काठमाडौं– रामायणमा उल्लेख भएअनुसार श्राप परेर ढुङ्गो भएकी ऋषि पत्नी अहिल्या रामले त्यसमाथि खुट्टो राख्ने बित्तिकै जुरुक्क उठेर स्वर्ग गइन् रे ! त्यो रामको चमत्कारिक शक्ति थियो । यो त्रेता युगको कुरा थियो । अहिले कलियुगका केपी ओलीले त्यही सिकेर होला ‘छुने’ अभियान सुरु गरेका छन् ।
ओलीले यस बेला चामलको बोरा छोएर जनताको भरपुर सेवा गरेका छन् । सायद उनले नछोएको भए त्यो चामल खानयोग्य पो हुँदैनथ्यो कि ?
गएको भदौ २२ देखि उनलाई उल्का र भ्रामरीले गाँजे जस्तो देखिन्छ । गएको भदौ २२ मा उनलाई लोकतान्त्रिक नेताबाट तानाशाहमा पछारियो । किनकि एमालेको यही विधान अधिवेशनले ७० वर्षको उमेरहद र दुई बर्से कार्यकाल हटायो । जसले ओलीलाई स्ट्रेचरमा सुतेरै पनि एमालेभित्र शासन गर्ने बाटो खुला गरिदियो । त्यो विधान अधिवेशनमा उनले विधानको मस्यौदा छुनासाथ कार्यकर्ताले ताली पड्काएर पारित गरे ।
अहिले एमालेमा छुने अभियान सुरु भएको छ । ओली बाढी पीडितलाई राहत बाँड्न नुवाकोट पुगे । त्यहाँ चामलका बोरा छोएर बाँड्ने कीर्तिमानी कायम गरे । अहिलेसम्म यो काम अगाडि बढेकै छ ।
वैज्ञानिक भौतिकवाद, ऐतिहासिक द्वन्द्ववाद, समानता र सर्वहारा संस्कृतिको वकालत गर्ने कम्युनिस्ट पार्टीहरूमा व्यक्ति पूजा र सामन्ती अवशेषहरूलाई सधैँ अस्वीकार्य मानिन्छ ।
नेकपा एमालेभित्र पछिल्ला दिनहरूमा विकसित भइरहेको ‘स्पर्श संस्कृतिले मार्क्सवाद र त्यसले निर्धारण गरेको ऐतिहासिक भौतिकवादमाथि निर्मम प्रहार गरेको छ । अहिलेको युगबाट त्रेता युगमा फर्किएको छ ओलीको राजनीति ।
बाढी पीडितलाई बाँड्ने राहतको चामलदेखि पार्टीका अगुवा कार्यकर्तालाई दिइने प्रमाणपत्रसम्म अध्यक्ष ओलीले ‘छोइदिएर’ औपचारिकता पूरा गर्ने शैली अहिले सार्वजनिक बहस र आलोचनाको केन्द्रमा छ ।
राहत सामग्रीको चाङमा अध्यक्षको हात परेपछि मात्र त्यसलाई वितरणयोग्य मान्ने त्यो दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो । त्यति बेला ओलीसँगै रहेका पार्टी सचिव महेश बस्नेतले माइकबाटै ‘अध्यक्षज्यूले छोइदिने, तपाईँहरूले लिने’ भन्दै उद्घोष गरेका थिए ।
उक्त घटनालाई समर्थकहरूले नेतृत्वप्रतिको अगाध निष्ठाका रूपमा व्याख्या गरे पनि विरोधी तथा नागरिक तहबाट भने त्यसलाई चरम ‘देवत्वकरण’ र सामन्ती शैली भन्दै चर्को विरोध गरेका थिए ।
राहतको चामल ‘छोइदिने’ विवाद सामाजिक सञ्जालमा सेलाउन नपाउँदै काठमाडौँमा आयोजित पार्टीको जागरण अभियान तथा अगुवा कार्यकर्ता भेलामा अध्यक्ष ओलीबाट पुनः सोही प्रकृतिको अभिव्यक्ति दोहोरिएको छ।
सम्बोधनको अन्त्यतिर समय अभावको कारण देखाउँदै उनले कार्यकर्तालाई बाँड्ने प्रमाणपत्रबारे भने, ‘मैले प्रमाणपत्र पनि बाँड्ने भन्ने थियो । तर समय अभाव छ । म प्रमाणपत्र छोएर जान्छु ।’ हलभरि उपस्थित कार्यकर्ताहरूका अगाडि आएको यो अभिव्यक्तिले फेरि एक पटक एमालेभित्र मौलाउँदै गएको नेतृत्व केन्द्रित संस्कृतिको धरातल उजागर गरिदिएको छ ।
हिन्दू परम्पराअनुसार घरमा कुनै पूजा कर्म गर्नुपरेमा सबैले उसलाई छुन्छन् र मुख्य एकजनाले पूजा गर्छन् ।
तर वर्गसङ्घर्ष, श्रमको सम्मान र सामूहिक नेतृत्व प्रणालीलाई आफ्नो आदर्श मान्ने कम्युनिस्ट पार्टीको शीर्ष तहबाटै त्यही प्रकृतिको ‘स्पर्श र आशीर्वाद’ शैली अभ्यास हुनु विडम्बनापूर्ण देखिएको केही कार्यकर्ता बताउँछन् ।
सामाजिक सञ्जाल प्रयोगकर्ता र राजनीतिक विश्लेषकहरूले यसलाई ‘कम्युनिस्ट आन्दोलनमा सामन्ती धार्मिक संस्कारको प्रवेश’ भन्दै आलोचना गरिरहेका छन् ।
कम्युनिस्ट आन्दोलनको इतिहासमा व्यक्ति पूजालाई दक्षिणपन्थी विचलनका रूपमा व्याख्या गरिन्छ । तर पार्टीभित्र नेतृत्वको हरेक कदमलाई प्रश्नहीन स्वीकार्ने कार्यकर्ता पङ्क्ति र नेतृत्व स्वयम्मा देखिने आत्मकेन्द्रित दम्भले एमालेलाई सर्वहारा आचरणबाट टाढा धकेल्दै लगेको छ ।
यो प्रक्रिया चितवनमा भएको नवौँ महाधिवेशनबाट सुरु भएको थियो– ओलीको फोटो पानीको बोतलमा राखेर स्वामी भक्ति देखाउने परम्परा । ओलीको देवत्वकरण यहीबाट सुरु भएको थियो ।
कार्यकर्ताको पसिना र समर्पणको कदर हुनुपर्ने प्रमाणपत्र वितरण जस्तो औपचारिक प्रक्रियालाई समेत ‘छोइदिए पुग्ने’ तहमा झार्नुले पार्टीभित्र लोकतान्त्रिक तथा कम्युनिस्ट मूल्य–मान्यता कति कमजोर बन्दैछ भन्ने गम्भीर सङ्केत गरेको कार्यकर्ताहरूको टिप्पणी छ ।























