images
images
  • खगेन्द्र सुनारलाई सांसदबाट फिर्ता बोलाउन माग (पत्रसहित)

    काठमाडौं– बाँके ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारलाई ‘राइट टु रिकल’को अधिकार प्रयोग गरेर सांसद पदबाट फिर्ता बोलाउन माग गरिएको छ । विवादित अभिव्यक्ति दिएको र सोही निर्वाचन क्षेत्रप्रति गरिएको बेवास्ताले जनता र स्थानीय नेता-कार्यकर्तामा चरम असन्तुष्टि बढ्न थालेको आरोप उनीमाथि लागेको छ ।

    रास्वपाका केन्द्रीय विधेयक मन्थन विभाग सदस्य विक्रम ओलीले पार्टीले अघि सारेको ‘राइट टु रिकल’ का आधारमा सांसद सुनारलाई फिर्ता बोलाउन पार्टी शीर्ष नेतृत्वलाई लिखित पत्र पठाएका छन् ।

    सुनार निरन्तर नेपाल प्रहरीको नेतृत्वमाथि खनिँदै गर्दा असन्तुष्टि चुलिएको हो । साथै निर्वाचित भएर गएपछि बाँके ३ मा फर्केर नआएको, बजेट र स्थानीयका समस्या सम्बोधनमा चासो नदिएको, पार्टीका अन्य गतिविधिमा अनुपस्थित रहने गरेको उनीमाथि आरोप पनि लाग्ने गरेको छ ।

    पार्टी सभापति रवि लामिछानेलाई सम्बोधन गरी बुझाइएको पत्रमा बारम्बार विवादित अभिव्यक्ति दिने र विवाद बढाउने काम गरिरहेकाले सांसद सुनारसँग मिलेर काम गर्न सकिने वातावरण नै नभएको उल्लेख छ ।

    सुनारलाई तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन पनि माग गरिएको छ । पार्टीको केन्द्रीय विधायन मन्थन विभागका सदस्य बाँके–३, जिगाउँका विक्रम ओलीले पत्र बुझाएका हुन् ।

    उक्त पत्र सचेतक क्रान्तिशिखा धितालका स्वकीय सचिव रितु खड्काको हातमा बुझाएको बताइएको छ । उनले सांसद सुनारको कार्यशैली, सार्वजनिक अभिव्यक्ति र गतिविधिप्रति असन्तुष्टि जनाउँदै पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् ।

    पत्रमा सांसद सुनार निर्वाचित भएपछि आफ्नो निर्वाचन क्षेत्रमा नियमित नआएको, जनतासँग प्रत्यक्ष भेटघाट नगरेको र नागरिकका फोनसमेत नउठाउने गरेको आरोप लगाइएको छ ।
    सुनारले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न प्रभावकारी पहल नगर्दा उनको निर्वाचन क्षेत्रका मतदातामा निराशा बढेको ओलीको भनाइ छ ।

    सांसद सुनारका सार्वजनिक अभिव्यक्ति तथा गतिविधिले सामाजिक सद्भावमा असर पारेको, जातीय द्वन्द्व बढाउन सक्ने अवस्था सिर्जना गरेको, सामाजिक सञ्जालमा अराजकता फैलाएको र राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउन खोजेको आरोप पनि लगाइएको छ ।

    पार्टीको विधि, पद्धति र अनुशासनभित्र रहेर काम नगरेको तथा राजदूत नियुक्तिमा कमिसन लिएको आरोपमाथि निष्पक्ष छानबिन गर्न ओलीले माग गरेका छन् । अन्य विषयमा पनि सम्बन्धित निकायमा उजुरी परेको भए अनुसन्धान गरेर सत्यतथ्य सार्वजनिक गर्नुपर्ने पत्रमा उल्लेख छ ।

    ‘आरोपहरूको छानबिन नगर्दा जनप्रतिनिधिप्रति जनताको विश्वास कमजोर हुन्छ र त्यसले पार्टीको छविमा समेत असर पार्न सक्छ’, पत्रमा भनिएको छ ।

    सांसद सुनारप्रति निर्वाचन क्षेत्रका नागरिकको अपेक्षाअनुसार काम हुन नसकेको भन्दै ज्ञापनपत्रमा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले राजनीतिक क्षति व्यहोर्न सक्ने चिन्तासमेत व्यक्त गरिएको छ ।

    ओलीले सांसद सुनारमाथि उठेका आरोपको निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न तथा ‘राइट टु रिकल’ (निर्वाचित प्रतिनिधिलाई फिर्ता बोलाउने अधिकार’ सम्बन्धी प्रक्रिया अघि बढाउन माग गरेका छन् ।

    पत्रको पूर्णपाठ

    श्रीमान् संसदीय दलका नेताज्यू, राष्ट्रिय स्वतन्त्र पार्टी,
    सिंहदरबार, काठमाडौं ।

    विषय : माननीय सांसद खगेन्द्र सुनारमाथि उठेका गम्भीर आरोपको छानबिन गरी आवश्यक कारबाही गर्न तथा राइट टु रिकल (सांसद पदबाट निलम्बन गरियोस्)को प्रक्रिया अघि बढाउन माग ।

    महोदय,

    हामी बाँके निर्वाचन क्षेत्र नं. ३ का आम नागरिक, युवा तथा राष्ट्रिय स्वतन्त्र पार्टीप्रति आस्थावान मतदाताहरूको गुनासो लिएर यो ज्ञापनपत्र पेस गर्दछौं। हामीले माननीय सांसद खगेन्द्र सुनारलाई हाम्रो क्षेत्रका समस्या संसद उठाउन, विकास निर्माणमा सहयोग गर्न र जनताको आवाज बन्न निर्वाचित गरेका हुन तर निर्वाचनपछि जनतासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने विषयमा उहाँको भूमिकाप्रति हाम्रो गम्भीर असन्तुष्टि छ । निर्वाचनका क्रममा जनतासँग गरेका प्रतिवद्धता पूरा गर्न पहल नगरेको, निर्वाचन अघिको उहाँको जीवनशैली, लवाइखवाइ र अहिलेको जीवनशैलीमा आकाश-पातालको फरक देखिन्छ, । यसमा परिवर्तन आउनुको स्रोत के हो? यसको स्पष्ट जवाफ जनताले पाउनुपर्छ तथा पार्टीको विधि–विधानविपरीत कार्य गरेको साथै, उहाँका सार्वजनिक अभिव्यक्ति तथा गतिविधिले सामाजिक सद्भाव,जातीय द्वन्द्व र शान्तिमा असर पारेको, सामाजिक सञ्जालमा अराजकता फैलाएको, राष्ट्रसेवक कर्मचारीको मनोबल गिराउने तल्लो स्तरको अभिव्यक्ति दिएको, जनप्रतिनिधिको मर्यादा नबुझेको तथा राजदूत नियुक्तिसम्बन्धी विषयमा कमिसन लिएको आरोप लगायत विभिन्न भ्रष्टाचार आरोपहरू सार्वजनिक भएका छन् ।

    यी विषयमा सम्बन्धित निकायमा उजुरी परेको भए तिनको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गरिनुपर्छ । यस्ता विवाद र गम्भीर आरोपले बाँके निर्वाचन क्षेत्र नं. ३ का जनताको प्रतिष्ठामा आँच पुगेको अनुभूति भएको छ, साथै जनताको अपेक्षा अनुसार काम हुन नसकेमा आगामी स्थानीय तहको निर्वाचनमा पार्टीलाई समेत गम्भीर राजनीतिक क्षति पुग्न सक्ने हाम्रो चिन्ता छ ।

    त्यसैले, Rights to Recall को प्रक्रियामार्फत सांसद खगेन्द्र सुनारमाथि उठेका आरोपहरूको निष्पक्ष छानविन गरी यथाशीघ्र आवश्यक कारवाही तथा कानुन बमोजिम निलम्बनको प्रक्रिया अघि बढाइयोस् ।

    यदि पार्टीले यस विषयलाई गम्भीरतापूर्वक लिएर जनताको आवाजलाई सम्बोधन गरेन भने हामी बाँकेवासी शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य हुनेछौं ।

    निवेदक
    विक्रम ओली
    केन्द्रीय विधेयक मन्थन विभाग सदस्य
    महाधिवेशन प्रतिनिधि, १०० एसग्रुप
    उपाध्यक्ष
    अरनिको युवा क्लब

    यी पनि हेर्नुस्:

    सुशासनको मुखौटा कि १० करोडको खेल ? रास्वपा सांसद सुनारमाथि असुली धन्धाको गम्भीर आरोप

    राजदूत सुनुवाइको उजुरीमा तानिए सांसद सुनार, प्रहरीको बढुवादेखि सांसद बनाउनसम्म करौडौं रकम उठाएको आरोप

    प्रस्तावित राजदूत सुनार र रास्वपा सांसद खगेन्द्र असुली धन्धाका पार्टनर, गुन्डा नाइके गणेश लामा ‘हतियार’

    उन्मत्त खगेन्द्र स् निरीह रास्वपा, तनावमा प्रहरी

    प्रतिक्रिया दिनुहोस्
    images
    images