काठमाडौं- बिहीबार एमाले स्थायी समितिको बैठकमा एउटा गजबको दृश्य देखियो । जो धेरैले मेसो पाएनन् । त्यो थियो- एमाले स्थायी समितिको बैठकबाट पूर्वराष्ट्रपति विद्या भण्डारी र अध्यक्ष केपी ओली बाहिरिएको सानो घटना ।
स्थायी समितिको बैठकपछि उनीहरु दुबै एकसाथ देखिए । ११ वर्षपछि भण्डारीले पार्टीको औपचारिक बैठकमा पहिलो पटक भाग लिएकी थिइन् । त्यसैले धेरैको उत्सुकता थियो, ओली- भण्डारीको सम्बन्ध चिसो छ कि तितो ? तर बिहीबारको यो दृश्य ले भने उनीहरुको सम्बन्धमा एकदम हार्दिकता देखाएको थियो ।
बैठकपछि सञ्चारकर्मी र धेरै कार्यकर्ता बाहिरिइसकेका थिए । भण्डारी र ओलीलाई भेट्न केन्द्रीय सदस्य डा. अब्बुल हुसेन बुकेसहित पार्टी कार्यालय परिसरमा कुरिरहेका थिए ।

तर त्यहाँ पनि अर्को संयोग देखियो । हुसेनसँग एउटा मात्र बुके थियो। दुबै नेताहरुसँगै निस्किए । भण्डारी र ओलीसँगै निस्किएको देखेपछि देब्रेतिर रहेका स्थायी समिति सदस्य ईश्वर पोखरेल पनि ओलीको छेउमा गएर उभिए । पूर्वराष्ट्रपति भण्डारीलाई स्वागत गर्न पुगेका हुसेन ओली र भण्डारी एकसाथ देखेपछि केही अतालिए । किनकि उनी भण्डारीलाई मात्र भेटेर स्वागत गर्न त्यहाँ पुगेका थिए ।
भर्खरै केन्द्रीय सदस्य भएका हुसेनलाई अब भने आपत् आइलाग्यो । उनले यसो खल्ती छामे र केही खादा निकाले । उनी पोखरेलको छेउबाट क्रमशः नेताहरु उभिएको लाइनमा नमस्कार गर्दै अगाडि बढे । हातमा बुके पनि सँगै लिएका उनले पोखरेल र ओलीलाई खादा मात्र लगाइदिए । दुबै नेताहरुको हाउभाउ हेर्दा लाग्थ्यो हुसेनले त्यो बुके आफ्नै लागि ल्याएको हो । तर उनले पोखरेल र ओलीलाई खादा लगाउँदै अन्तिममा वरिष्ठ नेता भण्डारीलाई बुके दिए । यो दृश्य देख्ने धेरैले अनुमान गरे– अब एमालेमा भण्डारी कार्यकारी भूमिकामा छन् । यो प्रकरणले त्यही मनोविज्ञान देखाएको छ ।


विश्व खबर 



















