images
images
  • १ अर्ब रुपैयाँका स्वास्थ्य उपकरण थन्क्याएर वीर र ट्रमा सेन्टरमा अनियमित नयाँ खरिद

    काठमाडौं– वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १ अर्ब रुपैयाँभन्दा बढीको उपकरण बिग्रिएर थन्केका छन् । ती उपकरण मर्मत सम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौँ रुपैयाँका नयाँ उपकरण भने खरिद गरिरहेको पाइन्छ ।

    काठमाडौंको वीर अस्पतालको नयाँ ७ तले भवनमा ह्विल चेयर वा बेड गुडाउँदै तलमाथि लैजाने र्‍याम्प छ । ह्विल चेयर प्रयोगकर्ता र सिँढी उक्लिन समस्या हुनेहरूलाई ओहोरदोहोर गर्न, अस्पतालका ट्रली तलमाथि ओसार्न प्रयोग हुनुपर्ने यो र्‍याम्प कहिल्यै खुल्ला हुँदैन ।

    हरेक तलामा ताला लागेका सिसाको ढोकाबाट भित्र चियाएर हेर्दा त्यो र्‍याम्पमा अस्पतालका स्वास्थ्य उपकरणसहितका सामान थुपारेको देखिन्छ । “अस्पतालका बिग्रिएका उपकरण राख्ने ठाउँ नभएपछि ‍र्‍याम्पमै राख्न बाध्य भयौँ,” वीर अस्पतालका निर्देशक डा। विकास नेपाल स्वीकार गर्छन् ।

    investigation-1719398034.pngर्‍याम्पमा केही यस्ता उपकरण पनि थन्क्याइएका छन्, जुन सामान्य मर्मत गरेर सञ्चालन गर्न सकिन्छ । तर अस्पतालले ती उपकरणको मर्मत चासो दिएको छैन । यसरी बिग्रिएका स्वास्थ्य उपकरण नबनाउने वीर अस्पताल एक्लो होइन । वीर अस्पतालको र्‍याम्पमा जस्तै ट्रमा सेन्टरका करिडोर, छत र खुला ठाउँमा बिग्रिएका उपकरण भण्डार गरिएको छ । महालेखा परीक्षकको प्रतिवेदनमा पनि भनिएको छ, “अस्पतालको स्थलगत निरीक्षण गर्दा अस्पतालका करिडोर, छत र खुल्ला स्थानमा उपकरणहरू असुरक्षित रूपमा देखिन्छन् ।”

    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका यी दुई अस्पतालमा १ अर्ब रुपैयाँभन्दा धेरै मूल्य बराबरका स्वास्थ्य उपकरण बिग्रिएर थन्केका छन् । मर्मतसम्भारमा बेवास्ता गर्ने अस्पताल प्रशासनले बर्सेनि करोडौं रुपैयाँका नयाँ उपकरण भने खरिद गरिरहेका छन् ।

    नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नालिज्म नेटवर्क (निमजिन) ले सूचनाको हक प्रयोग गरी प्राप्त गरेको विवरणअनुसार वीर अस्पतालमा २ सय ४९ वटा र ट्रमा सेन्टरमा १ सय ५३ वटा उपकरण बिग्रिएर थन्किएका छन् । निमजिनले यो विवरण स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबाट गत असार मसान्तमा पाएको हो । विवरणमा उल्लेख भएका उपकरणको अहिलेको मूल्य पत्ता लगाउन निमजिनले फरक-फरक अस्पतालमा कार्यरत ३ जना बायोमेडिकल इन्जिनियरको सहयोग लिएको छ । ती ३ जना बायोमेडिकल इन्जिनियरले दिएको औसत मूल्यलाई आधार मान्दा दुवै अस्पतालमा थन्किएका उपकरणको कुल मूल्य १ अर्ब ६ करोड ९६ लाख ५५ हजार रुपैयाँ हुन आएको हो । जसमध्ये ट्रमा सेन्टरको उपकरणको मूल्य मात्रै ५६ करोड ५० लाख ८० हजार र वीर अस्पतालका उपकरणको मूल्य ५० करोड ४५ लाख ७५ हजार हुन आउँछ ।

    ट्रमा सेन्टरमा रहेका ६ सय ९३ उपकरणको सूची ३१ पेजको छ । जसमा चालू अवस्थामा रहेको ५ सय ५० वटा र बिग्रिएका १ सय ५३ वटा उपकरणको विवरण छ । यो विवरणमा समावेश छ- इन्ट्राअपरेटिभ सिटी ।

    नेपाल सरकारको अनुदानमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई असोज २८, २०७९ मा हस्तान्तरण गरेको २० करोड ४० लाख रुपैयाँमा यो मेसिन र नेभेगिसन उपकरण ४ वर्ष पनि नपुग्दै बिग्रिएर बसेको छ । महालेखा परीक्षकको प्रतिवेदनमा पनि यो मेसिनको बारेमा लेखिएको छ, “उक्त मेसिन बिग्रिएकाले सञ्चालन भएको देखिएन ।”

    चिकित्सकका अनुसार यो शल्यक्रिया गरिरहेकै बेलामा सिटी स्क्यान गर्ने मेसिन हो । यसले शल्यक्रिया गरिरहेका बिरामीको शरीरको भित्री भाग देखाउँछ । मस्तिष्क, मेरुदण्ड, हड्डीलगायत उच्चस्तरको शल्यक्रियामा यो उपकरण आवश्यक हुन्छ ।

    Auditor General report on intraoperative NIMJN 1791612696

    महालेखाको प्रतिवेदनको अंश ।

    भारत सरकारले अनुदानमा उपलब्ध गराएका २ करोड ५१ लाख ३२ हजार रुपैयाँ पर्ने भेन्टिलेटर, ८६ लाख १० हजार रुपैयाँ बराबरको सी-आर्म मेसिन, पुस १५, २०७३ मा प्राप्त १ करोड रुपैयाँ पर्ने ब्याक म्यान कल्चर काउन्टरसहितका मेसिन पनि बिग्रिएर थन्किएका छन् ।

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ९९ को उपनियम ४ को १ मा मर्मतसम्भार गर्नुपर्ने सम्पत्ति तथा जिन्सी मालसामान ३ महिनाभित्र मर्मतसम्भार गरिसक्नुपर्ने व्यवस्था छ ।

    ट्रमा सेन्टरमा एउटा यस्तो उपकरण पनि बिग्रिएर बसेको छ, जुन उपकरण चलाउने जनशक्ति अस्पतालमा छैनन् र अस्पतालले त्यो उपकरण कहिल्यै प्रयोगमा पनि ल्याएन । त्यो हो- क्याथ ल्याब मेसिन । “मुटुको उपचार गर्ने उपकरण ट्रमा सेन्टरमा आवश्यक नै छैन,” सेन्टरका निर्देशक डा। रुद्रप्रसाद मरासिनीले भने, “मेसिन मात्रै छ, दरबन्दी नै छैन ।”

    प्रयोग नै नआएका कारण यो उपकरणमा अहिले ब्याट्रीको समस्या देखा परेको छ । नसासम्बन्धी रोगको पहिचान गरी सुरक्षित र भरपर्दो उपचार गर्ने डिजिटल सवस्ट्राक्सन एन्जियोग्राफी प्रविधिको क्याथल्याब मेसिन अनुदानबाट प्राप्त भए पनि जनशक्ति अभावले सञ्चालन हुन नसकेको हो । “ट्रमा सेन्टरले करोडौंको उपकरण प्रयोगमा ल्याउन सकेको छैन,” महालेखाको प्रारम्भिक प्रतिवेदनमा भनिएको छ, “यी सामग्री प्रयोगमा ल्याउनुपर्ने अन्यथा वैकल्पिक व्यवस्था गर्नुपर्ने देखिन्छ ।”

    आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ९९ को उपनियम ५ मा कार्यालयको प्रयोगमा नआउने मालसामान भए तालुक कार्यालयमा प्रतिवेदन पेस गरी निर्देशन प्राप्त भएपछि अर्को सरकारी कार्यालयमा हस्तान्तरण गर्न सकिने व्यवस्था छ ।

    यो उपकरण हस्तान्तरण गर्न मन्त्रालयमा पत्राचारसमेत गरिसकेको तर कसैले पनि यो उपकरण लैजान इच्छा नदेखाएको डा। रुद्रले बताए । “सञ्चालन गर्न ४र५ करोड रुपैयाँ खर्च हुन्छ । त्यसैले अरु अस्पतालले पनि लैजान चाहेका छैनन्,” उनले भने ।

    मर्मत गर्न नसकिने र प्रयोगमा पनि आउने सामान खाली भएको जुनसुकै ठाउँमा राख्नुपरेको ट्रमा सेन्टरका निर्देशक डा। रुद्रले बताए । पुरानो उपकरणको लिलामी बिक्री गर्न मूल्यांकन र लागत अनुमान निकालेर तीन पटक सूचना निकाल्दा पनि कसैले टेन्डरमा निवेदन नदिएको उनले बताए । “तिहार अघिसम्म लिलामी गर्ने उपकरण हटाइसक्छौँ,” उनले भने ।

    वीर अस्पतालका निर्देशक डा। विकासले कार्यभार भर्खर सुरु गरेकोले प्राथमिकतामा र्‍याम्प सञ्चालनमा ल्याउने रहेको बताए ।

    ब्याट्रीकै समस्याले पनि चल्दैनन् उपकरण

    NMJN0 e1791788619482 NMJN1 e1791788641916

    निमजिनले स्वास्थ्य मन्त्रालयबाट प्राप्त गरेको ट्रमा सेन्टरको उपकरणको विवरणमा ब्याट्री र बोर्डमा समस्या भएकाले पनि केही उपकरण थन्किएको उल्लेख छ । थन्किएकामा २८ वटा त भेन्टिलेटर मात्रै छन् ।

    कोरोना भाइरस संक्रमणको बेला खरिद गरेको र अनुदानमा आएका भेन्टिलेर प्रयोगमा नआएकाले बिग्रिएको निर्देशक डा। रुद्रले बताए । “भेन्टिलेटर नै नचाहिने बिरामीलाई राख्ने कुरा भएन । प्रयोग नभएपछि बिग्रिएको हो,” उनले भने ।

    बिग्रिएका अन्य उपकरणमा पेसेन्ट मोनिटर २४, एनेस्थेसिया मेसिन १२, इसीजी मेसिन ९ वटा, सिरिन्ज तथा इन्फ्युजन पम्प १२ वटा, सी-आर्म ६ वटा, यूएसजी मेसिन ६ वटा, एक्सरे मेसिन २ वटा, फ्लोरोस्कोपी १ सहित ल्याबका र र शल्यक्रियाका उपकरण बिग्रिएको सूची छन् । कम्प्युटर टेमोग्राफी, मिर्गौलाको पत्थरी फुटाउन प्रयोग गरिने लिथोट्रिप्सी, अल्ट्रासाउन्ड, इन्डोस्कोपी मेसिन पनि बिग्रिएका छन् ।

    ट्रमा सेन्टरका निर्देशक डा। रुद्र मर्मत गर्न मिल्ने उपकरणको सूची बनाएर हरेक वर्ष मर्मत गरिररहेको दाबी गर्छन् । “मर्मतमा चासो नदिएको भन्ने होइन, यतिसम्म कि सीटी स्क्यान बिग्रिएपछि भारतबाट सामान ल्याएर १५ दिनमै बनाएका पनि छौँ,” उनले भने ।

    ट्रमाको जस्तै वीर अस्पतालमा बिग्रिएको उपकरणको सूची पनि लामै छ । भेन्टिलेटर नै २६ वटा बिग्रिएका छन् । प्यासेन्ट मनिटर ३८ वटा, हेमोडायलासिस मेसिन ७ वटासहित लिथोट्रिप्सी मेसिन पनि बिग्रिएर थन्किएका छन् । भेन्टिलेटरको अक्सिजन सेन्सर बिग्रिएको, लिक टेस्ट फेल भएको, टच स्क्रिन फेर्नुपर्ने, सिरिन्ज इन्प्mयुजन पम्पको एलन्जर ड्राइभ, पावर सप्लाई बोर्ड र अन्य पार्टस् बिग्रिएकाले काम नगरेको विवरणमा उल्लेख छ ।

    भेन्डरको असहयोग अर्को कारण

    निमजिनलाई प्राप्त विवरणमा ल्याब, अप्रेसन थिएटरका कतिपय उपकरण बिक्रेता कम्पनी अर्थात् भेन्डरको सहयोग नभएका कारण मर्मत गर्न नसकिएको उल्लेख छ । वीर अस्पतालमा मात्रै ४० वटा उपकरण भेन्डरको सहयोग नभएकाले मर्मत हुन सकेका छैनन् ।
    लिथोट्रिप्सी मेसिन, ओटी र ओपिडीमा प्रयोग हुने सी–आर्म, स्तन क्यान्सरको पहिचान र जाँच गर्ने म्यामोेग्राफी मेसिन, पेट र पाचन प्रणालीको इन्डोस्कोपी गर्दा भिडियो दृश्य हेर्न प्रयोग गरिने इन्डोस्कोपी भिडियो प्रोसेसर, नसा र मांसपेशी जाँचका लागि प्रयोग हुने ईएमजी मेसिनलगायतका उपकरण छन् ।

    त्यस्तै, पिसाब प्रणाली र मूत्राशयको चापरक्षमता जाँच गर्ने युरोडाइनामिक एनालाइजर, आईसीयू र ओटीका गम्भीर बिरामीको रगतमा अक्सिन, कार्बन डाइक्साइड र पीएच लेभल जाँच गर्ने ब्लड ग्यास एनालाइजर, शल्यक्रिया गर्दा मासु काट्दा रगत बग्न रोक्न प्रयोग हुने इलोक्ट्रोसर्जिकल युनिटको कौटरी मेसिन पनि भेन्डरको पर्खाइमा छन् । “उच्च मूल्यका मेसिनहरू वारेन्टी अवधि समाप्त भएपछि वार्षिक मर्मत सम्झौताको अभावमा र आवश्यक पार्टपुर्जा समयमै उपलब्ध नहुँदा लामो समयदेखि थन्किएको छ,” महालेखाको प्रतिवेदनमा पनि भनिएको छ ।

    उपकरण खरिद गर्दा मर्मत गर्ने जिम्मेवारी पनि त्यही बिक्रेताको हुनेसम्मको सर्त राखेपछि मात्रै उपकरण नियमित मर्मत हुने सार्वजनिक खरिदविज्ञ सुरेश प्रधानले बताए । “अहिले त खरिद प्रणालीमा सर्त नराख्ने र बिक्रेता कम्पनी तथा सप्लायर्सलाई जिम्मेवार नबनाउँदा समस्या भएको हो,” उनले भने ।

    वीर अस्तपालका निर्देशक डा। विकासले बिग्रिएका कतिपय उपकरण मर्मतका लागि आवश्यक पाटपुर्जा उपलब्ध गराउन भेन्डरको सहयोग आवश्यक रहेको बताए । जुन कम्पनीको उपकरण खरिद गरेको हो, त्यसको मर्मतमा त्यही कम्पनीको सामान नै चाहिने अवस्थामा भेन्डरलाई कम पैसामा उपलब्ध गराउन बार्गेनिङ पनि भइरहेको उनले बताए । “तत्काल बनाउनुपर्ने उपकरणको सूची तयार गरिसकेका छौँ,” उनले भने, “मेसिन बनाउन सकेनौँ भने सेवा कम हुन्छ । रेभन्यु पनि घट्छ । त्यसैले नयाँ मेसिन किन्नेभन्दा पनि पुरानो मर्मतलाई बढी प्राथमिकतामा राखेका छौँ ।”

    मर्मतमा बेवास्ता, अनियमित खरिद निरन्तर

    NMJN2 NMJN3 e1791788710578

    बिग्रिएका उपकरण नबनाउने ट्रमा सेन्टरले गत आर्थिक वर्षमा ४ करोड ३० लाख र वीर अस्पतालले २ करोड २६ लाख रुपैयाँका उपकरण बिना प्रतिस्पर्धा सोझै खरिद गरेका छन् । बिग्रिएका उपकरण यततत्र छाडेर नयाँ उपकरण खरिदको प्रक्रिया नै मिचेको विषयलाई महालेखाले अनियमितता भनेर औंल्याएको छ ।

    टेमोथेरापी मेसिन, भेन्टिलेर, डायलासिस मेसिन र मोडुलर ओटी सेटजस्ता स्वास्थ्य उपकरण खरिद गर्दा गुरुयोजना तयार नगरेको महालेखाको आरोप छ । “उपकरण जडान गरिने स्थानको उपलब्धता, आवश्यकता विद्युतीय पूर्वाधार र मेसिन सञ्चालन गर्ने विशेषज्ञ जनशक्तिको पूर्व सुनिश्चितताबिना नै खरिद प्रक्रिया अघि बढाएको देखिन्छ,” महालेखाको प्रतिवेदनमा भनिएको छ, “खरिद योजनारगुरुयोजना स्वीकृत गराई स्वास्थ्य उपकरणको उपयोगी आयु र वारेन्टीपश्चातको वार्षिक मर्मतलगायतका सर्त योजनामा समावेश नगर्दा उपकरणहरू सामान्य प्राविधिक समस्या देखिनासाथ प्रयोगमा आउन नसकेको अवस्था छ ।”

    वीर अस्पतालमा खरिद योजनारगुरुयोजना नबनाई पछिल्लो ३ वर्षमा १ सय ३ वटा टेन्डर आह्वान गरी उपकरण र स्वास्थ्य सामग्री खरिद भएको छ । खरिद भएका उपकरणको अध्यावधिक विवरणसमेत अस्पतालमा पाउन मुस्किल रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

    “उपलब्ध भएका स्वास्थ्य उपकरणको समयमै मर्मत सम्भार गरी सञ्चालन गर्न र आवश्यक जनशक्तिको व्यवस्थापन गरेर सेवा प्रभावकारी ल्याउन हामीले सुझाव दिएका छौँ,” महालेखाका प्रवक्ता श्रीकुमार राईले भने ।

    भएका सामान मर्मतमा बेवास्ता गर्ने तर नयाँ खरिदमा तदारुकता देखाउनुको पछाडि प्राविधिक समस्या नभई नयाँ खरिदबाट पाइने कमिसन र व्यक्तिगत लाभ रहेको महालेखा परीक्षकको प्रतिवेदन र खरिद विज्ञहरूको निष्कर्ष छ । “प्रतिस्पर्धा नगरी सोझै खरिद गर्नुलाई नियमित मानिँदैन,” सार्वजनिक खरिदविज्ञ सुरेश प्रधानले भने, “अझ एउटा मात्रै कम्पनीको उपकरण खरिद गर्ने गरी स्पेसिफिकेसन हुनु भनेको त अनियमितता नै हो ।”

    उपकरण मर्मत नहुँदा प्राविधिक वा बजेटको समस्या होइन नयाँ उपकरण खरिद गर्दा पाइने कमिसन र अनियमिततालाई लेखा परीक्षणमा प्रश्नसमेत उठाएको छ । “प्रतिस्पर्धा गरेर खरिद गर्नुपर्नेमा टुक्र्याएर खरिद भएकोमा अनियमिताको आशंका गर्ने ठाउँ प्रशस्त हुन्छ,” सार्वजनिक खरिदविज्ञ सुरेशले भने । यतिसम्म ट्रमा सेन्टरले १ करोड ७० लाख ३५ हजार रुपैयाँ बराबरका ‘इम्प्लान्ट’ प्रतिस्पर्धाबिनै खरिद गरेको छ ।

    NMJN4 NMJN5

    ट्रमा सेन्टरका व्यवस्थापनले आर्थिक वर्ष २०८१र८२ मा २ करोड ६० लाख १५ हजार १ सय ७६ रुपैयाँको मेडिकल उपकरण नियमविपरीत खरिद गरेको महालेखा परीक्षकको प्रतिवेदन, २०८३ मा उल्लेख छ । सार्वजनिक खरिद ऐन २०६३ को दफा ८ बमोजिम प्रतिस्पर्धा सीमित हुने गरी खरिद गर्न नहुने व्यवस्था छ ।

    त्यस्तै, सार्वजनिक खरिद नियमावली २०६४ को नियम ८५ को ४ मा सार्वजनिक निकायले १ लाख रुपैयाँभन्दा बढी रकमको सामान सोझै खरिद गर्दा कम्तीमा तीनवटा आपूर्तिकर्ताबाट लिखित रूपमा दरभाउ वा प्रस्ताव माग गरी खरिद गर्नुपर्ने हुन्छ ।

    सोझै खरिद गर्दा पनि एक आर्थिक वर्षमा एउटा आपूर्तिकर्ताबाट सीमाभन्दा बढी खरिद गर्न नहुने उल्लेख छ । तर ट्रमा सेन्टरले यो नियमविपरीत गतवर्ष प्रतिस्पर्धाबिनै साढे २ करोडको सामान खरिद गरेको हो ।

    अर्वा नेपाल प्रालि, पल्पसा इन्टरप्राइजेज, आरोग्य मेडिटेक प्रालि, दिव्यम कन्सनसँग दुई पटक सामान खरिद गरेको छ । पल्पसा इन्टरप्राइजेसँग ट्रमा सेन्टरले एसी खरिद गरेको छ । तर सञ्चालक राजेश आचार्यले ट्रमा सेन्टरका कर्मचारीले आफ्नो फर्मको बिल मात्रै प्रयोग गरेको बताए ।

    “म मेडिकल उपकरणको व्यापार गर्छु । मेरो चिनजानको साथीले एसी जडानको काम गर्नुुहुन्छ । उहाँले मेरो फर्मको बिल प्रयोग गर्नुभएको हो । खरिदको बारेमा मलाई अरू केही थाहा छैन,” उनले भने, “तीनवटा कोटेसन हाल्दा मेरो फर्म छनोट भएर नै त बिल काटिएको होला ।” राजेशका साथी तीर्थबहादुर कार्कीलाई पनि हामीले सम्पर्क गर्‍यौँ । उनले आफूहरू एसी जडान गर्ने प्राविधिक मात्र भएकाले खरिद प्रक्रिया जानकारी नभएको बताए ।

    अर्वा नेपाल प्रालिबाट ट्रमा सेन्टरले पहिलो पटक सर्जरी सामान ९ लाख ६४ हजारको खरिद गरेको छ । त्यस्तै दोस्रो पटक पनि २ लाख १४ हजारको गरी ११ लाख ७९ हजारको सामान बिनाप्रतिस्पर्धा खरिद गरेको छ ।

    यसैगरी, आरोग्य मेडिटेक प्रालिलाई पहिलो पटक ९ लाख ७२ हजार र दोस्रो पटक पनि ९ लाख ७२ कै त्यही सामान खरिद गरेको छ ।

    दिव्यम कन्सनसँग पनि दुई पटक खरिद गरेको छ । दिव्यम कन्सनकी सञ्चालक एञ्जु मानन्धरले तीनवटा कोटेसन राख्दा छनोट भएर आफूले सामान आपूर्ति गरेको बताइन् । “मैले दुई पटक सामान बिक्री गरेँ,” उनले भनिन्, “प्रक्रिया पूरा गर्ने काम हाम्रो होइन । अस्पतालको हो ।”

    वर्षभरि चाहिने सामान टेन्डर खरिद गर्दा अपुग र तत्काल आवश्यक पर्ने सामग्री साझै खरिद गर्नुको विकल्प नभएको ट्रमा सेन्टरका निर्देशक डा। रुद्र बताउँछन् । यसअघि खरिदमा नियम र प्रक्रिया पूरा नगरेको जिम्मेवारी आफूले नलिने उनले बताए । “जसले खरिद गरेको उसले त्यही अधिकारी जिम्मेवारी हुन्छ,” डा। रुद्रले भने ।

    विज्ञहरू सोझै खरिद गर्दा अनियमितता हुन सक्ने आशंका गर्छन् । “कानुन छलेर सोझै खरिद गर्न पाइँदैन । कि त कानुन संशोधन हुनुपर्छ । मलाई चाहिन्छ भनेर हुँदैन,” सार्वजनिक खरिदविज्ञ सुरेश प्रधानले भने, “सिधै खरिद गर्दा मिलोमतोको सम्भावना पनि हुन सक्छ । नेपालमा मिलोमतो नहुने भन्ने हुँदैन ।”

    महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्रीकुमार राईले सोझै खरिद गर्नु कानुनसम्मत नभएकाले प्रतिस्पर्धा गराएर खरिद गर्न सुझाव दिने गरेको बताए । “अस्पतालमा जुन बेला जुनसुकै सामग्री आवश्यक पर्ने भएकोले प्रतिस्पर्धाबाट खरिद सम्भव नभएकाले सोझै खरिद गर्नुपर्ने बाध्यता भएकाले जति बिल आयो त्यति नै भुक्तानी दिनुपर्ने बाध्यता सुनाउने गर्छन्,” राईले भने, “सिधै खरिद गर्नु भनेको केही न केही स्वार्थ लुकेको हुन्छ ।”

    गुणस्तर जाँचसमेत हुँदैन

    वीर अस्पतालले खरिद गरेको सामानको गुणस्तर परीक्षणसमेत नभएको पाइएको छ । अघिल्लो वर्ष खरिद गरेको ६ करोड ४७ लाख ५ हजारको सामानको गुणस्तरको निरीक्षण र परीक्षणसमेत भएको छैन ।

    खरिद गरेको सामानको प्राविधिक स्पेसिफिकेसन र गुणस्तरमा स्पष्ट नभएको भन्दै महालेखाको प्रतिवेदनमा भनिएको छ, “अतः आपूर्ति गरिएका मालसामान तोकिएको प्राविधिक स्पेसिफिकेसन र गुणस्तरबमोजिम भएको आश्वस्त हुनका लागि विज्ञबाट निरीक्षण र परीक्षण गराउनुपर्ने देखिन्छ ।”

    वीर अस्तपालका निर्देशक डा। विकासले गुणस्तरीय उपकरणबिना स्तरीय सेवा दिन नसक्ने भएकाले यसमा आफ्नो चासो रहेको बताए । “प्रक्रियामा कमजोरी होला तर सामानको गुणस्तरमा कमी हुन दिँदैनौँ,” उनले भने ।

    सम्झौता एउटासँग खरिद अर्कोसँग

    वीर अस्पतालले सर्जिकल सामग्री खरिद लागि बोलपत्र आह्वान गरेकोमा कस्मिकर इन्टरप्राइजेज नयाँ बानेश्वरसँग सम्झौता भएको छ । सम्झौताको सर्त नम्बर २ मा भनिएको छ- “बिल अफ क्वान्टिटीमा उल्लेखित परिणामबाहेक थप सामग्रीहरू आवश्यक भएमा अस्पतालले अर्को बोलपत्रको बन्दोबस्त नगरेसम्म चैत ३०, २०८१ सम्म आपूर्तिकर्ताले सोही दरमा आपूर्ति गर्नुपर्नेछ ।”

    जसअनुसार अस्पतालले थप सर्जिकल सामग्री खरिद गर्दा बोलपत्रमार्फत खरिद गरिएको फर्मसँग सम्झौताको दरमा खरिद गर्नुपर्ने थियो । तर अस्पतालले कस्मिकरसँग खरिद नगरी पछि ब्लुस्टार सर्जिकलसाग ग्लोब्स खरिद गर्‍यो, त्यो पनि प्रतिगोटा २२ रुपैयाँ २४ पैसा बढी पैसा तिरेर । “खुला दरभाउपत्र माग गरी पुस २५, २०८१ मा ब्लुस्टार सर्जिकल हाउससँग सर्जिकल ग्लोब्स खरिद गरी भुक्तानी गर्दा कस्मिकसँग खरिद गरेको भन्दा प्रतिगोटा २२ रुपैयाँ २४ पैसा बढीमा खरिद गरेको छ,” महालेखाको प्रतिवेदमा उल्लेख छ । यो ग्लोब्स खरिदमा ५ लाख ५६ हजार रुपैयाँ अनियमितता भएको महालेखाले स्पष्ट उल्लेख गरेको छ ।

    स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता डा. समीर अधिकारीले अस्पतालमा बिग्रिएको उपकरणको मर्मत र लिलामी गर्ने दायित्व अस्पतालको भएको बताउँछन् । उनले भने, “मन्त्रालयले अस्पताललाई आवश्यक बजेट व्यवस्थापन गर्ने मात्रै हो । खरिद, मर्मत, लिलालीको काम अस्पतालकै हो ।”

    नियम र प्रक्रिया मिचेर खरिद भएको विषयमा भने मन्त्रालयको चासो रहने उनले बताए । “खरिद, मर्मत र लिलामीमा भने नियम प्रक्रिया मिचेको रहेछ भने मन्त्रालयको अवश्य पनि ध्यान जान्छ,” उनले भने ।

    प्रतिस्पर्धाबिना नै खरिद

    NMJN6

    वीर अस्पतालले प्रतिस्पर्धा बिना नै १ करोड ९३ लाख ८३ हजार ७ सय ६० रुपैयाँ बराबरको सामान खरिद गरेको पाइएको छ । यो सामानको खरिदमा एउटा मात्र बोलपत्र परेको र त्यही स्वीकृत भएको पाइएको छ ।

    गतवर्ष लागत अनुमान स्वीकृत भई टेक्निकल कमिटीले स्पेसिफिकेसनपश्चात बोलपत्र आह्वान भएकोमध्ये एउटा मात्र बोलपत्र पेस गरेका आपूर्तिकर्ताको प्रस्ताव स्वीकृत भएकोे छ ।

    ६ वटा बोलपत्रमा एकभन्दा बढी प्रस्ताव पेस भएकोमा प्राविधिक मूल्यांकनबाट एउटा आपूर्तिकर्ता योग्य बनाइएको छ । टेक्निकल कमिटीले तयार गरेको स्पेसिफिकेसन ५ वटा बोलपत्रको प्राविधिक स्पेसिफिकेसन उपर विभिन्न आपूर्तिकर्ताबाट संशोधनका लागि वीर अस्पतालमा निवेदनसमेत दिएका छन् ।

    महालेखा परीक्षकको कार्यालयले आफ्नो प्रतिवेदनमा लेखेको छ, “यसरी खरिदसम्वन्धी स्पेसिफिकेसन कुनै निश्चित ब्रान्ड केन्द्रित रही प्रतिस्पर्धाको दायरा संकुचित हुन गएको देखिन्छ । यसबाट खरिद नियमावलीमा भएको व्यवस्थाअनुसार खरिद कार्य प्रतिस्पर्धात्मक वातावरणमा भएको विश्वस्त हुने आधार देखिँदैन । कार्यालयले खरिदमा प्रतिस्पर्धाको दायरा बढाई प्रतिस्पर्धी दरमा मालसामान आपूर्ति गर्नेरगराउनेतर्फ ध्यान दिनुपर्दछ ।”

    वीर अस्पतालले गर्ग डेन्टलसँगका २३ लाख ७६ हजार ३ सय ३९ रुपैयाँ १५ पैसाको ठेक्का नम्बर २०८१/८२/६२ र २७ लाख ८८ हजार २ सय ७५ रुपैयाँको ठेक्का नम्बर २०८१/८२/५५ को सम्झौतामा सीमित प्रतिस्पर्धा भएको भन्दै महालेखाले प्रश्न उठाएको छ ।

    ठेक्का नम्बर २०८१/८/र५५ मा खरिद भएका मुख तथा दाँतको उपचारमा प्रयोग हुने ७४ प्रकारका सामानमध्ये केहीलाई प्राविधिक समितिले ‘नन-कम्लान्स’ भनेर प्रतिवेदन दिए पनि अस्पतालले भुक्तानी गरेको भन्दै महालेखाले गर्गसँग ६३ हजार ४ सय ७३ रुपैयाँ २३ पैसा असुल गर्न निर्देशन दिएको छ ।

    तर गर्ग डेन्टलका सञ्चालक उमेश अग्रवालले प्रक्रिया पूरा गरेर सामान उपलब्ध गराएको बताए । प्रक्रिया पूरा नभएको भए आफ्नो कम्पनी छनोट नै हुने थिएन नि १ भन्दै उनले प्रक्रिया पुगेन भनेर अस्पतालबाट अहिलेसम्म कुनै गुनासो नआएको र रकम असुलका लागि पनि कसैले केही नभनेको बताए ।

    वीर अस्पतालले डाइनामिक मेडिकल सिस्टमसँग फ्लोर स्क्रब मेसिन ९ लाख ८० हजार ८ सय ४० रुपैयाँमा सोझै खरिद गरेको पाइएको छ । तर डाइनामिक मेडिकल सिस्टमका सञ्चालक रामेन्द्र न्यौपानेले अस्पतालले प्रक्रिया पूरा गरेर नै आफूसँग सामान खरिद गरेको बताउँछन् । “प्रतिस्पर्धाबिना खरिद नै हुँदैन,” उनले भने, “वीर अस्तपालमा पनि हामीले कोटेसन हालेका थियौँ, हाम्रो दर सस्तो थियो, त्यसैले खरिद गर्‍यो ।”

    महालेखा परीक्षक कार्यालयका प्रवक्ता श्रीकुमार खरिदको ऐन र नियमावलीअनुसार उपचारजन्य उपकरण खरिद गर्न सम्भव नभएको अस्पताल प्रशासकको गुनासो रहेको बताउँछन् । “कानुन संशोधन गर्न स्वास्थ्य मन्त्रालयमार्फत प्रस्ताव अघि लैजानुस् तर कानुनविपरीत टेन्डर गर्नुपर्ने खरिदलाई टुक्रा बनाएर गर्नु ठिक होइन भन्ने गरेका छौँ,” उनले भने, “खरिद योजना नबनाउने, आफ्ना सीमित सप्लायर्सबाट खरिद गर्ने चाहना देखिन्छ ।”

    निमजिनका लागि मकर श्रेष्ठको रिपोर्ट

    प्रकाशित मिति: असोज २४, २०८३

    प्रतिक्रिया दिनुहोस्
    images
    images