काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले दशैंलगत्तै ’राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाँडामा शुक्रबार बसेको नेकपा केन्द्रीय संयोजन समितिको बैठकले कार्तिक ७ देखि मंसिर २५ गतेसम्म दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो ।
बैठकले महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलापविरुद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधिसमेत पारित गरेको छ ।
नेकपा प्रवक्ता प्रकाश ज्वालाका अनुसार बैठकले पुस ११ गते देशभरिका सम्पूर्ण वडास्तरका अधिवेशनहरू र माघ १५ गते देशभरिका सम्पूर्ण पालिकाहरूमा एकैदिन पालिकास्तरीय अधिवेशनहरू सञ्चालन गर्ने निर्णय गरेको छ ।
त्यस्तै स्थानीय तहको निर्वाचनलगत्तै जिल्ला, प्रदेश र राष्ट्रिय महाधिवेशन आयोजना गरिने भएको छ ।
प्रवक्ता ज्वालाले युवा क्षेत्रको कामलाई प्राथमिकता दिँदै कार्यक्रमहरूमा ५० प्रतिशत युवा सहभागिता सुनिश्चित गर्ने र प्रवासको काम, श्रमजीवी मजदुर र किसानहरूबीचको कामलाई थप सशक्त र व्यवस्थित बनाउने निर्णय बैठकले गरेको बताए ।


विश्व खबर 



















