काठमाडौं– दक्षिण कोरियाका सातभन्दा बढी वित्तीय संस्थामा भएको साइबर आक्रमणमा प्रयोग भएको आशङ्कापछि चिनियाँ कृत्रिम बौद्धिकता (एआई) उपकरण आर्टेक्सका विकासकर्ताले यसको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्ने निर्णय गरेका छन् । डेभलपर ‘अटम- २७’ ले उपकरणको दुरुपयोग भएको स्वीकार गर्दै अब नयाँ संस्करण सार्वजनिक नगर्ने र मर्मतसम्भार सेवा पनि नदिने जनाएको छ ।
साइबर सुरक्षाका कमजोरी पत्ता लगाउन विकास गरिएको आर्टेक्स खुला स्रोतमा आधारित उपकरण थियो । यसबाट प्रोग्रामरहरूले मूल कोड डाउनलोड गरी आवश्यकताअनुसार परिमार्जन गर्न सक्थे । तर दक्षिण कोरियाली सरकारले यसै साता प्रमुख बैंकसहित सातभन्दा बढी वित्तीय संस्थामा तथ्याङ्क चोरी गर्न यसको प्रयोग भएको उच्च सम्भावना रहेको जनाएको थियो ।
दक्षिण कोरियाको वित्तीय सेवा आयोगका अनुसार आक्रमणबाट ६८ हजारभन्दा बढी व्यक्ति प्रभावित भएका छन् । सिनहान बैंकका करिब २५ हजार ग्राहकका ऋण आवेदनसँग सम्बन्धित नाम, फोन नम्बर र वार्षिक आम्दानी जस्ता विवरण चुहिएका छन् ।
यसैबीच जापानमा पनि यस्तै साइबर आक्रमणबाट करिब २० कम्पनीका तथ्याङ्क प्रभावित भएको आशङ्का गरिएको छ । ती घटनाले लाखौं ग्राहकलाई असर पार्न सक्ने बताइएको छ । जापानका प्रहरी प्रमुख योसिनोबु कुसुनोकीले घटनाको पृष्ठभूमि र तिनबीचको सम्बन्धबारे स्पष्ट भइनसकेको बताएका छन् ।
दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले एआईका कारण ह्याकिङ थप जटिल बनेको र त्यसबाट हुने क्षति विगतसँग तुलना गर्न कठिन भएको बताएका थिए । एआईका शक्तिशाली प्रणालीले कम्प्युटरमा आक्रमण गर्ने नयाँ विधि पत्ता लगाउन सक्ने क्षमताले विश्वव्यापी चासो बढाएको छ ।
अमेरिकी साइबर सुरक्षा कम्पनी क्राउडस्ट्राइकले सार्वजनिक गरेको अनुसन्धानमा आर्टेक्स प्रयोग गर्ने आक्रमणकारी सम्भवतः चीनमा आधारित २६ वर्षीय व्यक्ति रहेको उल्लेख छ । उनी चिनियाँ भाषी र आर्थिक लाभबाट प्रेरित भएको कम्पनीको अनुमान छ ।
विशेषज्ञहरूका अनुसार आर्टेक्सको स्रोत कोडमा सार्वजनिक पहुँच बन्द गर्दा नयाँ प्रयोगकर्तालाई यसको कोड प्राप्त गर्न कठिन हुनेछ । तर यसअघि डाउनलोड गरिएका प्रतिलिपिको प्रयोग रोक्न सकिने छैन । ‘हेलो चाइना टेक’ का संस्थापक पो झाओले खुला स्रोतको कोड डाउनलोड र परिमार्जन गर्न सकिने भएकाले डेभलपरको नियन्त्रण सीमित हुने बताएका छन् ।
‘फाउन्ड्री ल्याब्स’ की प्रमुख कार्यकारी अधिकृत इल्या कुल्यातिनले पनि प्रयोगकर्ताले उपकरणमा राखिएका दुरुपयोग रोक्ने प्रतिबन्ध हटाउन सक्ने बताएका छन् । यद्यपि खुला स्रोतले सुरक्षा अनुसन्धानकर्तालाई कोड जाँच्न, कमजोरी पहिचान गर्न र प्रणालीको सुरक्षा सुधार गर्नसमेत सहयोग पु¥याउने उनको भनाइ छ ।


विश्व खबर 


















