काठमाडौं– नेपालीमा एउटा भनाई छ – उम्लिएपछि पोखिन्छ। नेपाली राजनीतिमा रास्वापा बाँकेबाट निर्वाचित सांसद खगेन्द्र सुनारको जीवनमा लागु भएको छ।
केही महिना पहिला सिन्धुली प्रहरी कार्यालय भित्र एक ब्यक्तिको निधनको बिषयमा त्यहाँ पुगेका उनले एसपीलाई घिसार्ने भनाई बाट उम्लाइएको सुरुवात गरेका थिए । त्यहँबाट सुरु भएको उनको उन्माद अहिले महिलासँगको अडियो संवाद र त्यो संवादमा भए अनुसार अश्लिल भिडियो सम्म पुगेको छ।
सांसद तथा दलित अधिकारकर्मी भनिएका खगेन्द्र सुनार एक अहिले महिलालाई अश्लील भिडियोमार्फत ‘ब्ल्याकमेल’ गरी रकम असुली तथा ज्यान मार्ने धम्की दिएको गम्भीर आरोपमा मुछिएका छन्। बागमती प्रदेशकी पूर्वराज्यमन्त्री समेत रहेकी ती महिलालाई विवाहको प्रलोभन देखाएर अन्तरङ्ग भिडियो खिचेको र पछि सोही भिडियो सार्वजनिक गरिदिने धम्की दिएर मानसिक तथा शारीरिक यातना दिएको दाबीसहितका चारवटा अडियो संवाद सार्वजनिक भएका छन्।
सार्वजनिक अडियो संवादमा सांसद सुनारले ती महिलामाथि अत्यधिक तल्लो स्तरको गालीगलौज गर्दै आर्थिक बार्गेनिङ र ज्यान मार्ने चेतावनी दिएको सुनिन्छ। संवादको सुरुवातमै तनावका कारण महिलाले आफ्नो सामाजिक सञ्जाल (फेसबुक) अकाउन्ट डिएक्टिभेट गरेको प्रसंग उठ्छ। त्यसमा आक्रोशित हुँदै सुनारले तत्काल अकाउन्ट सुचारु गर्न दबाब दिँदै ‘आज तेरो रगत कसरी खान्छु, पख्’ भन्दै धम्क्याएका छन्। महिलाले डिएक्टिभेट गर्न खोजे पनि नभएको स्पष्टीकरण दिँदा समेत उनले साँझ आफू पुग्दासम्म अकाउन्ट नखुले परिणाम भोग्न तयार रहन चेतावनी दिएका छन्।
धम्कीपूर्ण संवाद यतिमै सीमित छैन। सुनारले ती महिलालाई तत्काल आफ्नो पद र संसदीय दलबाट राजीनामा दिन निर्देशन दिएको अडियोमा सुनिन्छ। उनले ‘म पुग्दासम्म राजीनामा दिएर तेरो संसदीय दललाई बुझा, तेरो काल नजिक आइराखेको छ’ भन्दै थर्काएका छन्। जवाफमा भयभीत स्वरमा महिलाले ‘हजुरले मेरो नाङ्गो भिडियो बनाउनुभयो, मैले सहेँ, तर मलाई किन यसरी टर्चर गरिरहनुहुन्छ?’ भन्दै अनुनय गरेकी छन्। महिलाले आफूलाई ‘श्रीमती’ भन्दै सधैँ कुटपिट गर्ने, मार्ने–काट्ने धम्की दिने र रकम नदिए थप यातना दिने गरेको गुनासो अडियोमै पोखेकी छन्।
अडियोको अर्को खण्डमा मोटो रकमको बार्गेनिङ प्रस्ट सुनिन्छ। सुनारले साँझ ८ बजेभित्र जसरी पनि रकम तयार पार्न कडा ताकेता गरेका छन्। महिलाले ‘चुप लागे पनि कराउनुहुन्छ, पैसा दिन्नँ भन्दा झन् कराउनुहुन्छ’ भन्दै असहायता प्रकट गर्दा सुनारले कुनै दोहोरो प्रश्न नगर्न चेतावनी दिन्छन्। अन्ततः बदनाम हुने डरले महिलाले ‘हस्, पैसा नै चाहिएको भए म जसरी पनि रेडी गर्छु’ भनेपछि सुनार अट्टहास गर्दै हाँसेका छन्। महिलाले रुँदै ‘मैले के बिगारेकी थिएँ र यस्तो गर्नुहुन्छ?’ भनी सोद्धा सुनारले मानवीय संवेदनाको सीमा नाघ्दै ‘फिल्ममा हिरोको आमा वा हिरोइनलाई बलात्कार गर्दा भिलेनलाई जस्तो आनन्द आउँछ, मलाई पनि त्यस्तै भइरहेको छ’ भन्ने क्रूर अभिव्यक्ति दिएका छन्।
यस घटनाका सम्बन्धमा बागमती प्रदेशका तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले समेत उक्त महिलाले विगतमै घरेलु हिंसा र कुटपिटबारे आफूसँग गुनासो गरेको पुष्टि गरेका छन्। पाण्डेका अनुसार मुख्यमन्त्री बहाल रहँदा ती महिलाले ‘लोग्नेले कुटपिट ग¥यो’ भन्दै उजुरी गरेकी थिइन्। तत्कालीन समयमा महिला सुरक्षा गार्डसँग सोधपुछ गर्दा उनीहरूबीच चरम विवाद र तनावपूर्ण सम्बन्ध रहेको पुष्टि भए पनि पीडक व्यक्ति अहिलेका सांसद खगेन्द्र सुनार नै हुन् भन्नेबारे आफू अनभिज्ञ रहेको पाण्डेको भनाइ छ।
करोडौँको शंकास्पद बैंकिङ कारोबार
सार्वजनिक जीवनमा सुशासन र भ्रष्टाचार विरोधी भाषण गर्दै आएका सांसद सुनारको वित्तीय कारोबारसमेत अस्वाभाविक र सन्दिग्ध देखिएको छ। सिटिजन्स बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), महालक्ष्मी विकास बैंक तथा कामना सेवा विकास बैंकमा रहेका उनका खाताहरूको विस्तृत विवरणले ठूलो परिमाणमा अपारदर्शी कारोबार भएको देखाउँछ।
प्राप्त बैंकिङ अभिलेख अनुसार सुनारको खातामा बेलायत, जापान, भारत लगायतका देशहरूबाट नियमित रूपमा रेमिट्यान्स तथा सिधै ट्रान्सफरमार्फत लाखौँ रुपैयाँ भित्रिएको छ। उदाहरणका लागि, सिटिजन्स बैंकको सुर्खेत शाखामा रहेको खाता (नं. ०३३०१०००००४४३०१६) मा छोटो अवधिमै १९ लाख ३६ हजार रुपैयाँभन्दा बढी जम्मा भएको र १७ लाख ५१ हजार रुपैयाँभन्दा बढी खर्च÷भुक्तानी भएको देखिन्छ। जसमा बेलायतबाट भिम बिक, सिर्जना बस्नेत, मिना कार्की तथा जापानबाट मुना सुनार लगायतका व्यक्तिहरूले ठूलो रकम पठाएको विवरण छ।
त्यसैगरी महालक्ष्मी विकास बैंकको खाता (नं. ०८१००६००४४५८०१०००००१) मा २९ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। यी खाताहरूमा स्रोत नखुलेका नगद रकम पटक–पटक जम्मा हुने, विभिन्न व्यक्तिहरूका नाममा तत्कालै चेक तथा डिजिटल वालेट (ईसेवा, कनेक्ट आईपीएस) मार्फत स्थानान्तरण हुने गरेको देखिएको छ। सामान्य आम्दानीको स्रोत नभएका व्यक्तिका नाममा विभिन्न बैंकहरूबाट यति ठूलो परिमाणमा रकम ओसारपसार हुनुले ‘ब्ल्याकमेलिङ’ तथा अवैध असुलीको सञ्जाल हुनसक्ने आशंकालाई थप बल पु¥याएको छ।
दलित अधिकारको आन्दोलनलाई भ¥याङ बनाएर संसद्सम्म पुगेका जिम्मेवार जनप्रतिनिधिमाथि अश्लील भिडियो दुरुपयोग, आपराधिक धम्की, महिलामाथि चरम हिंसा र वित्तीय अपचलनजस्ता गम्भीर फौजदारी कसुरको आरोप लागेपछि अब उनको दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कानुनी निकायले कस्तो कदम चाल्छन् भन्ने विषय चौतर्फी चासोको केन्द्र बनेको छ।





















