काठमाडौं– सरकारले भूकम्पीय जोखिम न्यूनीकरण, बिटौरी जग्गा दर्ता एवं एसियाली खेलकुदका पदक विजेता खेलाडीलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले विश्व बैंकसँग नेपालको भूकम्पीय जोखिमसम्बन्धी विपद् ऋणपत्र (नेपाल अर्थक्वेक क्याटास्ट्रोफ बन्ड) सम्बन्धी कार्यादेश सम्झौता (म्यान्डेट एग्रिमेन्ट)मा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ ।
सूचना तथा सन्चारमन्त्री डा.विक्रम तिमिल्सिनाका अनुसार बैठकले बिटौरी जग्गामा बसोबास गर्दै आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धमा ‘समिति गठन आदेश, २०८३’ स्वीकृत गर्ने निर्णय गरेको छ ।
त्यसैगरी खेलकुद क्षेत्रतर्फ जापानको आइची–नागोयामा आयोजित २०औँ एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी तथा कराँतेका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
मन्त्रिपरिषद्ले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।


विश्व खबर 


















