काठमाडौं– इरानविरुद्धको सैन्य अभियानका क्रममा अमेरिकाका कम्तीमा ८१ वटा सैन्य विमान क्षतिग्रस्त वा नष्ट भएका छन् ।
ती विमानको क्षति मूल्य १ अर्ब ९० करोडदेखि ३ अर्ब ३० करोड अमेरिकी डलरसम्म पुगेको अनुमान गरिएको छ ।
अमेरिकी कांग्रेसअन्तर्गतको गैरदलीय निकाय कंग्रेसनल बजेट अफिस (सीबीओ)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार युद्धका क्रममा लडाकु विमानदेखि मानवरहित ड्रोनसम्म प्रभावित भएका छन् ।
प्रतिवेदनले सन् २०२६ अगस्ट १ सम्मको अवस्थालाई आधार मानेर विमानमा भएको क्षतिको अनुमान प्रस्तुत गरेको हो ।
अमेरिकाले इरानविरुद्ध सञ्चालन गरेको ‘अपरेसन एपिक फ्युरी’ नामक सैन्य अभियान फेब्रुअरी २८ मा सुरु भएको थियो ।
युद्धको आठौँ महिनासम्म पनि दीर्घकालीन युद्धविराम हुन नसकेको अवस्थामा सैन्य सामग्रीको क्षति र युद्धको आर्थिक भार बढ्दै गएको छ ।
एफ–१५, एफ–३५ र केसी–१३५ विमान पनि प्रभावित
सीबीओको प्रतिवेदनमा क्षतिग्रस्त वा नष्ट भएका विमानमध्ये १२ वटा एफ–१५ई स्ट्राइक ईगल लडाकु विमान, एउटा एफ–३५ए लाइटनिङ टु लडाकु विमान र सातवटा केसी–१३५ स्ट्राटोट्याङ्कर इन्धन भर्ने विमान रहेका छन् ।
प्रतिवेदनमा उल्लेख गरिएका ८१ विमानमध्ये ४५ वटा एमक्यू–९ रिपर मानवरहित ड्रोन छन् ।
यी ड्रोन निगरानी तथा आक्रमणजस्ता सैन्य प्रयोजनमा प्रयोग गरिन्छन् ।
अमेरिकी सैन्य विमानमा भएको क्षतिले आधुनिक युद्धमा महँगा सैन्य उपकरणको सुरक्षासम्बन्धी चुनौतीलाई उजागर गरेको विश्लेषकहरूले बताएका छन् ।
पूर्व अमेरिकी नौसैनिक अधिकारी तथा सरकारी परामर्शदाता संस्था किल्लोवेन ग्रुपका अध्यक्ष हार्लन उलम्यानले अल जजिरासँग कुरा गर्दै सानो सैन्य क्षमता भएका देशले पनि ठूला सैन्य शक्तिका उपकरणमा क्षति पुर्याउन सक्ने बताए ।
उनका अनुसार इरानले अमेरिकी सैन्य उपकरण र मध्यपूर्वमा रहेका सैन्य आधारहरूलाई लक्षित गरेर केही हदसम्म सफलता हासिल गरेको छ ।
‘सानो ड्रोनले पनि ठूलो सैन्य सम्पत्तिमा कस्तो क्षति पुर्याउन सक्छ भन्ने कल्पना गर्न सकिन्छ,’ उलम्यानले भनेका छन् ।
खाडी क्षेत्रका विभिन्न घटनाले पनि यस्तो जोखिम देखाएको उनको भनाइ छ ।
सस्तो ड्रोनले शक्तिशाली सेनालाई चुनौती
आधुनिक युद्धमा तुलनात्मक रूपमा सस्ता र सहजै उपलब्ध हुने ड्रोनको प्रयोग बढ्दै जाँदा ठूला सैन्य शक्तिसमेत नयाँ चुनौतीको सामना गर्न बाध्य भएका छन् ।
रुस–युक्रेन युद्धलाई यसको एउटा उदाहरणका रूपमा लिने गरिएको छ ।
युक्रेनले ड्रोनको प्रयोगमार्फत रुसी सैन्य संरचना र उपकरणलाई लक्षित गर्दै आएको छ ।
इरान युद्धका क्रममा बेलायतस्थित रोयल एयर फोर्स (आरएएफ) फेयरफोर्ड सैन्य आधारमा सम्भावित ड्रोन आक्रमण हुन सक्ने हल्लापछि आइतबार अमेरिकी विमानहरू त्यहाँबाट अन्यत्र सारिएको छ ।
उक्त सैन्य आधार इरान युद्धका क्रममा अमेरिकी सैन्य सामग्रीको आवागमनका लागि प्रयोग हुँदै आएको थियो ।
उलम्यानले सम्भावित इरानी आक्रमणको जोखिमका कारण अमेरिकाले बेलायतबाट बी–१ बमवर्षक विमानसमेत अन्यत्र सारेको उल्लेख गरे ।
उनले रूसभित्रबाट साना ड्रोन प्रयोग गरी रूसी सैन्य उपकरणलाई लक्षित गरिएको युक्रेनको ‘अपरेसन स्पाइडरवेब’लाई पनि आधुनिक युद्धको बदलिँदो स्वरूपको उदाहरणका रूपमा प्रस्तुत गरे ।
युद्धको खर्च ३८ अर्ब डलर पुगेको अनुमान
इरानविरुद्धको युद्धले अमेरिकी सरकारमाथि आर्थिक र राजनीतिक दबाबसमेत बढाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आर्थिक वर्ष २०२७ का लागि रक्षा खर्चमा १.५ ट्रिलियन डलर माग गरेको छ ।
युद्धको आवश्यकता रक्षा बजेट बढाउनुपर्ने कारणमध्ये एक रहेको प्रशासनको भनाइ छ ।
तर युद्धमा भइरहेको खर्चबारे अमेरिकी संसद्मा प्रश्न उठिरहेका छन् ।
गत महिना ४५ जना डेमोक्रेटिक सिनेटर र एक स्वतन्त्र सिनेटरले रक्षा मन्त्री पीट हेगसेथलाई पत्र लेख्दै युद्धको खर्चबारे पारदर्शी विवरण सार्वजनिक गर्न माग गरेका थिए ।
सिनेटरहरूले थप बजेट स्वीकृत गर्नुअघि युद्धमा भएको खर्चको विस्तृत विवरण आवश्यक रहेको बताएका थिए ।
उनीहरूले युद्धका कारण पेट्रोल र डिजेलको मूल्य बढ्दा अमेरिकी करदाताले थप १०० अर्ब डलर खर्च गर्नुपरेको तथा खाद्यान्न, घर कर्जा र हवाई टिकटजस्ता वस्तु तथा सेवामा मूल्यवृद्धिका कारण थप कम्तीमा ६० अर्ब डलरको भार परेको दाबी गरेका छन् ।
सिनेटरहरूले कांग्रेसको स्वीकृतिबिना र स्पष्ट रणनीतिक योजनाविना सुरु गरिएको युद्धका लागि फेरि थप रकम मागिएको भन्दै आलोचना गरेका छन् ।
सीबीओले सेप्टेम्बरमा सार्वजनिक गरेको छुट्टै प्रतिवेदनमा अगस्ट १ सम्म इरान युद्धको कुल लागत करिब ३८ अर्ब डलर पुगेको अनुमान गरेको थियो ।
उक्त रकममा युद्धमा प्रयोग भइसकेका हतियार र क्षतिग्रस्त उपकरणको प्रतिस्थापन, इन्धन खर्च तथा अन्य सैन्य सञ्चालन खर्च समावेश छन् ।
प्रतिवेदनअनुसार युद्ध थप एक महिना लम्बिएमा करिब २ अर्ब डलर अतिरिक्त खर्च हुन सक्छ ।
जुलाईमा देखिएको जस्तै उच्च तीव्रतामा युद्ध जारी रहेमा भने मासिक खर्च ३ अर्ब डलरसम्म पुग्न सक्ने सीबीओको अनुमान छ ।
पेन्टागनले थप विवरण दिएन
अल जजिराले विमानमा भएको क्षति अपेक्षित थियो कि थिएन र त्यसले रक्षा बजेटमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा अमेरिकी रक्षा मन्त्रालयसँग प्रतिक्रिया मागेको थियो ।
तर मन्त्रालयले यसबारे थप जानकारी दिन नसक्ने जवाफ दिएको समाचारमा उल्लेख छ ।
अमेरिकी मतदातामाझ युद्ध अलोकप्रिय रहेको विभिन्न सर्वेक्षणहरूले देखाएको समाचारमा उल्लेख छ ।
युद्धको बढ्दो खर्चले आगामी मध्यावधि निर्वाचनमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीको प्रदर्शनमा प्रभाव पार्न सक्छ कि सक्दैन भन्ने विषयमा पनि विश्लेषण भइरहेको छ ।
तर उलम्यानले विमानमा भएको क्षतिसम्बन्धी प्रतिवेदनले मात्रै निर्वाचनको परिणाम निर्धारण गर्ने सम्भावना कम रहेको बताए ।
युद्धको विरोध गर्ने कतिपय अमेरिकीले समेत सैन्य अभियानका क्रममा हुने क्षतिलाई अपेक्षित घटनाका रूपमा हेर्न सक्ने उनको भनाइ छ । –अलजजिरा


विश्व खबर 



















