्यायाधीश अलेक्जान्द्रे दी मोराएससँग सम्बन्धित आरोपले लुला पक्षलाई पनि राजनीतिक दबाबमा पारेको छ ।

    अर्थतन्त्र र विदेश नीति

    व्यक्तिगत ऋणको उच्च बोझ र आर्थिक वृद्धिको सुस्तताले अर्थतन्त्रलाई पनि प्रमुख चुनावी मुद्दा बनाएको छ । लुलाले सामाजिक कार्यक्रमलाई निरन्तरता दिन जोड दिएका छन् भने बोल्सोनारोले सार्वजनिक ऋणमा सीमा, सरकारी खर्च कटौती र महत्त्वपूर्ण खनिज क्षेत्रमा लगानी बढाउने प्रस्ताव अघि सारेका छन् ।

    विदेश नीतिमा पनि दुई उम्मेदवारबिच फरक देखिन्छ । बोल्सोनारोको विजय भए ब्राजिल अमेरिकासँग अझ नजिकिने र लागुऔषध तस्करीविरुद्धको ‘सिल्ड अफ द अमेरिकाज’ गठबन्धनमा सहभागी हुने सम्भावना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिलो चरणको परिणामपछि निर्वाचन निकै प्रतिस्पर्धात्मक हुने बताए पनि बोल्सोनारोको प्रदर्शनलाई ‘ठुलो विजय’ भनेका छन् ।

    लुलाले भने आफ्नो अभियानमा राष्ट्रिय सार्वभौमिकतालाई प्रमुख मुद्दा बनाएका छन् र अमेरिकाले ब्राजिलको राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन् ।

    अब कसले बाजी मार्ला ?

    पहिलो चरणको परिणामले बोल्सोनारोलाई अग्रता दिएको छ, तर ५० प्रतिशतको लक्ष्य अझै सुनिश्चित भएको छैन । उनका लागि पहिलो चरणमा पराजित दक्षिणपन्थी तथा मध्यमार्गी उम्मेदवारका मत आकर्षित गर्नु निर्णायक हुनेछ । लुलाका लागि भने आफ्नो ४५.२ प्रतिशत आधार जोगाउँदै बोल्सोनारोविरोधी मतलाई एकीकृत गर्नु आवश्यक छ ।

    लुलाले परिणामपछि भने, ‘खेल भर्खर सुरु भएको छ । हामी अतिरिक्त समयमा छौँ ।’ बोल्सोनारोले भने आफूले तीन सातापछि निर्णायक विजय हासिल गर्ने विश्वास व्यक्त गरेका छन् ।

    त्यसैले २५ अक्टोबरको दोस्रो चरणमा प्रश्न केवल ४७ प्रतिशतका विरुद्ध ४५.२ प्रतिशत हुनेछैन । बरु पहिलो चरणमा बाँकी रहेका मतमध्ये कति प्रतिशत बोल्सोनारो र कति कति प्रतिशत लुलाको पोल्टोमा पर्छ भन्नेले परिणाम निर्धारण गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images