images
images
  • ओमानको जित पछि नेपालले प्ले अफ खेल्ने पक्का अबका हरेक खेल महत्त्वपूर्ण

    काठमाडौं – आइसिसी क्रिकेट वर्ल्ड कप लिग २ मा नेपालको शीर्ष ४ मा रहने सम्भावनाको अन्त्य भएको छ । शुक्रवार भएको खेलमा शीर्ष ४ मा रहने प्रतिस्पर्धा रहेका ओमान र नामिबियाले जित हात पारे ।
    क्यानडा माथिको ४१ रनको जित पछि ओमान २९ खेलमा ३३ अङ्क सहित चौथो स्थानमा छ भने युनाइटेड अरब इमिरेट्ससँगको ८ विकेटको जित पछि नामिबिया ३५ खेलमा ३१ अङ्क सहित पाँचौँ स्थानमा छ ।
    टस जितेर पहिले फिल्डिङ राजेको नामिबियाले इमिरेट्सलाई १३४ रनमा रोकेको थियो । ३७ ओभर ३ बल ब्याटिङ गरेको युएईका लागि तनिस सुरीले सर्वाधिक २९ तथा राहुल चोप्राले २८ रन प्रहार गरे । यसै गरी, मोहम्मद सहदाद र आयन अफजल खानले २२ रनको योगदान गरे ।

    म्यान अफ द म्याच समेत घोषित जेजे स्मिटले १० ओभरमा २९ रन खर्चेर ४ विकेट लिए । १३५ रनको लक्ष्य नामिबियाले २६ ओभरमा २ विकेटको क्षतिमा पुरा गरेको हो । नामिबियाका माइकल भान लिन्गेलले सर्वाधिक ७१ रन जोडे ।

    शुक्रवार नै भएको खेलमा ओमानले दिएको २६४ रनको लक्ष्य पछ्याएको क्यानडा ४८ ओभरमा सबै विकेट गुमाएर २२२ रनमा सीमित भएको हो । क्यानडाका आदित्य भरदर्जनले सर्वाधिक ६४ रन जोडे । यसै गरी हर्ष थाकेरले ४० रनको योगदान गरे ।

    ओमानका हसनाइ साहले १० ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए । साकेहल अहमदले १० ओभरमा २५ रन खर्चेर ३ तथा समय श्रीभात्सवले ९ ओभरमा ६३ र खर्चेर ३ विकेट लिए ।
    यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५ बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै २६३ रनको आँकडा तयार गरेको हो । ओमानका हनन युस्नाय बहाबले सर्वाधिक ९३ रन जोडे । ७७ बलको उनको पारीमा ५ चौका र ५ छक्का समावेश थियो । उनी खेलमा म्यान अफ म्याच समेत घोषित भए । मजबुर अलिले ३९ तथा जतिन्दर सिंहले ३४ रन जोडे ।
    क्यानडाका हर्ष थाकेरले ७ ओभरमा ३७ रन खर्चेर ४ विकेट लिए । सिल पटेलले १० ओभरमा ३६ रन खर्चेर २ विकेट लिए ।

    यो नतिजा पछि ओमानको शीर्ष ४ मा रहने सम्भावना एकदमै बलियो भएको छ । नामिबियाले अन्तिम खेलमा जित हात पार्नुका साथै ओमानले सबै खेलमा पराजयको सामना गरे मात्र ओमानसँग बराबरी गर्ने छ । ओमानको सात खेल बाँकी छ ।

    पराजय पछि आठ टोलीको शृङ्खलाको पुछारमा इमिरेट्स रहने सम्भावना प्रबल भएको छ । पराजय पछि युएईको ३१ खेलमा १९ अङ्क छ ।
    पछिल्ला खेलहरुमा कमजोर प्रदर्शन गर्दै आएका नेपाल र क्यानडाको बिचमा आइबार खेल हुने छ । यी दुवै टोलीको शीर्षमा रहने सम्भावनाको अन्त्य भए पनि शीर्ष ६ मा रहेर एक दिवसीय मान्यता जोगाउने प्रयासमा भने प्रतिस्पर्धा कायम नै छ ।

    विश्वकप २०२७ को यात्रा

    सन् २०२७ को विश्वकपमा १४ टोलीको सहभागिता रहने छ । आयोजक देश मध्य पूर्ण आइसिसी देश दक्षिण अफ्रिका र जिम्बाबे स्वतः छनोट भए । यसै गरी बाँकी रहेका आइसिसी देश मध्य सेप्टेम्बर महिनाको अन्त्यसम्ममा शीर्ष ८ मा रहेका टोली छनोट भए भने पुछारमा रहेका वेस्ट इन्डिज र आयरल्यान्डले क्वालिफायर खेल्ने निश्चित भएको छ ।
    शीर्ष ८ मा रहेर छनोट हुनेमा अस्ट्रेलिया, भारत, पाकिस्तान, श्रीलङ्का, न्युजिल्यान्ड, इङ्गल्यान्ड,बङ्गलादेश र अफगानिस्तान छन् ।

    १० टोलीको टुङ्गो लागेको छ भने ४ टोलीको टुङ्गो २६ फेब्रुअरी देखि २१ मार्चसम्म हुने ग्लोबल क्वालिफायरले गर्ने छ । त्यस ग्लोबल क्वालिफायरमा १० टोली मध्य ४ टोली विश्वकपमा छनोट हुने छन् । ग्लोबल क्वालिफायरमा खेल्ने ५ टोलीको टुङ्गो लागेको छ । वेस्ट इन्डिज, आयरल्यान्ड, स्कटल्यान्ड, अमेरिका र नेदरल्यान्ड्स पक्का भएको छ भने ओमान र नामिबिया मध्य एकको टुङ्गो केही दिनमै लाग्ने छ ।

    चालु डिभिजन टुमा पुछारमा रहने नेपाल, क्यानडा , युएइ र नामिबिया या ओमान(सम्भवतः नामिबिया) ले क्वालिफायर प्ले अफ खेल्ने छन् । सो प्ले अफमा शीर्ष ४मा रहेमा फेरी एक पटक ग्लोबल क्वालिफायरको मौका पाउने छन् । क्वालिफायर प्ले अफमा च्यालेन्ज लिगका शीर्ष ४ टोलीले प्रतिस्पर्धा गर्ने छन् । यो प्ले अफ १ देखि २२ डिसेम्बरको बिचमा हुने छ । च्यालेन्ज लिगबाट शीर्ष ४मा रहेर प्ले अफमा लागि जर्सी, कुवेत,इटाली र युगान्डा छनोट भएका छन् ।

    एक दिवसीय मान्यता

    २० वटा टोलीलाई एक दिवसीय मान्यता रहने छ । एक दिवसीय मान्यता पाउने देशमा १२ वटा आइसिसी देश छन् । यसै गरी ८ एसोसिएट देशको एक दिवसीय मान्यता रहने छ । अहिले डिभिजन टुमा खेलिरहेका ८ टोलीको एक दिवसीय मान्यता छ । यो चरणका खेल सकिए पछि यसमा परिवर्तन हुने छ । शीर्ष ६ मा रहने टोलीको एक दिवसीय मान्यता यथावतै रहने छ भने पुछारमा रहेका दुई टोलीको भने अनिश्चित रहने छ ।

    डिसेम्बरमा नै हुने प्ले अफले दुई टोलीको टुङ्गो लाग्ने छ । यसको मतलब नेपालका लागि अब बाँकी रहेका हरेक खेल महत्त्वपूर्ण रहेका छन् । पहिलो एक दिवसीय मान्यता जोगाउने या नजोगाउने भन्ने विषय र सन् २०२७ को विश्वकपमा सहभागिताको विषयमा पनि ।
    श्रोत : क्रिकइन्फो र क्रिकबज

    प्रतिक्रिया दिनुहोस्
    images
    images