काठमाडौं – आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ । मस्कटस्थित अलअमरात क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार बिहान ११ः१५ बजे सुरु हुनेछ ।
जारी शृङ्खलामा नेपाल र ओमान दुवै लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छन् । नेपालले पहिलो खेलमा क्यानडालाई २४ रनले पराजित गरेको थियो । यस्तै, ओमानले पनि क्यानडाविरुद्ध ४१ रनको जित दर्ता गरेको थियो ।
पहिलो खेलमा जित निकालेको नेपाल आज पनि ओमानलाई हराउँदै अङ्क तालिकामा आफ्नो स्थिति सुधार गर्ने लक्ष्यमा छ । एकदिवसीय अन्तर्राष्ट्रिय ९ओडिआई० मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल महत्वपूर्ण हुनेछ ।
हाल अङ्क तालिकामा ओमान चौथो र नेपाल छैटौँ स्थानमा छन् । विश्वकप लिग–२ को शीर्ष छमा रहने टोलीले सोझै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउने व्यवस्था छ । तालिकाको पुछारका दुई टोलीले भने आफ्नो मान्यता जोगाउन आइसिसी विश्वकप क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।






















