images
images
  • इरान समर्थित हुथी विद्रोहीको आक्रमणका कारण रियाद विमानस्थलमा यात्रा नगर्न आग्रह

    काठमाडौं– साउदी अरबका विभिन्न क्षेत्रमा इरान समर्थित हुथी विद्रोहीको आक्रमणपछि अस्ट्रेलिया सरकारले आफ्ना नागरिकलाई रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा नगर्न चेतावनी दिएको छ ।

    क्षेत्रीय सुरक्षा अवस्था बिग्रिँदै गएको भन्दै सरकारले साउदी अरबको भ्रमणसम्बन्धी सावधानीसमेत बढाएको छ ।

    अस्ट्रेलियाको विदेश मामिला तथा व्यापार विभाग (डीएफएटी)ले आफ्नो आधिकारिक यात्रा परामर्श सेवा ‘स्मार्टट्राभलर’ मार्फत जारी गरेको सूचनामा साउदी अरबको सुरक्षा अवस्था र समग्र क्षेत्रीय परिस्थितिलाई ध्यानमा राख्दै नागरिकलाई आफ्नो यात्रा आवश्यकताबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

    विभागले हालैका सुरक्षा घटनाका कारण विमानस्थलको सञ्चालन प्रभावित भइरहेकाले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रा नगर्न सुझाव दिएको जनाएको छ ।

    विभागका अनुसार क्षेत्रीय सैन्य द्वन्द्वका कारण आवागमनमा व्यापक प्रतिबन्ध लाग्न सक्ने, हवाई क्षेत्र बन्द हुन सक्ने तथा उडान रद्द हुने सम्भावना रहन्छ ।

    यस्तो परिस्थितिले यात्रुहरूको आवागमन र सुरक्षामा थप चुनौती सिर्जना गर्न सक्छ ।

    यद्यपि, उक्त विमानस्थल हुँदै यात्रा गर्ने निर्णय गरेका अस्ट्रेलियाली नागरिकलाई आफ्नो उडानको अवस्थाबारे सम्बन्धित विमान सेवा कम्पनी वा यात्रा व्यवस्थापकसँग पुनः पुष्टि गर्न आग्रह गरिएको छ ।

    साथै, विमानस्थलमा अनावश्यक रूपमा लामो समय नबस्न पनि सुझाव दिइएको छ ।

    डीएफएटीले नागरिकलाई सतर्क रहन, आफ्नो सुरक्षालाई प्राथमिकता दिन, घटनाक्रमबारे नियमित जानकारी लिन तथा स्थानीय अधिकारीहरूको निर्देशन पालना गर्न आग्रह गरेको छ ।

    सम्भावित आक्रमणको जोखिमलाई ध्यानमा राख्दै सैन्य अखडा र ऊर्जा पूर्वाधारबाट टाढा रहन तथा आक्रमण भएमा सुरक्षित बन्द स्थानमा आश्रय लिनसमेत विभागले सुझाव दिएको छ ।

    यसैबीच, अस्ट्रेलिया सरकारले साउदी अरबका दक्षिणी प्रान्त असिर, जिजान र नजरानमा यात्रा नगर्नेसम्बन्धी चेतावनी कायम राखेको छ ।

    यमनसँगको सीमाबाट ३० किलोमिटरभित्र पर्ने कुनै पनि क्षेत्रमा यात्रा नगर्न पनि आफ्ना नागरिकलाई आग्रह गरिएको छ ।

    साउदी अरब र यमन आसपासको क्षेत्रीय सुरक्षा अवस्थाले अन्तर्राष्ट्रिय हवाई सेवा तथा यात्रुहरूको सुरक्षामा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै अस्ट्रेलियाले आफ्नो यात्रा परामर्श अद्यावधिक गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images