images
images
  • बुढीगण्डकीमा बाढी अपडेट : दुई झोलुङ्गे र एक फलामे पुल पनि बगायो, घरहरूमा क्षति

    काठमाडौं– गोरखामा बूढीगण्डकी नदीमा आएको बाढीले दुईवटा झोलुङ्गे पुलसहित एउटा फलामे पुल बगाएको छ भने आसपासका घरहरूमा समेत क्षति पुगेको छ ।

    चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच पहिरो खसेर बुढीगण्डकी नदी थुनिएपछि आएको बाढीले जिल्लाका विभिन्न स्थानमा क्षति पुर्‍याएको हो ।

    नेपाल प्रहरीले भर्खरै उपलब्ध गराएको जानकारी अनुसार चुमनुब्री गाउँपालिका–३ न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बाढीले बगाएको छ । सोही वडाको सिर्दिबास निवासी रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको छ भने अर्को घरमा बाढी पसेको छ ।

    त्यसैगरी, धार्चे गाउँपालिका–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ । माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा ५ देखि ७ वटा घर र सोही संख्यामा टहरामा पानी पसेको विवरण प्राप्त भएको छ ।

    बाढीका कारण धार्चे गाउँपालिका–३ सल्लेरीका २० देखि २२ वटा घर जोखिममा परेका छन् । यस्तै, आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुल पनि बाढीले बगाएको छ ।

    बाढीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । प्रभावित बस्तीका बासिन्दा थप जोखिममा पर्न सक्ने भएकाले सतर्कता अपनाउन अपील गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images