काठमाडौं– भदौ १० गते आएको भोटेकोशीको बाढीले बगाएको बेत्रावतीस्थित पुलको विकल्पमा नयाँ मोडुलर एक्रो ब्रिज (बेलिब्रिज) निर्माण सम्पन्न भई सञ्चालनमा ल्याइएको छ। उक्त पुल सञ्चालनमा आएसँगै रसुवा सदरमुकाम धुन्चे राजधानी काठमाडौंसँग जोडिएको छ ।
नेपाली सेनाको युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी अनुपजंग थापाले पुल हस्तान्तरण गरेका हुन् । ६० टन भारवहन क्षमता रहेको पुल हस्तान्तरणसँगै बाढी प्रभावित क्षेत्रका नागरिकको आवतजावत तथा राहत सामग्री ढुवानीमा सहज हुने भएको छ ।
पुल निर्माणसँगै आइतबारबाट उक्त खण्डमा सवारीसाधनको आवागमन औपचारिक रूपमा सुचारु भएको छ । गत भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले पुल बगाउँदा सडक सञ्जाल पूर्णरूपमा विच्छेद भएको थियो । लामो समयसम्म सवारी आवागमन ठप्प हुँदा स्थानीयवासी र यात्रुले सास्ती भोग्दै आएका थिए ।
सडक विभाग र स्थानीय प्रशासन एवं नेपाली सेनाले पुल निर्माणलाई प्राथमिकतामा राखेर युद्धस्तरमा काम अगाडि बढाएका थिए । प्राविधिकहरूको निरन्तर प्रयासपछि हाल उक्त स्थानमा जडान गरिएको बेलिब्रिजबाट यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको छ । आइतबार बिहान पुलको उद्घाटन गर्दै यातायातका साधनहरूलाई आवतजावतका लागि अनुमति दिइएको छ ।


विश्व खबर 



















