images
images
  • आईसीसी लिग-२: नामिबियामाथि अमेरिकाको जित

    काठमाडाैं- वर्ल्ड कप लिग-२ को बिहीबार बिहान सकिएको खेलमा अमेरिकाले नामिबियालाई ४ विकटले हरायो । नामिबियाले दिएको २९९ रनको लक्ष्य अमेरिकाले ७ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा पुरा गरेको हो ।

    अमेरिकाको डालासमा भएको खेलमा घरेलु टोलीका मोनान्क पटेलले १०८ रनको पारी खेले । १०० बलको सामना गरेका उनले १४ चौका प्रहार गरे । सेहन जयसुर्याले ७४ तथा समित पटेलले ५० रनको योगदान गरे ।

    समित र मोनान्कले पहिलो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । मोनान्कले जयसुर्यासँग मिलेर दोस्रो विकेटका लागि १२१ रनको साझेदारी गरे ।

    यसअघि टस जितेर ब्याटिङ गरेको नामिबियाले ९ विकेटको क्षतिमा २९८ रनको योगफल खडा गरेको हो । नामिबियाका माइकल भान लिन्गेलले १२४ रन जोडे । १२१ बलको उनको पारीमा ११ चौका समावेश थियो । कप्तान गेराहर्ड इरामसको विस्फोटक पारी नामिबियाको पारीको आकर्षण बनेको थियो । उनले ४५ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७६ रन जोडे ।

    अमेरिकाका इसान अदिलले ८ ओभरमा ४१ रन खर्चेर ४ विकेट लिए । यस जितसहित अमेरिकाको पहिलो स्थान पक्का भएको छ ।

    डिभिजन २ मा शीर्ष ४ मा रहने टोलीले अन्तिम क्रिकेट वर्ल्ड कप क्वालिफायरमा मौका पाउनेछन् । पुछारमा रहेका ४ टोलीको पनि अवसर भने बाँकी नै रहनेछ ।

    विश्वकपको क्वालिफायरमा पूर्ण आईसीसी देशमध्ये बरीयताको पुछारमा रहेका आयरल्यान्ड र वेस्ट इन्डिजसहित डिभिजन २ का शीर्ष ४ खेल्नेछन् । डिभिजन २ मा पुछारमा रहने ४ टोली र च्यालेन्ज लिगका शीर्ष ४ का बिच प्लेअफ खेल हुनेछ । यीमध्येका ४ टोली पनि अन्तिम क्वालिफायरमा मौका पाउने छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images