काठमाडौं– इङ्लिस फुटबलका महान खेलाडी हेरी केन अर्को महत्त्वपूर्ण उपलब्धिको नजिक पुगेका छन्।
बुधबार इङल्यान्डले वेम्बली रङ्गशालामा चेक गणतन्त्रसँग यूईएफए नेसन्स लिगको खेल खेल्दैछ । उक्त खेलमा सहभागी हुनेबित्तिकै केन १२५औं क्यापको पिटर सिल्टनको कीर्तिमानसँग बराबरी गर्न सफल हुनेछन्।
यसो त राष्ट्रिय टोलीका लागि १२४ खेलमा ७९ गोल गरेर उनले कीर्तिमान राखिसकेका छन्। पहिलो खेलमा नै मैदानमा उत्रेको ८९औं सेकेन्डमा गोल गर्दै उनले सनसनी फैलाएका थिए।
सन् २०१५ को मार्चमा वेम्बलीमा लिथुआनियासँगको ४-० को सफलता पाएको सोही खेलपछि उनी मूलधारको इङ्लिस फुटबलको आधार स्तम्भ भएका थिए। ३३ वर्षका उनी अझै राष्ट्रिय टोलीमा निर्विकल्प देखिएका छन्।
उनीपछि इङल्यान्डका लागि दोस्रो धेरै गोल गर्ने खेलाडी वाइन रोनीले १२० खेलमा ५३ गोल गरेका छन्। यी यावत सफलताका बावजुद सन् १९६६६ पछि इङल्यान्डलाई विश्वकप दिलाउने केनको सपना भने अधुरो नै छ।
केनको अलावा इङ्लिस फुटबलको सर्वोत्कृष्टको बहस अझै चलेको छ। यो बहसमा बबी मुर, बबी चार्लटन, वाइन रोनी र गेरी लिनेकरलगायतको नाम समावेश हुनसक्छ । सन् १९६६ मा वेम्बली रङ्गशालामा भएको विश्वकप फाइनलमा पश्चिम जर्मनीलाई ४-२ ले हराउँदै उपाधि जित्दा मुर त्यसका नायक थिए। यसका साथै वेस्टहामका लागि खेल्दै उनले अनगिन्ती सफलता पाएका थिए।
सोही विश्वकप विजयी टोलीका नायक तथा म्यानचेस्टर युनाइटेडका पायनियकर चार्लटनलाई इङ्लिस फुटबलको सर्वकालीन रोल मोडल मान्नेको पनि कमी छैन। त्यसै विश्वकपको फाइनलमा ह्याट्रिक गरेका जियोफ हर्स्टको चर्चा त हुने नै भयो।
यो बहस लामो समय रहने नै छ। तथापि बुधबारको सो खेल धेरैका लागि प्रतीक्षाको विषय हुनेछ। खासमा केनका समर्थकको लागि अझ विशेष चासोको रूपमा सो खेल रहनेछ। बालोन डी ओर अवार्डका लागि मनोनयनमा परेका उनका लागि उक्त खेलको महत्त्व अझ धेरै हुनेमा दुईमत हुन सक्दैन।
– लन्डन/एजेन्सी


विश्व खबर 



















