काठमाडौं– आईसीसी क्रिकेट विश्वकप लिग- २ अन्तर्गत ओमानमा जारी त्रिपक्षीय शृंखलामा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार भएको आफ्नो दोस्रो खेलमा नेपालले ओमानलाई ११३ रनले हराएको हो ।
जवाफी ब्याटिङमा २६४ रनको लक्ष्य पहिल्याएको ओमानले ४० ओभरमा अलआउट भएर १५० रनमात्र बनाउन सक्यो ।
ओमानको लागि कप्तान विनायक शुक्लाले सर्वाधिक ७७ रन बनाए । उनलाई नन्दन यादवले आउट गर्नुअघिसम्म ६ चौका र एक छक्का प्रहार गरेका थिए ।
त्यस्तै जय ओडेड्राले २५ र जतिन्दर सिंह १८ रनको योगदान दिए । ओमानका अन्य ब्याटस्म्यानले दोहोरो अंकको रन बनाउन सकेनन् ।
बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने र नन्दनले समान तीनतीन विकेट लिए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले दुई र करण केसी तथा ललित राजवंशीले एकएक विकेट लिए ।
खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा २६३ रन बनाएको थियो ।
नेपालका लागि पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए । इनिङ्सको अन्त्यतिर करण केसीले लगातार तीन छक्का हानेर ४० रन जोडे ।
त्यस्तै नेपाली ओपनर अर्जुन कुमालले ४०, ईशान पाण्डे र बसिर अहमदले समान ३७-३७ रनको योगदान दिए । दीपेन्द्रले २२ र सन्दीप जोराले १० रन बनाएर आउट भए ।
बलिङतर्फ ओमानका शाह फैजल, शकील अहमद र करण सोनाभालेले समान २-२ विकेट लिँदा हशनैन शाहले एक विकेट झारे ।
जारी शृंखला नेपालले क्यानडा र ओमानसँग २-२ खेल खेल्दैछ । आफ्नो पहिलो खेलमा नेपालले क्यानडालाई हराएको थियो । नेपालले चार खेलमध्ये तीन वटा जितेमा एक दिवसीय मान्यता कायमै राख्नेछ ।




















