images
images
  • श्रीलङ्काको आर्थिक सुधारमा चुनौती बन्दै एल निनो

    काठमाडौं– श्रीलङ्काको आर्थिक सुधारमा एल निनोका कारण उत्पन्न हुनसक्ने प्रतिकूल मौसमले बाधा पु¥याउने जोखिम बढेको छ । देशको केन्द्रीय बैंकले जलवायुजन्य जोखिम र वित्तीय बजारको अस्थिरताले आर्थिक तथा वित्तीय स्थिरतामा चुनौती थप्न सक्ने चेतावनी दिएको छ ।

    श्रीलङ्का सन् २०२२ मा विदेशी मुद्रा सञ्चिति सकिएपछि आवश्यक वस्तुको आयात भुक्तानी गर्न नसकी सार्वभौम ऋण भुक्तानीमा असफल भएको थियो । खाद्यान्न, इन्धन र औषधिको अभावपछि भएको महिनौँ लामो प्रदर्शनले तत्कालीन राष्ट्रपति गोताबाया राजापाक्षलाई पद छाड्न बाध्य बनाएको थियो ।

    सन् २०२३ मार्चमा अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) बाट दुई अर्ब ९० करोड अमेरिकी डलरको सहायता पाएपछि श्रीलङ्काले विदेशी ऋण पुनर्संरचना गर्दै अर्थतन्त्र सुधारको प्रयास अघि बढाएको छ । विश्व बैंकका अनुसार अर्थतन्त्र सङ्कटअघिको अवस्थामा फर्किएको छ । तर गत वर्षको चक्रवात दिटवाहले करिब ६५० जनाको ज्यान लिनुका साथै ठूलो आर्थिक क्षति पु¥याएको थियो ।

    विश्व बैंकले उक्त चक्रवातबाट पूर्वाधारमा करिब चार अर्ब १० करोड अमेरिकी डलरको क्षति भएको अनुमान गरेको छ । सरकारले पुनःस्थापनाका लागि एक अर्ब ६० करोड अमेरिकी डलरको कार्यक्रम अघि बढाएको छ । केन्द्रीय बैंकका अनुसार सम्पत्तिको मूल्यमा आएको कमजोरी र ऋणदाताको जोखिमले वित्तीय क्षेत्रमाथि थप दबाब सिर्जना गरेको छ ।

    बैंकले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा एल निनोका कारण मौसम बिग्रँदा घरपरिवार र व्यवसाय प्रभावित हुने तथा ऋणको गुणस्तर खस्किएर वित्तीय संस्थाहरूमा दबाब बढ्न सक्ने उल्लेख गरेको छ ।

    श्रीलङ्काको मौसम विभागले डिसेम्बरसम्म भारी वर्षा र त्यसपछि सन् २०२७ को सुरुतिर लामो खडेरी पर्न सक्ने पूर्वानुमान गरेको छ । विभागले हालको एल निनो अवस्थालाई देशले अनुभव गरेका गम्भीर अवस्थामध्ये एकका रूपमा वर्णन गरेको छ ।

    एल निनो प्रशान्त महासागरको सतहको तापक्रम असामान्य रूपमा बढ्ने प्राकृतिक जलवायु प्रक्रिया हो । यसले विश्वभर हावा र वर्षाको ढाँचामा परिवर्तन ल्याउन सक्छ । वैज्ञानिकहरूका अनुसार मानवजन्य जलवायु परिवर्तनले चरम मौसमका लागि थप ऊर्जा र आद्रता उपलब्ध गराएर यस्ता घटनाको प्रभाव बढाउन सक्छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images