images
images
  • मेस्सीको सन्न्यास र ‘१० नम्बर’को जर्सीको रिटायरमेन्टको माग

    काठमाडौं – गत सोमबार जब लियोनेल मेस्सीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट सन्न्यास लिने घोषणा गरे, त्यसपछिको प्रतिक्रिया राष्ट्रिय शोक जस्तै देखियो।

    विद्यालयहरूमा बालबालिका रोए, टेलिभिजनमा पत्रकारहरूका आँखाबाट आँसु झरे, पत्रिकाहरू भावपूर्ण श्रद्धाञ्जलीले भरिए र आफ्ना आदर्श खेलाडीप्रति कृतज्ञता व्यक्त गर्न प्रशंसकहरूका लागि विशेष टेलिफोन लाइनसमेत खोलियो। अर्जेन्टिनामा सञ्चालित सप्ताहन्तका सबै खेलहरूमा ती महान् खेलाडीप्रति सम्मान प्रकट गर्न दशौँ मिनेटमा केही बेर खेल रोकियो।

    ‘मैले आफूभित्रको सबै ऊर्जा खर्च गरिसकेको छु। अब मसँग दिने केही बाँकी छैन’, मेस्सीले आफ्नो बिदाइ सन्देशमा लेखेका थिए।

    यो एउटा असाधारण सम्बन्धको असाधारण अन्त्य थियो। दुई दशकभन्दा बढी समयसम्म मेस्सीले एउटा यस्तो देशको अपेक्षाको भारी बोके, जसले उनीबाट वास्तवमा के चाहन्थ्यो भन्ने कुरा कहिल्यै निश्चित गर्न सकेन। उनको निरन्तर डिएगो म्याराडोनासँग तुलना गरियो, उनीमाथि उस्तै प्रकारको जोस नदेखाएको भन्दै आलोचना गरियो र बाल्यकालमै बार्सिलोना गएका कारण उनलाई ‘कम अर्जेन्टिनी’ भएको आरोप पनि वर्षौंसम्म लगाइयो।

    तर जब उनी बिदा भए, मेस्सी र अर्जेन्टिनाबीचको सम्बन्ध पूर्ण रूपमा बदलिसकेको थियो। कुनै समय ‘बाहिरी व्यक्ति’का रूपमा हेरिएका उनी अब आफैंमा राष्ट्रिय प्रतीक बनिसकेका थिए।

    ‘र हामी परिपूर्ण भएका छौं’, सन् १९८६ मा अर्जेन्टिनाका लागि विश्वकप जितेका जर्ज भल्डानोले मेस्सीको बिदाइमा प्रतिक्रिया दिँदै भनेका छन्। मेस्सीले आफूलाई पूर्ण रूपमा समर्पित गरिसकेका थिए, आफूलाई रित्याएका थिए, तर अर्जेन्टिना भने उनले दिएका सबै कुराले भरिपूर्ण थियो।

    मेस्सीले आफ्नो राष्ट्रिय टोलीका लागि २१ वर्षको अवधिमा २०७ आधिकारिक खेल खेले, जुन एउटा पूरै जीवनकाल बराबर हो। उनले १२५ गोल गरे र ६८ गोलका लागि अवसर सिर्जना गरे। मैदानमा उनी हुँदा अर्जेन्टिनाले लगभग एक गोलको सुनिश्चितताका साथ हरेक खेलको सुरुवात गर्थ्यो। उनले ६ वटा विश्वकप खेले, सन् २०२२ मा कतारमा उपाधि जिते र अन्य दुई पटक फाइनलसम्म पुगे। अन्तिम विश्वकप दुई महिनाभन्दा कम समय अघि संयुक्त राज्य अमेरिकामा भएको थियो, जहाँ ३९ वर्षको उमेरमा उनले आफ्नो सबैभन्दा उत्कृष्ट प्रदर्शन गर्दै ८ गोल गरे र चार गोलका लागि अवसर सिर्जना गरे।

    उनको उत्कृष्ट प्रदर्शनको अन्तिम झलक एटलान्टामा इङ्गल्यान्डविरुद्धको सेमिफाइनलमा देखिएको थियो। खेलको अन्तिम क्षणसम्म पछि परेको अर्जेन्टिनाले शानदार पुनरागमन गर्दै २-१ को जित हासिल गर्‍यो। यो राष्ट्रिय टोलीको इतिहासकै सबैभन्दा चर्चित जितहरूमध्ये एक थियो।

    अर्जेन्टिनाका लागि इङ्गल्यान्डलाई हराउनु भनेको सधैं फुटबलको खेल मात्र थिएन। यो प्रतिद्वन्द्विता माल्भिनास टापु (फल्कल्यान्ड) को विवाद र सन् १९८२ को युद्धसँग अविभाज्य रूपमा जोडिएको छ। सेमिफाइनलपछि खेलाडीहरूले अर्जेन्टिनाको दाबीलाई समर्थन गर्दै उपनिवेशवादविरोधी एक विद्रोही ब्यानर फहराएका थिए। इङ्गल्यान्डलाई हराउनु भनेको पुरानो साम्राज्यलाई हराउनु सरह थियो अनि अर्जेन्टिनी फुटबलका लागि। यसले अनिवार्य रूपमा अर्का ‘नम्बर १०’ खेलाडी म्याराडोनाको याद दिलाउँछ, जसको सन् १९८६ को विश्वकप यात्रामा इङ्गल्यान्डविरुद्धको अर्को ऐतिहासिक जित समावेश थियो।

    इङ्गल्यान्डविरुद्धको मेस्सीको त्यो जित नै उनको उत्कृष्ट प्रदर्शनको अन्तिम कडी साबित भयो। त्यसको चार दिनपछि उनीसँग खासै ऊर्जा बाँकी थिएन। अत्यधिक थकानका कारण उनी खेलमा खासै सक्रिय हुन सकेनन्। स्पेनले फाइनलमा खेलमाथि पकड जमाए पनि जितका लागि अतिरिक्त समयको सहारा लिनुपरेको थियो।

    ‘मेरा खुट्टाले साथ छाडे’, उनले पछि आफ्ना बुबालाई लेखेको सार्वजनिक पत्रमा उल्लेख गरे। खेलको २० दिनपछि उनका बुबाको निधन भएको थियो।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले मेस्सी र अर्जेन्टिनामाथि ‘हार पचाउन नजान्ने’ आरोप लगाए। स्पेनले केही मिटर पर विश्वकपको ट्रफी उचालिरहँदा अर्जेन्टिनी खेलाडीहरू भने समारोहतिर पिठ्युँ फर्काएर मैदानमै उभिरहेका थिए। खेल सकिएलगत्तै उनीहरूमध्ये केही खेलाडीहरूबीच छोटो तर अप्रिय विवादसमेत भएको थियो।

    त्यो दृश्य सुखद थिएन। तर मेस्सीको दृष्टिकोणबाट हेर्दा त्यसको अर्थ अर्कै लाग्छ। उनी आँखामा आँसु लिएर आफूलाई माया गर्ने समर्थकहरूतर्फ हेर्दै स्थिर उभिरहेका थिए। अरूले हारको ‘अशिष्टता’ भनेर बुझेको त्यो क्षण वास्तवमा एउटा बिदाइ पनि थियो। मेस्सीलाई थाहा थियो कि यो बिदाइको क्षण हो। र, पहिलो पटक मृत्युको मुखमा पुगेका उनका बुबा उनीसँग त्यहाँ उपस्थित हुन सकेका थिएनन्।

    अर्जेन्टिनामा मेस्सीको निकै आलोचना हुने गर्थ्यो किनभने अन्यत्र ठूलो सफलता हात पारे पनि राष्ट्रिय टोलीका लागि भने उनले एक दशकभन्दा लामो समयसम्म कुनै पनि प्रमुख उपाधि जिताउन सकेका थिएनन्। सन् २०१६ मा त उनी टोलीबाट बाहिरिएका पनि थिए । तर पछि फेरि फर्किए। आज उनी निरन्तरताको प्रतीक बनेर बिदा हुँदैछन्, एउटा यस्तो गुण, जुन सबै कुरा क्षणभंगुर हुने यस समयमा विरलै देखिन्छ।

    उनको बिदाइले अर्जेन्टिनालाई उनको सम्मानमा ‘नम्बर १०’ को जर्सी सधैंका लागि प्रयोगबाट हटाउन (रिटायर गर्न) आग्रह गर्ने आवाजहरू पनि उठाएको छ।

    तर भावुक बिदाइ भिडियो सार्वजनिक गरेको अर्जेन्टिनी फुटबल सङ्घले भने त्यसो गर्नेछैन। आधिकारिक प्रतियोगिताहरूमा फिफाको खेलाडीको जर्सी नम्बरसम्बन्धी नियमले गर्दा यसो गर्न असम्भव छ। अर्जेन्टिनाले यस्तो अवस्था पहिले पनि व्यहोरिसकेको छ।

    सन् २०२० मा कोभिड १९ महामारीको समयमा सामाजिक दूरी कायम गर्नुपर्ने बाध्यताका बीच डिएगो म्याराडोनाको निधन हुँदा सर्वत्र गहिरो शोक छाएको थियो। त्यसबेला कवयित्री लिलियाना क्याम्पज्जोले लेखेकी थिइन्, ‘म म्याराडोनाको शवपेटिका चोरेर गरिब बालबालिकाका बस्ती–बस्तीमा घुमाउने थिएँ, जबसम्म घाम, वर्षा, माटो र हावाले त्यसलाई खरानीमा परिणत गरेर देशको सम्पूर्ण भूभागमा उडाउँदैनथे।’

    त्यतिबेला पनि ‘नम्बर १०’ जर्सीलाई सधैंका लागि विश्राम दिने (रिटायर गर्ने)माग उठेको थियो। तर त्यसो गर्दा मेस्सीबाट त्यो जर्सी खोसिने थियो। उनले सन् २००९ देखि अर्जेन्टिनाका लागि सोही नम्बरको जर्सी लगाएका थिए र त्यसैमा आफ्नो छुट्टै इतिहास कोर्दै थिए।

    यो कुरा महत्त्वपूर्ण छ, किनभने अर्जेन्टिनी फुटबलमा ‘नम्बर १०’ कहिल्यै पनि टोलीको एउटा सामान्य नम्बर मात्र रहेन। परम्परागत रूपमा उत्कृष्ट सिर्जनात्मक खेलाडीले लगाउने यो नम्बर टोलीका वास्तविक ‘जिनियस’ (असाधारण प्रतिभा)का लागि आरक्षित विशेष पहिचान बन्यो। सन् १९८६ को मेक्सिको विश्वकपपछि म्याराडोनाले यसलाई अमर महत्त्व प्रदान गरे। त्यसपछि मेस्सीले यसलाई आफ्नै पहिचान बनाए।

    पेलेले विश्व मञ्चमा ‘नम्बर १०’ लाई फुटबलको असाधारण प्रतिभाको पर्याय बनाइसकेका थिए र त्यसपछि धेरै पुस्ताका महान् खेलाडीहरूले यसलाई निरन्तरता दिए। तर अर्जेन्टिनामा जत्तिको महत्त्व यो जर्सीको अन्यत्र कतै रहेन, जहाँ यो म्याराडोनाबाट मेस्सीमा हस्तान्तरण भयो।

    अर्जेन्टिनाले सहभागिता जनाएका पछिल्ला १२ वटा विश्वकपमध्ये १० वटामा म्याराडोना र मेस्सीले खेले। उनीहरू दुवैले एक–एक पटक उपाधि जिते, म्याराडोनाले १९८६ मा र मेस्सीले २०२२ मा। उनीहरूले थप तीन पटक विश्वकपको फाइनल खेले, डिएगोले सन् १९९० मा (इटालीमा) तथा लियोले सन् २०१४ (ब्राजिलमा) र २०२६ (अमेरिकामा)। उनीहरूले संयुक्त रूपमा विश्वकपमा २९ गोल गरे।

    यी तथ्याङ्कले मैदानमा अर्जेन्टिना उनीहरूप्रति कति ऋणी थियो भन्ने देखाउँछन्। तर मैदान बाहिर उनीहरूको महत्त्व कस्तो थियो भन्ने कुरा यी तथ्याङ्कले बताउँदैनन्। अनि यी दुई व्यक्तिहरू एक-अर्काभन्दा निकै भिन्न थिए।

    डिएगोको स्वभावमा अतिशयता, उदारता र क्षणिक आवेगको मिश्रण थियो। स्पेनिस पत्रकार रामोन बेसाले लेखे झैँ लाखौं अर्जेन्टिनीहरू उनका ‘भावनात्मक दास’ बनेका थिए। यसको विपरीत लियो सधैं निकै संयमित रहे। सायद यसको कारण डिएगोको पतनलाई नजिकबाट देख्नु र ख्यातिको मूल्य बुझ्नु थियो।

    मेस्सीले अर्को म्याराडोना बनेर म्याराडोनाको नम्बर पाएका होइनन्। उनले त्यही विशाल अपेक्षाको भारीलाई बिल्कुलै फरक तरिकाले बोके र अन्ततः त्यो नम्बरलाई आफ्नै बनाए। अब आउने जोकोहीले पनि त्यस्तै गर्नुपर्नेछ।

    अहिले राष्ट्रिय टोलीका लागि शोक र अभिभावकविहीन भएको महसुस हुने दिनहरू हुन्। अर्जेन्टिनाले म्याराडोनालाई गुमायो र अब कम्तीमा मैदानबाट मेस्सीलाई पनि गुमाएको छ। तर अर्जेन्टिना सधैं उत्कृष्ट खेलाडीहरू उत्पादन गर्ने थलो रहँदै आएको छ र फुटबल जगत सधैं अर्को त्यस्तै खेलाडीको आगमन हुने आशामा बाँचेको हुन्छ।

    स्पेनिस भाषामा एउटा भनाइ छ, ‘नो हाय दोस सिन त्रेस’। जसको अर्थ हुन्छ, ‘तेस्रोविना दुई हुँदैन।’ अहिलेसम्म तेस्रो खेलाडी आएको छैन। सायद अर्को म्याराडोना वा अर्को मेस्सी कहिल्यै नआउलान्। तर ‘नम्बर १०’ जर्सीलाई सधैंका लागि हटाउनु भनेको त्यो सम्भावनालाई नै त्याग्नुसरह हुनेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images