images
images
  • साउदी अरबको रियाद विमानस्थलमा भीषण आक्रमण, विभिन्न देशका १२ जनाको मृत्यु

    काठमाडौं– साउदी अरबको राजधानी रियादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा १२ जनाको मृत्यु भएको छ भने ३०० भन्दा बढी घाइते भएका छन् ।

    साउदी अधिकारीहरूले आक्रमणको पुष्टि गर्दै मृतकमध्ये चार जना साउदी नागरिक रहेको बताएका छन् ।

    मृत्यु हुनेमा दुई जना बङ्गलादेशी तथा प्यालेस्टिनी, अमेरिकी, इजिप्टेली, जोर्डनी, सिरियाली र सुडानी नागरिक एक–एक जना रहेका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

    क्षेत्रीय अधिकारीका अनुसार शनिबार प्रहार गरिएको एउटा क्षेप्यास्त्र घरेलु उडानका लागि प्रयोग हुने विमानस्थलको तेस्रो र चौथो टर्मिनल रहेको परिसरमा खसेको थियो ।

    आक्रमणपछि साउदी नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरेको थियो । विमानस्थलमा सुरक्षा व्यवस्था कडा पार्दै प्रवेशद्वारहरू बन्द गरिएका थिए भने उडानहरू अन्यत्र मोडिएका थिए ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनमा इरान समर्थित हुथी विद्रोहीविरुद्ध साउदी अरबले सञ्चालन गर्ने आक्रमणमा अमेरिका सहभागी हुने वा नहुने विषयमा विचार भइरहेको बताएका छन् । उनले पछिल्लो आक्रमणबारे जानकारी प्राप्त भएको र त्यसपछि निर्णय लिइने बताएका छन् ।

    यसअघि हुथी विद्रोहीहरूले साउदी अरबको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणको जिम्मेवारी लिएका थिए । उक्त आक्रमणमा एक जना चालकसहित तीन साउदी नागरिकको मृत्यु भएको थियो ।

    यद्यपि, शनिबारको पछिल्लो आक्रमणबारे हुथी विद्रोहीले तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images