काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानको समय दुई घण्टा थप गरिएको छ ।
यसअघि दिउँसो ३ बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म पुर्याइएको हो ।
मतदान केन्द्रमा महाधिवेशन प्रतिनिधिहरूको लामो लाइन लागेपछि निर्धारित समयमा मतदान सम्पन्न हुन नसक्ने देखिएसँगै समय थप गरिएको हो ।
एक जना प्रतिनिधिलाई मतदान गर्न कम्तीमा आधा घण्टा लाग्ने भएकाले प्रक्रिया लम्बिएको जनाइएको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले सूचना जारी गर्दै मतदानको समय थप गरिएको जानकारी दिएका हुन् ।
शुक्रबार बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन् ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि कुल ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।
महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत पदमा नेतृत्व चयन गर्नुपर्नेछ ।
विभिन्न २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले मतदातालाई मतदान प्रक्रिया पूरा गर्न बढी समय लागेको हो ।
मतदान सम्पन्न भएपछि मतगणना प्रक्रिया अघि बढ्नेछ ।


विश्व खबर 



















