images
images
  • उन्मत्त खगेन्द्र : निरीह रास्वपा, तनावमा प्रहरी

    काठमाडौं– सांसद हुनुभन्दा एक महिनासम्म खगेन्द्र सुनार माइतीघरको साङ्लामा बेरिएका थिए । उनलाई बेरिएको त्यो साङ्लो र नेल हत्कडी कसैले लगाई दिएको होइन । उनी आफैंले लगाएको हो । उनी माइतीघरमा एउटा अभियानमा न्यायको खोजी गर्दै यस्तो रुपमा देखापरेका थिए ।

    नेपालीमा एउटा भनाई छ, ‘भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर अडिँदैन । तर उनको भाग्यले यो भनाइलाई समेत माथ ख्वायो । उनी माइतीघरमा साङलोले बेरिएकै अवस्थामा रास्वपाबाट टिकट पाए । चुनाव जिते । यो उनको डोकोमा दूध अडिएको जस्तै घटना भयो । कल्पना गरेभन्दा लाखौं उपलब्धि हात लाग्यो ।

    नेपालीमा एउटा भनाइ पनि छ, ‘बाख्रालाई सम्म ठाउँ सन्चो हुँदैन। त्यसैले भिरालोमा आनन्द मान्छ, तर सम्म ठाउँमा राख्यो भने उसले त्यही खोस्रेर खाडल खन्न सुरु गर्छ ।’

    हो, खगेन्द्रलाई पनि प्रतिनिधिसभाको माननीय पदले सन्चो बिगार्यो । त्यसैले माननीयको हैसियत बिर्सेर उनले माइतीघरको विद्रोही जस्तै अराजक कुरा गर्न थाले । माइतीघरको आन्दोलनकारी जस्तो होइन माननीय पद । जसरी बाख्रोलाई समथर जमिनमा बाँध्यो भने खोस्रेर आफू बस्ने ठाउँ खाल्डो बनाउँछ त्यसरी नै खगेन्द्रले ठीक त्यस्तै गरे । माननीय जस्तो उचाइ भएको पहाडमा उनले तलबाट खोस्रेर त्यसलाई गिराउन खोजे ।

    उनी विपक्षी सांसद होइनन् । दुईतिहाइ नजिकको सरकार पक्षका सांसद हुन् । उनको उचाइको अगाडि प्रहरीको उचाइ निकै तल हो । राजनीति र प्रशासनिक हिसाबमा प्रहरी उनको प्रतिस्पर्धी होइन । प्रहरी त सरकारले परिचालन गर्ने हो । प्रहरीले गल्ती गरे आफ्नो पार्टीको सरकार छ, गृहमन्त्री आफ्नो छ, उनलाई भनेर प्रहरीमाथि कारबाहीको डण्डा चलाउने हो । तर सुनारले यो कुरा चटक्कै बिर्सेर प्रहरीलाई प्रतिस्पर्धी ठानेर यसबेला सिगौरी खेलिरहेका छन् । कहिले सडकमा घिसार्ने, कहिले बैठकमा नै आईजीपीको राजीनामा माग्ने कुराले उनको हैसियत छर्लङ्ग भएको छ ।

    उनी कुनै स्वतन्त्र हैसियतका सांसद होइनन् । उनी रास्वपाका सांसद हुन् । संसदीय व्यवस्थामा सांसद दलको निर्देशन अनुरुप चल्छ । दलको आदेशको पालना गर्छ । त्यसो नगरे उसको पद समाप्त हुन्छ अर्थात् सांसदको आफ्नो पदको आयु पार्टीको हातमा हुन्छ । उनी असनको साँढे जस्तो पु्च्छर ठड्याएर उफ्रँदा पनि पार्टी किन निरीह देखिएको छ ? कि सुनारले बोलेको कुरा पार्टीको हो भनेर जिम्मा लिनुपर्ने हो ? कि उनीमाथि एक्सन लिनुपर्ने हो ? यी दुबै कुरामा रास्वपा मौन छ ।

    सुनारका कारण नेपाल प्रहरी अचेल अप्ठेरो अवस्थामा छ । सुनारले सार्वजनिक लेखा समितिको बैठकदेखि सार्वजनिक मञ्चसम्म बारम्बार प्रहरी सङ्गठन र त्यसको नेतृत्वलाई निशाना बनाइरहेका छन् ।

    तर सरकारका प्रमुख प्रधानमन्त्री, पार्टी नेतृत्व एवम् सभापति रवि लामिछाने र स्वयम् गृहमन्त्री सुधन गुरुङ यसरी चुपचाप बसेका छन् कि मानौं केही भएकै छैन ।

    आफ्नो मातहतको सङ्गठनमाथि हमला हुँदा गृहमन्त्री समेत मौन बसेका छन् । यो मौनता सुनारको भनाइमा सहमति हो कि उदासीनता ? प्रश्न उब्जिएको छ ।

    लोकतन्त्रमा संसदीय निगरानीको महत्त्व कसैले नकार्न सक्दैन । तर निगरानी र निशानाबीचको रेखा धुमिल हुन थालेपछि त्यसले संस्था र समाज दुवैलाई कमजोर बनाउँछ ।

    विवादको नयाँ कडी निर्वाचनमा प्रहरीको पोसाक खरिद हो । गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खटिएका निर्वाचन प्रहरीका लागि गरिएको पोसाक खरिदमा अनियमितता भएको भन्दै सांसद सुनारले लेखा समितिमा निरन्तर प्रश्न उठाउँदै आएका छन् ।

    यही उजुरी अध्ययन गर्न समितिले असोज १६ गते मनिष झाको संयोजकत्वमा उपसमिति बनाएको छ, जसमा सुनार आफैँ सदस्य छन् । खरिदमा गडबडी भएको भए कारबाही हुनैपर्छ, त्यसमा दुईमत छैन ।

    खुर्कोट प्रहरी हिरासतमा रहेका २३ वर्षीय बन्दी श्रीकृष्ण विकको मृत्यु भयो । उनी थुनुवा कक्षभित्र झुन्डिएको अवस्थामा फेला परेका थिए । यो गम्भीर घटना हो र यसको निष्पक्ष, पारदर्शी छानबिन अनिवार्य छ । एउटा परिवारले छोरा गुमाएको छ र त्यो पीडाको जवाफ कानुनले दिनुपर्छ ।

    तर छानबिनको माग गर्न सिन्धुली पुगेका सुनारले त्यहाँका एसपीको कठालो समातेर घिसार्नुपर्ने अभिव्यक्ति दिए । यो पनि जिम्मेवार भनाइ थिएन । उनको यो भाषाबाटै लाग्थ्यो- उनलाई सांसद पद ‘बोकाको मुखमा कुभिण्डो’ जस्तो भएको छ । तीस केजीको मान्छेलाई क्विन्टलको भारी बोकाए जस्तो भएको छ । जसको त्यो बोक्ने क्षमता नै छैन ।

    सुनुवार प्रकरणले सबैभन्दा बढी खट्किने कुरा त सत्तापक्षको यो रहस्यमय मौनता नै हो । गृहमन्त्री प्रहरी सङ्गठनका राजनीतिक अभिभावक हुन् । चुनाव, विपद् र दैनिक शान्ति सुरक्षामा रातदिन खटिने सङ्गठनको मनोबल तल झर्दै गर्दा उनले या सङ्गठनको पक्षमा बोल्नुपर्ने हो, या त कम्तीमा नियमबमोजिम छानबिन होस् भनेर स्पष्ट अडान लिनुपर्ने हो । तर गृहमन्त्री गुरुङ बोलेका छैनन् ।

    जसरी उनले प्रहरीलाई एकदुई आरोप लगाएका छन्, त्यसैगरी सांसद सुनारमाथि दर्जनौं आरोप लाग्न थालेका छन् । उनले आफ्नो लाज जोगाउन प्रहरीमा चलखेल भएको आरोप लगाएका छन् ।

    झट्ट हेर्दा चर्को र क्रान्तिकारी जस्ता देखिए पनि भित्रभित्रै भने सुनारको कर्तुत विस्तारै सार्वजनिक हुन थालेका छन् । उनका चर्का र क्रान्तिकारी कुरा केवल आफ्नो कमजोरी ढाँकछोप गर्न हो भन्ने कुरा धेरै घटनाले प्रस्ट्याउन खोजेको छ ।

    यसबेला सांसद सुनार आफैंमाथि दलित आन्दोलनका नाममा स्वदेश तथा विदेशबाट १० करोड रुपैयाँभन्दा बढी रकम उठाएर हिनामिना गरेको गम्भीर आरोप लागेको छ ।

    साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारविरुद्ध संसदीय सुनुवाइ समितिमा परेको उजुरीमा सुनारलाई जोड्दै यस्तो आरोप लगाइएको हो । उजुरीमा उठाइएको रकमको व्यवस्थापन गिरीबहादुर सुनारले गर्ने गरेको दाबीसमेत गरिएको छ ।

    उजुरीमा खगेन्द्र सुनार, उनका परिवारका सदस्य तथा आफन्तका विभिन्न बैंक खातामा रकम जम्मा गरिएको र पछि गिरीबहादुरमार्फत व्यवस्थापन गरिएको आरोप लगाइएको छ ।

    कामना सेवा विकास बैंक, सिटिजन्स बैंक, महालक्ष्मी विकास बैंक, एनआईएमबी, एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकलगायतका खाताको विवरणसमेत उजुरीमा समावेश गरिएका छन् ।

    उजुरीकर्ताले २०७८ चैतमा ८ लाख रुपैयाँ र सोही वर्ष पुसमा ७ लाख रुपैयाँ खगेन्द्र सुनारको बैंक खातामा जम्मा भएको दाबी गर्दै प्रमाणसमेत पेश गरेका छन् । उनीविरुद्ध दलित आन्दोलनका नाममा १० करोड रुपैयाँभन्दा बढी रकम उठाएर हिनामिना गरेको आरोप पनि छ ।

    उजुरीमा खगेन्द्र सुनारमाथि राष्ट्रिय स्वतन्त्र पार्टीबाट समानुपातिक सांसद बनाइदिने भन्दै एक व्यक्तिसँग ५० लाख रुपैयाँ लिएको आरोपसमेत छ । चक्रमान विश्वकर्माबाट उक्त रकम लिएको दाबी उजुरीमा गरिएको हो । रकम बैंकमार्फत वा नगद कसरी लेनदेन भएको हो भन्ने विषयमा उजुरीमा सबै स्पष्ट उल्लेख छैन ।

    उजुरीमा प्रहरीको उच्च तहको बढुवासँग जोडिएको अर्को गम्भीर आरोप पनि छ । तत्कालीन डीआईजी डम्बरबहादुर विकलाई एआईजीमा बढुवा गराउने भन्दै सुरुमा ५० लाख रुपैयाँ मागिएको र पछि ३३ लाख रुपैयाँ लिइएको दाबी उजुरीमा गरिएको छ । उक्त रकमको लेनदेनमा सांसद खगेन्द्र सुनार र गिरीबहादुर सुनारको संलग्नता रहेको उजुरीमा उल्लेख छ । यता डम्बरबहादुर विक एआईजीमा बढुवा भइसकेका छन् ।

    यी पनि हेर्नुस्:

    सुशासनको मुखौटा कि १० करोडको खेल ? रास्वपा सांसद सुनारमाथि असुली धन्धाको गम्भीर आरोप

    राजदूत सुनुवाइको उजुरीमा तानिए सांसद सुनार, प्रहरीको बढुवादेखि सांसद बनाउनसम्म करौडौं रकम उठाएको आरोप

    प्रस्तावित राजदूत सुनार र रास्वपा सांसद खगेन्द्र असुली धन्धाका पार्टनर, गुन्डा नाइके गणेश लामा ‘हतियार’

    प्रतिक्रिया दिनुहोस्
    images
    images